नोउ क्याम्प, फागुन १४ ।१७ वर्षीय एक किशोर खेलाडी, जसलाई आर्सनल, म्यानचेस्टर युनाइटेड र चेल्सीको स्काउटले सबैभन्दा बढी आँखा लगाएका थिए, उनी आउँदो सिजन बार्सिलोनाको ‘बी’ टिममा देखा पर्ने सम्भावना बढेर गएको छ।
बार्सिलोनामा पछिल्लो समय एउटा नयाँ नामको सबैभन्दा बढी चर्चा भइरहेको छ। ती हुन्, विङ्गर जोर्डी एमबुला।
गत बुधबार क्याट्लानको युथ–१९ टिममा सहभागी हुँदै जर्मनीको बोरुसिया डर्टमुन्डविरूद्धको खेलमा उनले जुन गोल गरे, त्यो एउटै गोलका कारण उनको तुलना लिओनल मेसीसँग गरिन थालिएको छ।
एमबुलाले डर्टमुन्डविरूद्धको खेलमा विशिष्ट कौशलता देखाएका थिए। बल लिएर दौडिने उनको अद्भूत कलाको अहिले चर्चा भइरहेको छ। डर्टमुन्डविरूद्ध दायाँ क्षेत्रबाट दुई डिफेन्डरलाई काटेर बल निकाल्दै डिबक्स नजिकै पुर्याएका एमबुलाले फेरि दुई डिफेन्डरलाई काटेर अपत्यारिलो दिशाबाट गोल गरेका थिए।
‘जब हामीसँग यस्तो क्षमताको खेलाडी हुन्छन्, धेरै कुराको तयारी गर्न सकिन्छ,’ युइएफए युथ लिगअन्तर्गत ४–१ को अग्रता निकाल्दै अन्तिम आठमा प्रवेश गरेपछि ब्लाउग्रानाका प्रशिक्षक गाब्री गारसियाले भने।
बार्सिलोनाले एमबुलाको त्यो गोल आफ्नो ट्विटरमा बिहीबार पोस्ट गरेको थियो। जसमा थुप्रै समर्थकको उत्तर आएको छ, ‘रुप बदलिएका मेसी।’
एकजना समर्थकले एमबुलाको त्यो गोल हेरेपछि रोचक प्रतिक्रिया दिएका छन्, ‘मेसी, के त्यो तिमी नै हौ?’
धेरैले उनलाई बार्सिलोनाको पहिलो टोलीमा स्थान दिनु पर्ने वकालत गरेका छन्। ‘हामी पिएसजी(पेरिस सेन्ट जर्मनी) विरूद्ध (उनलाई) चाहन्छौं,’ एक समर्थकले पोस्ट गरेका छन्। अर्कोले सोधेका छन्–‘के उनी पिएसजीविरूद्ध खेल्दै छन्?’
यति कम उमेरमै जएमबुलालाई मेसीसँग तुलना गर्नु हतार हुनेछ। तर, उनको खेल क्षमता देखेर यतिबेला सबै दंग छन्।
एमबुला बार्सिलोनाभन्दा केही बाहिर ग्रानोलेर्समा जन्मिएका हुन्। उनको आमा क्याटलान हुन भने बुबा अफ्रिकी देश कङ्गो निवासी। १७ वर्षको उमेरमा उनी शारीरिकरुपमा पनि निकै बलियो देखिन्छन्, छिटो पनि। उनलाई युवा अवस्थाको थियरी हेनरीसँग पनि तुलना गरिएको छ।
एमबुला मार्चमा १८ वर्षमा प्रवेश गर्दैछन्। उनी स्पेनको युथ टोलीमा समावेश भइसकेका छन्। उनी नौ वर्षको उमेरदेखि बार्सिलोनाको युवा परियोजनासँग जुडेका युवा खेलाडी हुन्। बार्सिलोनासँग उनको अनुबन्ध २०१८ मा समाप्त हुँदैछ।
(एजेन्सी/सेतोपाटी)

0 comments:
Post a Comment