विमल योगी
काठमाडौं, १२ फागुन । प्रमुख विपक्षी दल एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान संशोधनको विधेयकको पक्षमा एमालेसहितका नौ दलीय गठबन्धन उभिन नसक्ने दोहोर्याएका छन् ।
दुई सातापछि बिहीबार बसेको संसदको बैठकमा समय लिएर बोल्दै उपनेता नेम्वाङले संशोधन विधेयकमा कुनै पनि हालतमा समर्थन नगर्ने बताए । उनले भने, ‘तराईबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले प्रदेशको सिमानालाई हेरफेर गर्नुपर्यो भन्छन् । केन्द्रले मात्रै केही गर्न सक्दैन भन्ने कुरा उहाँहरूले किन भुल्नु हुन्छ ? प्रदेशको सीमाङ्कन प्रदेशले पनि समर्थन गर्नुपर्छ । संविधान कार्यान्वयन गर्ने हो भने यी कुराहरूलाई ध्यान दिनुपर्छ ।’
अहिले संशोधनमा ल्याइएको प्रदेशको सीमाङ्कन हेरफेरको विषय संविधान विपरित रहेको भन्दै नेम्वाङले भने, ‘सर्वोच्चले पनि यो विषयलाई फैसला सरह बोलिसकेको छ । सर्वोच्चको आदेशले यो विधेयक निष्कृय भइसकेको छ । यो विधेयक मधेस र मधेसी जनताको हितवपिरित छ ।’
पाँच नम्बर प्रदेशलाई कमजोर तुल्याउने गरी संशोधन विधेयक रहेको उनको भनाइ छ । उनले भने, ‘यो जनताको माग होइन । त्यो प्रदेशको माग होइन । सबै पार्टीहरूसँग मैले कुरा गरे । उहाँहरू सबै त्यसको विपक्षमा हुनुहुन्छ । सिङ्गो जनता संशोधन विधेयकको विरोधमा हुनुहुन्छ ।’ उपनेता नेम्वाङले विधेयक कसको हितमा आएको हो भनेर पटक–पटक प्रश्न गरे ।
‘अहिले पनि हामी विधेयकको विपक्षमा छौँ’, उनले भने, ‘यो संविधान संशोधन विधेयक पारित हुनु दुईतिहाई चाहिन्छ । विधेयकको पक्षमा दुईतिहाई छैन । सत्तासँग सम्बन्धी पार्टीहरू पनि विधेयक विपक्षमा छन् । संविधान संशोधनको विधेयक पारित हुने अवस्थामा छैन । निर्वाचनको मिति घोषणा गरिसकेपछि पनि सरकारले किन अगाडि पेलिरहेको छ ? हामीले बुझ्न सकेका छैनौं ।’
उनले भने, ‘यो विधेयकलाई पास गरिदिने पक्षमा हामी छैनौँ । यो विधेयकलाई फेल गर्न पनि सोँच्नुपर्ने अवस्था छ । यो विधेयकलाई परिमार्जन गरेर पास गर्छौं भने स्वीकार गर्छौं होइन भने गम्भीर परिणाम निस्कन्छ भनेर संशोधन विधेयकका पक्षमा रहेका साथीहरूले चेतावनी दिइरहेका छन् ।’ उनले भने, ‘गम्भीर परिणाम आउने यो विधेयकलाई पास भएपनि पास होस् । फेल भएपनि फेल होस् भनेर किन ल्याइएको छ ? हामी सकारात्मक हस्तक्षेप गर्न चाहन्छौँ ।’
सरकारले निर्वाचनको मिति घोषणा भएकोमा स्वागत गर्दै एमाले संसदीय दलका उपनेता नेम्वाङले भने, ‘अहिलेको आवश्यकता स्थानीय तहको निर्वाचनतर्फ अगाडि बढ्नुपर्ने अवस्था हो ।’ निर्वाचनको मिति घोषणा भएकोमा सबैको जित भएको बताउँदै नेम्वाङले भने, ‘संविधान संशोधन विधेयकले दाँतमा ढुङ्गा लागिरहेको छ । स्थानीय निर्वाचनसँग संविधान संशोधनको कुनै पनि साइनो छैन ।’
निर्वाचन आयोगले चुनावसम्बन्धी कानूनको माग गरिरहेको विषय उठाएका नेम्वाङले भने, ‘राजनीतिक दलसम्बन्धी आवश्यक कानूनहरू छिटोभन्दा दिनुपर्छ ।’
निर्वाचन आयोगले माग गरेका कतिपय कानूनहरू दिन नसकेकोमा उनले विरोध गरे । ‘प्रदेश, राष्ट्रियसभा, राष्ट्रपति, उपराष्ट्रपतिलगायतका थुप्रै विधेयकहरू संसदमा दर्ता भएको छैन । सरकारले के गरिरहेको छ ?’, उनले भने, ‘संविधानअनुसार विधेयकहरू संसदमा ल्याइनुपर्छ ।
मधेसी मोर्चाका नेताहरूसँग सम्बन्ध बिग्रिएको अस्वीकार गर्दै व्याङ्ग्त्मक शैलीमा भने, ‘जनकपुरमा हाम्रा नेता बामदेव गौतमलाई आक्रमण गरियो । एमालेलाई बाजाबजाएर भगाउने भन्छन् । यस्तो सम्बन्ध रहेको बेला कसरी सत्तापक्षमा रहेका मधेसी मोर्चासँग कसरी सम्बन्धी विग्रियो ?’
‘एक दिनका लागि मौन रुपमा यो प्रक्रियामा सहभागी हुन्छौँ’
यसैबीच, एमाले नेता नेम्वाङले एक दिनका लागि संविधान संशोधनको विधेयकलाई मौनरुपमा संविधान संशोधनको प्रक्रियामा सहभागी हुने बताए । उनले भने, ‘सर्वोच्च अदालतको आदेश विपरित रहेको संविधान संशोधनको विधेयकमाथिको प्रक्रियामा आज एक दिनका लागि मौन रुपमा प्रक्रियामा सहभागी हुन्छौँ ।’
दुईसातापछि संसद बैठक चल्यो
प्रमुख विपक्षी दल एमाले र मधेसी मोर्चाको आआफ्नै अडानका कारण दुई दिनसम्म सूचना टाँस गरी स्थगित भएको संसदको बैठक बिहीबारबाट सुचारु भएको छ । निर्धारित समयमा शुरु भएको बैठकमा सभामुख ओनसरी घर्तीले कार्यसूचीअनुसार सदन चलाएकी हुन् ।
बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी ओली र सभामुख ओनसरी घर्तीबीच भएको परामर्शपछि संसद बैठक चलेको हो ।
0 comments:
Post a Comment