सादय फाड्न सकिएला
तमसुक चतुरे साहुको र
फुकुवा भइएला सो बेलासम्म
भुन्टे भुन्टे रहने छैन
र चिम्सी चिम्सी रहने छैनिन्
आँखाका हाम्रा यी दुई नानीहरू
हर्लक्क हुर्किने छन् सल्बलाउँदै
पिडीमा बसेर म
जुत्तामा पालिस गरिदिने छु
र तिमी
उभिएरै संघारमा
रिवन बाँधी दिनेछौ कपालमा
स्कूल जाँदै गरेकी
सुनयना हुन पुगेकी चिम्सीको ।
सुन साहिली
म यतिबेला
त्रिपालको छिद्रबाट
नियाली रहेको छु आकाश र
गन्दैछु तारामण्डल
जुन लागिरहेको छ टहटह र
त्यसको मधुरो आभामा
ठम्याउँदै छु
तिम्रा जोडी नयनहरू
जो निदाउन सकिरहेका छैनन्
रातको यो दास्रो पहर बित्दा समेत ।
बाहिर हावा चलिरहेको छ सर्सरी
यार्डको किल्लामा बाँधिएको उँट
डकारिरहेको छ, अजिर्ण डकार
मसंगै भौतारिरहने मेरो अभिन्न मित्र
आजको सभ्य भाषाको डग
मेरो गोड्यानमै दुबुल्किएको छ
बथान भेडाहरू
गोडा भित्र थुतुनो सिउरिएर
पगारी रहेका छन् दिनको दाना
कोशौ टाढा भागिरहेको नीद्राको खोजिमा
मस्वयम् भागिरहेको छु साहिली
निकै समय देखी ।
काटेसी चालिस साहिली
आँखा धुमिल हुनेछन् हामी दुबैका
सोहोर्दा सोहोर्दै भैसीको आहाल
स्याहार्दा स्याहार्दै
भुन्टे र चिम्सीका थाङ्ना भोटा
चाउरिदै गएका तिम्रा हातगोडा
झन् चर्चरी फुट्ने छन्
मरुभूमिको आगोको रापको लप्को
रहने छ छाँयाजस्तै हमेशा मसंगै
यो हिँङहिँङ्याई रहने उँटको बथान
यो भेडी गोठ
चरिचरनमा अलप भइरहने
यी भेँडाहरू
ऊफ !
साँहिली चालिस कटेसी
म साँच्चै भेँडो त बन्ने होइन हँ ?
तिमी मात्र तिमी रहने छैनौ
ममात्र म रहने छैन साँहिली
दमले थला परेका बुढा बा
कोखिलामा हात राखेर
सधै सधै गानो दाबी रहने आमोई
घरजमको संघार नाघेकी बहिनी
पचास माथिको ताप
र खप्न नसकी साहुको ज्यादती
खलिफाबाट फर्किएको भाइ
भुन्टेचिम्सीको कलेजको फिसमात्र होइन
रिङ्गटोन र च्याटिङ्गको सिरुपाते खर्च
खडा हुने छन् विशाल पहाड बन्दै ।
चालिस कटेसी गिन्तीमा आउने छैन
चतुरे साहु साँहिली !
आउने छ त केवल
मौतका कुवा समान
बेठी, बेगारी र ठेकीको विशाल दह
जहाँ चटकेले घुमाउने गर्दछ फन्फनी गाडी
भुन्टेका सपनाहरूले निकै उचाई मार्ने छन्
रोलमोडल बन्दै हावामा बात मार्ने छ
र सुजकी वा पल्सरमा सवार हुँदै
दुनियालाई मुठ्ठीमा बन्द गर्ने छ
सुनयना हाम्री मुटुको टुक्रा
मिसिसिपी वा हडसनका गहिराईहरूमा
परी समान डुबुल्की मार्ने छिन्
सुन साँहिली
सो बेला
आज हामीले जोरेको एकअंगुल जेथा
हथेलीमा राखेर
मौतका कुवामा चटकेले चटक देखाएजस्तै
चटक देखाउन पुग्ने छौं
सहर बजारका गल्ली चौकहरूमा ।
कुटु धड्किरहेको होला प्रीय
दवाउ बेसरी र काबुमा पार
श्वास फुल्यो होला छाति चर्किने गरी
रोक श्वास फेर्न केही बेर र
शरीरलाई मथ्थर गर
समय हो कोल्टे फेर्ला
सुत साँहिली गहिरो नीद सुत
निकै वर्ष बाँकी पो छ हो हाऊ
आजै चालिस पछिको चिन्ता नगर ।
दिपक विश्वकर्मा
बुटवल।
0 comments:
Post a Comment