कृष्ण ओझा

पाँचथर, १० फागुन । पाँचथरको भारपा–८ मादिबुङका कृष्ण शंकर आँखा टिल्पिलाउँदै हिँडेको २ वर्ष भयो ।

भएका दुई छोरी १५ वर्षिया एलिसा, १२ वर्षिया एलिजा मुर्छा पर्दै बेहोस हुने र १४ वर्षिय छोरा सुनिलको एउटा खुट्टा लुलो भएपछि उपचारका लागि हल गोरु बेची सके ।

उपचार सहयोग सङ्कलन गर्न बाध्य उनी गत मंसिरमा श्रीमति विष्णु शंकरको दुवै मृगौलामा समस्या आएपछि सहयोग सङ्कलनमा छन् ।

गाउँको २ रोपनी पाखा बारी भएका र दैनिकी चलाउन बनिबुतो गर्नु परेका उनलाई श्रीमतिको उपचारमा ६ लाख रुपैयाँ चाहिएको छ ।

उपचारमा संलग्न वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मृगौला रोग विषेशज्ञ डाक्टरहरुले मृगौलाको आधा भन्दा बढि भाग ड्यामेज भएको र प्रत्यारोपण गर्नु पर्ने भनेका छन् ।

मृगौला प्रत्यारोपण गर्नु पर्ने भनेपछि कृष्ण सहयोगको याचना गर्दै हिँडिरहेका छन् । ‘मृगौला ससुराले दिने भए’उनले भने, ‘प्रत्यारोपण गर्न सहयोग चाहिएको छ , आफूसँग भएको जाहेजेथा पनि सकियो ।’ छोराछोरी र ८६ वर्षिया आमालाई बनि गरेर ल्याउने र खुवाउने श्रीमतिको स्याहार र सहयोग संकलनमा हिँड्नु परेपछि बनि गर्न आएर पछि तिरौँला भन्दै गाउँका दोकानेलाई दाल चामल दिन लगाएको कृष्णले बताए ।

एकातिर घरमा खानेकुराको समस्या, अर्कातिर श्रीमतिको मृगौलामा समस्या आएपछि उनी पिरोलिएका छन् ।

मृगौला पीडित विष्णुले पनि आफूलाई अझै बाँच्ने रहर भएकाले उपचारका लागि आवश्यक सहयोग गरिदिन सहयोगी मनहरुलाई आग्रह गरेकी छन् ।
‘छोराछोरी हुर्केका छैनन् । हुर्केको भएनि हुन्थ्यो ।’ सुँकसुकाउँदै उनले थपिन्, ‘मरेँ भने छोराछोरीको विजोग हुन्छ ।’ अस्पतालले एक सातासम्मको औषधी दिएपछि शुक्रबार घर भारपा आएकी उनको तेश्रो पटक वायस्पी गरिएको छ ।

रिपोर्ट बुझ्न आगामी आइतबार आउन भनेको उनी बताउँछिन् । ‘ममी ! निको भएर आउनु भन्दै फोन गर्छन् । छोराछोरी रुन्छन् ।’ उनले भनिन्, ‘सहयोगी हातहरु लम्किए बाँच्छु । नभए….।’ अहिलेसम्म विष्णुको उपचारमा करिव ३ लाख रुपैयाँ खर्च भएको श्रीमान् कृष्णले बताए ।

विदेशमा रहेका काका–बढौका छोराहरुबाट २ लाख ऋण काटेको र फिदिम स्थित सामाजिक सेवामा समर्पित संस्था सहयोगी आँखाका अध्यक्ष कमल थपलियाले ८ हजार तथा सुनचाँदी व्यवसायी सँघका अध्यक्ष निरवहादुर धमला विमल तथा भवानी शंकरले ७ हजार रुपैयाँ सहयोग संकलन गरी दिएको कृष्ण बताउँछन् ।

अव मृगौला प्रत्यारोपण गर्न ६ लाख रुपैयाँ आवश्यक परेकाले सहयोग गर्न उनको विन्ती छ ।

यसअघि छोराछोरीको उपचारका लागि जिल्ला वालकल्याण समितिले ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।

0 comments:

Post a Comment

 
Top