रामेछाप, १६ फागुन । सोमबार विहान भूकम्प जाँदा भाग्ने क्रममा रामेछापको गेलु गाविसमा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान बिहान ९ बजेर २२ मिनेट जाँदा आएको भूकम्पमा भाग्ने क्रममा आँगनको पर्खालबाट चिप्लिएर गेलु गाविस ६ काउले पुरानागाउँका ६० वर्षिय ज्ञानकुमार तामाङको मृत्यु भएको स्थानीय श्यामलाल तामाङले जानकारी दिए ।
तामाङ केहि समयदेखि विरामी परेर थलिएका थिए । भूकम्पआएपछि भाग्ने क्रममा बण्डाको थाममा ठोक्किएका उनी त्यस पछि पर्खालबाट चिप्लिन पुगेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
सोमबार बिहान रामेछापको सुनारपानी केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्युडको पराकम्प गएको थियो । त्यसको ४५ मिनेट पछि बिहान १० बजेर ६ मिनेट जाँदा रामेछापलाईनै केन्द्रबिन्दु बनाएर ४.७ रेक्टरको पराकम्पन गएको नेपाल भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि पटक पटक साना पराकम्पन जाने क्रम जारी छ ।
सोमबारको पहिलो भूकम्पमा परि साहिल कटुवाल नामका बालका मन्थलीमा घाइते भए । उनलाई सदरमुकाम मन्थलीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
सोमबारको भूकम्प पनि गोरखा भूकम्पको पराकम्प भएको र अहिलेसम्म ४ सय ७९ पटक पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । चार म्याग्निच्युडभन्दा माथिको पराकम्पमात्र केन्द्रले सार्वजनिक गर्ने गरेको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक लगायतको क्षेत्रमा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
0 comments:
Post a Comment