काठमाण्डु, १२ फागुन– नेपाली काँग्रेस र माओवादी केन्द्रबीच आगामी जेठ पहिलो साता सरकारको नेतृत्व फेर्ने सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई जेठमा प्रधानमन्त्रीबाट राजीनामा दिने सहमति दुई दलबीच भएको हो । प्रचण्डको राजीनामापछि लगत्तै काँग्रेस सभापति शेरबहादुर देउवा माओवादी समर्थनमा प्रधानमन्त्री बन्ने सहमति दुई दलबीच छ । स्रोतका अनुसार काँग्रेसले ३१ वैशाखका लागि घोषित स्थानीय तहको निर्वाचन सफल वा असफल जे भए पनि सरकारको नेतृत्व छोड्नुपर्ने भन्दै दबाब दिएपछि प्रधानमन्त्री सत्ता सुम्पन तयार भएका हुन् ।
दुई दलबीच गत साउनमा प्रचण्ड नेतृत्वको सरकार गठन हुनुअघि स्थानीय निकायको निर्वाचनपछि देउवा प्रधानमन्त्री हुने सहमति भएको थियो । सोही सहमति मुताविक सरकारको नेतृच्त्व आफूलाई दिन काँग्रेसले प्रधानमन्त्रीलाई दबाब दिँदै आएको छ । निर्वाचनका लागि काँग्रेसलाई मनाउन सरकार छाड्ने मौखिक सहमति भए पनि आफूहरु नीति तथा कार्यक्रम र बजेटपछि मात्र सत्ता हस्तान्तरण गर्ने अडानमा रहेको माओवादी केन्द्रका एक कार्यालय सदस्यले जानकारी दिए ।
‘देउवाजीको निर्वाचनको भोलिपल्टै प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने आग्रह हो’, ती नेताले भने, ‘तर, प्रधानमन्त्रीले बजेट ल्याउने समयसम्म कुर्न आग्रह गर्नुभएको छ ।’
मधेसी मोर्चाले सरकारको साथ छाडे देउवालाई प्रधानमन्त्री बनाउन बहुमत नजुट्ने अवस्थामा वा सुुरक्षाका कारण एक चरणमा स्थानीय निकाय निर्वाचन सम्पन्न गर्न नसकिए सरकार बीचैमा छाड्दा समस्या हुने तर्क माओवादीको छ । तर, देउवा कुनै हालतमा नीति कार्यक्रम र बजेट आफ्नो सरकारले ल्याउने दाबी गर्दै आएका छन् ।
नयाँ संविधानअनुसार अबदेखि हरेक जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ । दुवै दल बजेट आफूले ल्याएर प्रदेश र संसदीय निर्वाचनमा आफ्नो प्रभाव बढाउने दाउमा छन् । काठमाण्डु टुडेको सहयोगमा

0 comments:

Post a Comment

 
Top