एमाले केन्द्रीय कार्यालय धूम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधान संशोधन राष्ट्र हितमा नरहेको दाबी गर्नुभयो ।
“राष्ट्रवादलाई हिमाली, पहाडिया र तराईको भनी विभाजन गर्न खोजिएको छ, यसरी राष्ट्रवादको खिल्ली उडाउन खोजिएको छ, एउटा पक्षको वकालत गर्नुलाई सन्तुलित राष्ट्रवाद भनिएको छ, हामी स्वाभिमानलाई बचाउँछौँ, भौगोलिक अखण्डतालाई सुरक्षित बनाउँछौँ”– नेता ओलीले भन्नुभयो ।
कुनै पनि विषयमा तथ्य मेल खाँदैन भने त्यसलाई अन्धविश्वासका आधारमा पछि लाग्नुपर्छ भन्ने पक्षमा एमाले नरहेको उहाँले बताउनुभयो । नेपाली काँग्रेस र नेपाल विद्यार्थी सङ्घले चुनाव हार्ने डरले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भाँड्न लागेको उहाँको आरोप थियो ।
“विद्यार्थी चुनावदेखि नै डराउनेले स्थानीय निकाय र संसदीय चुनाव कसरी गराउलान् ?”–नेता ओलीले प्रश्न गर्नुभयो । पैसा खाएर राजदूत नियुक्त गरेको विषय सार्वजनिक सञ्चारमाध्यममा आउँदा पनि सत्तारुढ दलका नेताले मुख खोल्न नसकेको अध्यक्ष ओलीले बताउनुभयो ।
एमालेले जित्छन् अरुले सिक्छन्
अध्यक्ष ओलीले मधेसमा पनि यसपटक एमालेले नै चुनाव जित्ने दावी गर्नुभयो । अहिले मधेसमा एमाले कमजोर भएको भ्रम फैलाइएको भन्नुहुँदै ओलीले त्यो सत्य नभएको दावी गर्नुभयो । ‘हिजो एक जना तराईबासीसँग कुरा गरेँ, तराईको अवस्था के छ भनेर सोध्दा तराईमा एमालेले जित्छन् अरुले सिक्छन् भन्नुभयो’ अध्यक्ष ओलीले भन्नुभयो- ‘एमालेका विरुद्धमा बोल्नेहरुले तराईमा एमालेले भ्रम फैलाइरहेका रहेछन् । झुट बोल्नु ढाँट्नु छल्नुलाई ठूलो ठानेका छन् ।’
अहिले तराईमा एमाले समाप्त भयो भन्नेहरुलाई आफूहरुले अभियान मार्फत देखाइदिने ओलीको चुनौति छ । उहाँले भन्नुभयो- ‘तराईमा एमाले समाप्त भयो भन्नेहरुहरुलाई एक झलक देखाउन चाहन्छौं, त्यहाँ लाखौं मानिस परिचालन हुनेछन्। तराईमा अभूतपूर्व अभियान हुनेछ। १५ दिन मानवसागर उर्लिनेछन् ।’
युवा वर्ग १० वर्षे माओवादी जनयुद्धको सिकार बन्योः ज्ञवाली
कार्यक्रममा पार्टी सचिव प्रदीप ज्ञवालीले युवा वर्ग १० वर्षे माओवादी जनयुद्धको सिकार बनेको बताउनुभयो । “बुर्जुवा शिक्षा पढ्नुपर्दैन भनेर गरिब जनताका छोराछोरीलाई भड्काउने पार्टीले आफ्ना सन्तानलाई विदेशमा पढाएर आम युवा वर्गको भविष्य बिगारे, शिविरबाट बाहिरिने युवाको पैसा खोसेर पनि युवालाई शोषण गरे”- उहाँले भन्नुभयो ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् ३ नम्बर प्रदेश प्रमुख अष्टलक्ष्मी शाक्य, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र एमाले काठमाडौँ अध्यक्ष कृष्ण राईले सबै तहको निर्वाचन आगामी माघ ७ गतेअघि नै सम्पन्न गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका नेकपा (माओवादी केन्द्र)का बुद्धिजीवी कपन पोखरेल र मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सन्तोष खड्कालगायत समूहलाई पार्टी सदस्यतासहित अध्यक्ष ओलीले स्वागत गर्नुभयो । रासस
0 comments:
Post a Comment