अहिले हरेक दिन जसो नेकपा एमालेमा प्रवेशको खबर आइरहेको छ । विभिन्न जिल्लामा भइरहेका कार्यक्रममा दिनहुँ जसो एमाले प्रवेश गर्नेको पंक्ति देखिन्छ । यतिसम्मकी जिल्लादेखि केन्द्रीय कार्यालयमा आएर समेत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । आखिर किन एमालेमा प्रवेश गर्नेहरु बढ्दैछन् ? नेकपा एमालेका संगठन विभागका प्रमुख समेत रहेका केन्द्रीय सचिव पृथ्बीसुब्बा गुरुङसँग हामीले जिज्ञासा खोजेका छौँ । यस्तो छ जबाफ उनकै शब्दमाः

एमाले प्रवेशका मुख्य तीन कारण
– संविधान निर्माणमा खेलेको भूमिका

संविधान निर्माणमा नेकपा एमालेले खेलेको भूमिकाको प्रशंसा धेरैले गरेका छन् । संविधानवादको सिद्धान्तमा आधारित भएर लोकतान्त्रिक संविधान बनाउने कुरामा पार्टीको महत्वपूर्ण भूमिका रह्यो ।

नेकपा एमालेको नीति र सिद्धान्त पनि अन्य पार्टी भन्दा फरक छ । राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता केन्द्रमा राखेर जसरी एमाले पार्टी अगाडि बढिरहेको त्यसै कुराले जनता तथा अन्य दलमा रहेका मानिसहरुको आशक्ति नेकपा एमालेमा बढ्दै छ ।

–नाकाबन्दी विरुद्ध जनतालाई एकताबद्ध

नेपालीले संविधान बनाएको बेखुशीमा छिमेकीले नाकाबन्दी गर्यो । हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले त्यसबेला जनतालाई एकताबद्ध बनाएर राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र प्रतिष्ठाको लागि एकजुट बनाउने काम गरेको थियो । त्यसले अन्य दलका मानिसहरुको ध्यान केन्द्रीत गरेको छ ।

–राष्ट्रवादी पार्टीको छवि

नेपाली काँग्रेसलाई राष्ट्रवादी र प्रजातान्त्रिक पार्टी भन्थ्यौँ यो पनि यस्तै रहेछ भन्ने सोच ती दलका नेता तथा कार्यकर्तामा पलायो । राप्रपा पनि त्यस्तै हो, राष्ट्रवादी पार्टी भनेको एमाले पो रहेछ भन्ने लागेर ती पार्टीहरुबाट एमालेमा आउनेको संख्या धेरै छ ।
बामपन्थीहरुलाई कम्युनिष्ट तथा देशभक्तनै हुनुछ भने किन अरु पार्टीमा लाग्ने ?, एमालेमै जाँदा उपयुक्त होला नि भन्ने पनि लाग्यो । यो सोच लिएर एमालेमा धेरै भित्रिएका छन् । यो लहर जारी छ ।

२०५१ सालको जस्तै लहर
नेकपा एमालेमा प्रवेश गर्नेको लहर फेरि एक पटक बढेको छ । एमालेमा प्रवेश गर्ने लहर २०४७ सालमा देखिएको थियो । त्यसपछि २०५१ मा नेकपा एमाले नेतृत्वको लोकप्रिय सरकार हुँदा पनि जनलहरनै थियो । त्यसबेला गरिएको अभियानका क्रममा झण्डै ७८ हजार मानिस एमालेमा प्रवेश गरेका थिए ।

यसपटक कति जना प्रवेश भए ठ्याक्कै संख्या भन्न सकिने स्थिति छैन् । जिल्लाहरुबाट प्राप्त भइसकेको छैन् । २०५१ सालपछि अहिले एमाले प्रवेश गर्ने जनलहर बढेको छ । अझै हामी मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्दैछौं । त्यसबेला पनि पार्टी प्रवेश गर्नेक्रम अझ बढ्ने निश्चित छ ।

माओबादी केन्द्र र काँग्रेसबाट आउनेको संख्या धेरै
अहिले केही साना दल नेकपा एमालेमा समाहित हुने र केही दलका केन्द्रीयस्तरका नेताहरु प्रवेश गर्नेक्रम तीब्र छ । नवनेपाल निर्माण पार्टी र नेपाल जनभावना पार्टी नेकपा एमालेमा समाहित भइसकेको छ ।

कुनैबेला एमाले संघीयताविरोधी भयो भनेर एमाले छोडेर गएका दलका बरिष्ठ नेताहरु पनि अहिले एमालेले प्रवेश गरेका छन् । संघीय समाजबादी फोरम नेपालबाट केन्द्रीय केन्द्रीय उपाध्यक्ष विजय सुब्बा, सचिव मिना गुरुङ, राजनीतिक समितिका सदस्यहरु, जिल्ला र प्रदेश तहका नेताहरु एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरुसंग अन्य नेताहरु हुनेनै भइहाले ।

काँग्रेसबाट केन्द्रीय तहका नेता आएका छैनन् । तर, जिल्ला तहका थुप्रै नेताहरु संख्यात्मक रुपमा धेरै आएका छन् । पहिलेको तुलनामा यो ठूलो उपलब्धि हो । किनभने यसअघि धेरै संख्यामा काँग्रेसबाट एमालेमा आएका थिएनन् ।

राप्रपाबाट सह–महामन्त्री लगायतका नेताहरु नै एमालेमा प्रवेश हुनुभएको छ । जाजरकोट, मनाङ लगायतका जिल्लाका राप्रपा कमिटी पूरै एमालेमा आएको छ । भक्तपुर कमिटी पनि लगभग एमालेमा आउँदैछ ।

बामपन्थीहरुमध्ये माओबादी केन्द्र, माले र बैद्य माओबादीका केन्द्रीय नेताहरु एमालेमा भित्रिनुभएको छ । अन्य साना दलहरुबाट पनि त्यस्तै छ । संख्यात्मक रुपमा माओबादी केन्द्र र नेपाली काँग्रेसबाट एमालेमा प्रवेश गर्ने धेरै छन् ।

सबै ढोका खोलेको भए माओबादी खाली हुन्थ्यो
नेकपा एमालेले जस्तो पायो त्यस्तै व्यक्तिलाई भित्र्याउने उद्देश्यका साथ पूरै ढोका खोलेको भए सायद आज माओबादी केन्द्र खाली हुन्थ्यो होला । पार्टी प्रवेश गराउने भन्दैमा जस्तोसुकैलाई पनि प्रवेश नगराउने नीति एमालेको छ । नछिमल्ने हो, शुद्धिकरण नगर्ने हो भने पार्टी त विकृति र विसंगतिको अखडा बन्छ नि !

त्यो हुन नदिनका लागि पनि अलिकति इमान्दार, आन्दोलन बुझेको, नेपालको राजनीति बुझेको, कम्युनिष्ट आन्दोलन बुझेको र एमालेलाई केही न केही योगदान दिनसक्ने खालको मानिसलाई मात्रै हामीले पार्टीमा प्रवेश दिइरहेका छौं ।

अर्कोकुरा, माओबादी केन्द्रको ठूलो केन्द्रीय समितिमा हाम्रो जिल्ला तहमा हुने नेताहरुस्तरका नेताहरु पनि छन् । माओबादी केन्द्रको केन्द्रीयस्तरमा रहेका नेताहरुलाई पार्टी छोडी एमालेमा आएर जिल्लास्तरमा बस्न अप्ठेरो लाग्ने हुँदा पनि चाहेर पनि आउन सकिरहेका छैनन् । उनीहरु अन्देजमा परेजस्तै भएका छन् । नभए माओबादी छोडेर एमालेमा आउनेको संख्या अझै धेरै हुन सक्थ्यो ।

पार्टी प्रवेशको प्रक्रिया
बामपन्थी पार्टीहरुबाट आएको मान्छेहरुलाई हामीले उतैको पार्टी सदस्यता छ भने सिधै सदस्यता दिन मिल्छ । यदि सदस्यता छैन भने प्रक्रियाबाट नै सदस्यता दिइन्छ । बामपन्थी पार्टीबाट आएकाहरुलाई विशेष परिस्थितिबाहेक एक तह तलको जिम्मेवारी दिने गरेका छौं ।
गैरबामपन्थी पार्टीबाट आएकाहरुलाई चाँहि पार्टी विधानको धारा ९ अन्तर्गत नेपालको लोकतान्त्रिक र सामाजिक आन्दोलनमा विशेष योगदान दिएका व्यक्तिलाई पार्टी केन्द्रीय कमिटीले जिल्ला, प्रदेश वा संगठन विभागको सिफारिसले पार्टी सदस्यता दिन्छ । पछि व्यक्तिको योग्यता र क्षमताअनुसार जिम्मेवारी प्रदान गर्ने गर्छ ।

0 comments:

Post a Comment

 
Top