फाल्गुन ९, २०७३- इङल्यान्डका अलराउन्डर बेन स्टोक्स इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा सोमबार सबैभन्दा महँगा विदेशी खेलाडी भएका छन् । राइजिङ पुने जायन्ट्सले खेलाडी लिलामीबाट उनलाई २० लाख डलरभन्दा बढीमा किनेको हो । स्टोक्सलाई किन्न लिगमा सहभागी टिमबीच प्रतिस्पर्धा नै चलेको थियो ।
इङल्यान्डका सीमित ओभरका कप्तान इयान मोर्गनको तुलनामा २५ वर्षीय स्टोक्सले सात गुणा बढी बोल पाएका थिए । मोर्गनलाई भने किंग्स इलेभेन पन्जावले लिलामीको सुरुमा तीन लाख डलरमा किनेको थियो । खेलाडी लिलामी बेंगलोरमा भएको थियो । आईपीएलमा आठ टिम सहभागी छन् ।
यिनै टिमको प्रतिस्पर्धाबीच पुनेले स्टोक्सका लागि कीर्तिमानी एक करोड ४५ लाख भारतीय रुपैयाँ तिरेको हो । यसअघि प्रतियोगितामा सहभागी विदेशी खेलाडीमध्ये सबैभन्दा महँगा इङल्यान्डका पूर्व कप्तान केभिन पिटरसन थिए । उनलाई सन् २०१४ मा दिल्ली डेरडेभिल्सले ९० लाख रुपैयाँ तिरेको थियो ।
इन्डियन प्रिमियर लिगमा सर्वाधिक महँगा खेलाडीको कीर्तिमान भने युवराज सिंहको नाममा छ । सन् २०१५ मा रोयल च्यालेन्ज बेंगलोरले उनलाई १ करोड ६० लाख रुपैयाँ तिरेको थियो । सन् २००८ बाट सुरु प्रतियोगिता यसपालि अप्रिल ५ देखि मे २१ सम्म चल्नेछ ।
राम्रो रकमको बोली लाग्ने अरु विदेशी खेलाडीमा न्युजिल्यान्डका सिमर ट्ेरन्ट बोल्ट र दक्षिण अफ्रिकाका कागिसो रबाडा पनि रहे । लगभग ५ करोड रुपैयाँको हाराहारीमा कोलकाता नाइट राइडर्सले बोल्ट र दिल्लीले रबाडालाई किनेका थिए । लिलामीका क्रममा दुई अफगानी खेलाडीको पनि भाग्य चम्केको थियो ।
उनीहरूमा रसिद खान र मोहम्मद नाबी रहे । सनराइज हैदराबादले खानलाई ४ करोड र नाबीलाई ३० लाख रुपैयाँ तिरेको थियो । एसोसिएटका अर्का खेलाडी युएईका चिराग सुरीलाई गुजरात लायन्सले लिएको छ । गुजरातले सुरीलाई १० लाख रुपैयाँ तिरेको छ ।
0 comments:
Post a Comment