काठमाण्डु, १० फागुन–सरकारले बाग्मती सरसफाइ महाअभियानको २०० औँ हप्ता यही फागुन २१ गते शनिबार विशेष कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।
यही फागुन ४ गते सरकारको मुख्य सचिव डा सोमलाल सुवेदीको उपस्थितिमा भएको बैठकले गरेको निर्णयअनुसार सरसफाइमा सबै सरकारी निकायलाई परिचालन गरिने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
सरसफाइ कार्यक्रममा बाग्मती नदीअन्तर्गत काठमाडौँ उपत्यकालाई १४ स्थानमा विभाजन गरी सरकारी तथा सुरक्षा निकाय, विद्यालय, सामाजिक तथा पेशागत संघसंस्था, नागरिक समाज, राजनीतिक दललगायत सबैलाई सहभागी गरिने सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए ।
कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा सचिव गुरुङले सञ्चार मन्त्रालयले सरसफाइ गर्ने जिम्मा पाएको स्थान ‘बल्खु–टेकुदोभान’ मा मातहतका सबै कर्मचारीलाई यही फागुन २१ गते बिहान ७ बजे अनिवार्य उपस्थितिका लागि निर्देशन दिए ।
सरकारले कार्यक्रमलाई सफल बनाउन मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरेको छ । सञ्चार सचिव गुरुङको संयोजकत्वमा गठित प्रचार प्रसार उपसमितिले व्यानर, सूचना, समाचार, पोष्टर, पर्चा, पत्रकार सम्मेनलनलगायत प्रचार प्रसारका काम गर्ने मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल नेपाल, सूचना विभागलगायत निकायका प्रतिनिधिले विशेष कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो संस्थाबाट गर्ने कामको बारेमा जानकारी दिएका थिए ।

सरकारले सुन्दरीजल–गोकर्ण क्षेत्रमा वन तथा भू–संरक्षण, गोकर्ण–जोरपाटीमा जनसङ्ख्या तथा वातावरण, जोरपाटी–गोठाटारमा खानेपानी तथा सरसफाइ, गोठाटार–गुह्वेश्रीमा सङ्घीय मामिला तथा स्थानीय विकास र गुह्ेश्वरी–तिलगङ्गामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा सरसफाइ गर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, तिलगङ्गा–सिनामंगलमा सहरी विकास, सिनामंगल–मिनभवनमा स्वास्थ्य, मिनभवन–शंखमूलमा युवा तथा खेलकुद, धोवी खोला दोभान–शंखमूलमा शिक्षा मन्त्रालय, थापाथली–धोवीखोलामा उद्योग, टेकु दोभान–थापाथलीमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, बल्खु–टेकु दोभानमा सञ्चार मन्त्रालय, नख्खु दोभान–बल्खुमा भूमिसुधार तथा व्यवस्था र चोभार–नख्खु दोभान क्षेत्रमा कृषि विकास मन्त्रालयको नेतृत्वमा सरसफाइ गर्ने व्यवस्था गरिएको छ । रासस
0 comments:
Post a Comment