आफ्नै पिता पुर्खाले मनाउने दशैँमा टिका र जमरा नलगाएको छब्बिस बर्ष पुगेका हाम्रा प्रधानमन्त्रीज्यूको महिमा अचेल गरि साध्ये छैन। धर्म अफ़ीम हो भन्ने यूरोपियन दार्शनिक कार्ल मार्क्सको सिद्दान्तको बैँशाखी टेकेर यहाँ सम्म आएका प्रधानमन्त्रीले यसो गर्नुलाई अनौठो मान्नु पर्ने केही थिएन । तर जानी नजानी त्यही धर्मको सेरोफेरोमा प्रधानमन्त्रीज्यू फनफनी घुमिरहेको देख्दा अचम्म लाग्छ ।

राज्यको कुनै धर्म हुँदैन भनेर देश संबिधानत: धर्म निरपेक्ष भईसकेको भन्दै आफ्नै सनातन हिन्दु धर्म दुत्कार्दै टिका जमरा बहिष्कार गरेर हिन्दु ईतरका प्यारा बनेका प्रधानमन्त्री प्रचण्ड बेला बेलामा अन्य धर्म र संस्कृतिका भेष भूषामा चिटिक्क परेको देख्दा कसैलाई ईर्ष्या नभए पनि आफ्नै पिता पुर्खाका चाडवाड र रीतिरिवाज नमनाउँदा बेला बेलामा उनी आफैलाई आत्मग्लानि हुन्छ भन्ने यो स्तम्भकारको ठम्याई हो

लेखक
म्यादी सरकारको नेतृत्व गरेर संबिधान कार्यान्वयनको सपथ खाएका प्रधानमन्त्री प्रचण्ड परिवर्तनका संबाहक हुन् होईनन् भन्ने कुरा त ईतिहाँसले बताउला तर त्यही परिवर्तन के का लागि थियो भन्ने औचित्य प्रमाणित गर्न नसकिरहेको बेलामा निरन्तर विवादमा आउनु र मूल मूद्दा ओझेलमा पार्दै रिबन काट्ने काममा हेलिकोप्टर सयर गर्दै लाग्नुले मात्र परिवर्तन संस्थागत गर्न सक्दैन भन्ने कुरा प्रधानमन्त्रीले कहिले बुझ्ने हुन् हेर्न बाँकी छ । यद्यपि स्थानीय चुनावको घोषणा गर्नु र जनार्दन शर्मा जस्ता मन्त्री हुनु उनको प्रधानमन्त्रीत्वका सुन्दर पक्ष हुन् ।
पछिल्लो प्रसंगकै चर्चा गरौँ:
देशको सर्वोच्च कार्यकारी पदमा पुगेका प्रधानमन्त्री प्रचण्ड कांग्रेस नेता प्रदिप गिरीको आग्रहमा सिरहामा श्रीमद्भागवत महापुराण ज्ञान सप्ताहको उद्घाटन गर्न पुगे भन्दा मलाई हाम्रा प्रधानमन्त्रीज्यूको कार्यशैली प्रति हाँसो उठेर आयो ।
कसैको बहकाऊमा लागेर आफ्नै दर्शन र सिद्दान्तलाई समेत बिर्सनेले हिजो ग़लत ब्रिफिंगकै आधारमा कति नारायण पोख्रेल जस्ता बिद्वान र मुक्तिनाथ अधिकारी जस्ता शिक्षक मार्ने ग़लत निर्णय गरेका थिए होलान् भन्ने कुरा सजिलै अन्दाज़ गर्न सकिन्छ ।
प्रधानमन्त्री प्रचण्ड जानेर या नजानेर जति जति धार्मिक अनुष्ठानमा सहभागी हुन्छन त्यति त्यति मलाई वाचनशिरोमणी पंडित नारायण पोख्रेलको झलझली सम्झना आईरहन्छ, जति बेला मेरै घर गाउँको सेरोफेरोमा क्याम्पस स्थापना गर्न भनेर आयोजना गरिएको महायज्ञमा तत्कालीन माओवादी कार्यकर्ताले कुनै कारण बिना कायरता पूर्वक हत्या गरेर त्यसको जिम्मा तत्कालीन माओवादी पार्टीले लिएको थियो ।
संस्कृत भाषालाई सामन्तको भाषा भनेर संस्कृत का पुस्तकहरु च्यात्न र जलाउन कार्यकर्तालाई प्रोत्साहन दिईरहेकै बेला तत्कालीन समयमा धार्मिक प्रवचनकै माध्यमबाट जनतालाई सुसुचित गरेर करोडौँ भेटी उठाई बिद्यालय क्याम्पस बनाउँदै हिडेका लाखौँ भक्तजनहरुका प्रिय वाचन शिरोमणी नारायण पोख्रेललाई हत्या गर्ने कार्यकर्ताका सर्वोच्च कमाण्डरले अहिले आएर श्रीमद्भागवत पुराणको उद्घाटन कुन मुखले गरे होलान् ?
पंडित नारायण पोख्रेलकै अनुकम्पाले त्यो बेला जग हालिएका कैयौँ बिद्यालय र क्याम्पसहरु अहिले निर्माण सम्पन्न भईसक्दा प्रधानमन्त्री आफैले कति उद्घाटन गर्न पाउँदा हून् ! पंडित नारायण पोख्रेलको हत्या गर्दैमा के अभिष्ठ पूरा भएको होला र ! अरुको धर्मको बिरोध नगरी आफ्नो धर्मको ब्याख्या गर्नेलाई दिएको यो सजायँको याद आई आई पनि कुन नैतिकताले प्रचण्डज्यूले त्यस्तो पवित्र महायज्ञ उद्घाटन गरे होलान् ?
हो, हिन्दु धर्ममा थुप्रै कुसंस्कारहरु ब्याप्त थिए र अझै पनि छन्, जातियता, अन्धबिश्वास, अशिक्षा र बेमेलहरु छन् तर धार्मिक स्वतन्त्रताका नाममा आस्थाका धरोहर देवी देवताका मन्दिरमा गाई गोरुको आन्द्रा लगेर झुण्ड्याईदिने कार्यकर्ताका सर्वोच्च कमाण्डरले कुन हैसियतमा यति पवित्र श्रीमद्भागवत महापुराणको उद्घाटन गर्न पुगे होलान् ?
हिन्दु र बौद्द धर्म बिचको सुमधुर सम्बन्धमा दरार ल्याउँदै जनतामा साम्प्रदायिकताको बीउ रोप्ने र श्रृंखलाबद्ध रुपमा ईशाई धर्म हुल्न मियोँको भूमिका निभाउने आफ्नै जनै फालेर जनै बिहीन भएका भूतपूर्व बाहुन, तत्कालीन युद्दका कमाण्डर अहिलेका प्रधानमन्त्री प्रचण्डले कुन नैतिकताले यति पवित्र धार्मिक कार्यको उद्घाटन गरे होलान् ?
आफ्नै बाबुको क्रियाकर्म गर्न नखोज्ने, हिन्दु धर्मलाई बिषबृक्ष को रुपमा प्रचार गर्ने, जातजाति र सम्प्रदायमा बिभाजनको बिउ रोपेर देशलाई परिवर्तनको नाममा पचास बर्ष पछाडि धकेल्ने कार्यकर्ताहरुका कमाण्डर हाम्रा प्रधानमन्त्री प्रचण्डले के हैसियतमा हिजो पद बहाली हुँदा भैसी पूजा गरेका र कुन नाकले त्यो महापुराणको उद्घाटन गरेका होलान् ?
मेरो प्रधानमन्त्री प्रचण्ड संग कुनै ब्यक्तिगत रिसिईबी छैन तर देशको एउटा ज़िम्मेवार कार्यकारी प्रधानमन्त्रीले हिन्दु धर्मको आधारशीला पुराणको उद्घाटन गर्दा बिगतमा गरेका अलोकप्रिय निर्णयहरु बारे प्रायश्चित्त गर्दा हून् कि हुन्नन् भन्ने कुराले मलाई घच्घचाई रहन्छ ।
राज्यका सबै धर्म र संस्कृतिको सम्मान हुनुपर्छ भन्ने कुरा जायज हो तर बिगतमा त्यही धर्म र संस्कृतिलाई बाधक भन्दै हत्या गरे गराईएका प्राणहरु आज भैसी पूजा र श्रीमद्भागवत उद्घाटन गर्दैमा फर्केलान् त ? होईन भने कुनै कुत्सित उद्देश्य प्राप्त गर्न तत्कालीन समयमा गरेका मुटु नै जिरिङ्ग हुने ती आततायी घटनाहरुको प्रायश्चित गर्नुपर्छ पर्दैन ?
तत्कालीन क्रान्तिको बेला भएका सबै कुराहरु बाध्यात्मक थिए भन्दै ढाकछोप गर्दै जाने हो भने यस्ता कथित युद्द हरु केही न केही नाममा दोहोरिई रहने छैनन् भन्ने के ग्यारेन्टी भयो र ? अहिले पनि धेरै शसस्त्र समूहहरुले क्रान्तिको नाम दिएर ताण्डव मच्चाएको मच्चाई छन् ! यिनीहरुलाई रोक्ने समेत कुन मुखले होला ?
यी सबै कुराको स्पष्टिकरण आउने चुनावमा माओवादी केन्द्रका उमेदवारलाई जनताले सोध्ने छन्, ए साँच्चै कुन मुखले यसको जवाफ दिने होलान् ?
फेरि एकपटक सोध्न र सोच्न मन लाग्यो- लाखौँ भक्तजनका ढुकढुकी वाचन शिरोमणी नारायण पोख्रेललाई मण्डपमै हत्या गर्ने समूहको सर्वोच्च कमाण्डरज्यूले कुन नैतिकताले त्यो पवित्र श्रीमद्भागवतको उद्घाटन् गरे होलान् ?
दैनिक नेपालको सहयोगमा

0 comments:

Post a Comment

 
Top