डेनिस राजकुमार योकिम होल्गर वाल्देमार क्राइस्तेन अनौपचारिक भ्रमणका क्रममा नेपाल पुगेका छन्। केयर डेनमार्क र नेपालस्थित डेनमार्क दुतावासको निमन्त्रणामा १० दिने नेपाल भ्रमणका लागि डेनिस राजकुमार नेपाल पुगेका हुन्।
शुक्रबार नेपाल पुगेका डेनिस राजकुमारको नेपालका विभिन्न ग्रामिण इलाकामा संचालित डेनिस परियोजनाहरू तथा विकास पूर्वाधार निर्माणको स्थिति अवलोकन गर्ने कार्यक्रम रहेको दूतावास स्रोतले जनाएको छ।
भ्रमणका क्रममा राजकुमार योकिम सम्मिलित टोली शनिबार काभ्रे जिल्लाको भीमखोरी पुगेको छ। डेनिडाको सहयोगमा करमडाँडामा निर्मित लघु जलविद्युत परियोजनाको अवलोकन गर्दै उक्त परियोजनाबारे जानकारी लिएका राजकुमारले त्यस आसपासमा संचालित सुधारिएको घट्ट, मिल आदिको पनि अवलोकन गरेका थिए।
करमडाँडामा करिब एक घण्टा बिताएका राजकुमारले सो स्थानमा संचालित परियोजनाले स्थानीयमा ल्याएको परिवर्तन र आत्मनिर्भार्ताले आफूलाई खुशी तुल्याएको बताए, स्रोतले सेतोपाटीलाई बतायो।
काभ्रेबाट राजकुमार योकिम सिन्धुलीको झाँगाझोलीमा केयर नेपालले गरेका कामको अवलोकन गर्न शनिबारै त्यसतर्फ प्रस्थान गरेका थिए।
दश दिने नेपाल बसाइमा राजकुमार योकिम काभ्रे र सिन्धुलीका अलावा गोरखा, तनहुँ, स्याङ्जा, कास्की, धनुषा र सिरहाका ग्रामिण भेगमा पुगी डेनमार्कले सहयोग गरेका परियोजनाहरुको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको नेपालस्थित डेनिस दूतावासले जनाएको छ।
भ्रमणका सिलसिलामा डेनिस राजकुमारले सम्बन्धित क्षेत्रमा भूकम्पको असर र पुनर्निर्माणको गति, प्रकोप पूर्वतयारी, प्राकृतिक श्रोतको व्यबस्थापन, जीवनस्तर, खाद्य सुरक्षा, यौन र प्रजनन स्वास्थ्य लगायत ग्रामिण जनजीवनका प्रत्यक्ष सरोकारका विषयबारे जानकारी लिने छन्।
केयर डेनमार्कका संरक्षक डेनिस राजकुमार योकिमको यो दोस्रो अनौपचारिक नेपाल भ्रमण हो। भ्रमण टोलीमा केयर डेनमार्कका प्रमुख र अन्य प्रतिनिधिहरु पनि संलग्न छन्। सेतोपाटीको सहयोगमा
0 comments:
Post a Comment