काठमाडौं, १३ फागुन। नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितालाई जोड दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले राजदूत रेलाई आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर जान लागेको अवसरमा विदाई गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत रेले भने, ‘चुनावमा नेपालका सबै दलहरुको सहभागिताको अनिवार्य आवश्यकता छ, भारत विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक हो, भारतले चुनावको कहिल्यै पनि विरोध गर्दैन, चुनावले नै प्रजातन्त्रलाई स्थायित्व दिने र बलियो बनाउँछ, त्यसैले नेपालमा हुन लागिरहेको चुनावको विपक्षमा हामी छैनौं, तर यो चुनावमा सबैको सहभागिताको सुनिश्चितता हुनुपर्छ ।’
अब हुन गइरहेको चुनावमा पनि भारतको संविधान जारी गर्दाको जस्तै अडान हो कि के हो भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने, ‘जसरी नेपालमा जब संविधान जारी गर्दा सबै दलहरुलाई मिलाएर लैजानु पर्ने सुझाव भारतको थियो, त्यसैगरी चुनावमा पनि सबै दललाई मिलाएर लैजानुपर्छ भन्ने हाम्रो सुझाव छ ।’
उनले भने, ‘नेपालमा चुनाव हुन गइरहेको छ, यो हाम्रो लागि पनि खुशीको कुरा हो, लोकतन्त्रको प्रमुख आधार भनेको नै चुनाव हो, तर चुनाव सबैलाई एक ठाउँमा लिएर र विश्वासमा लिएर गर्नुपर्छ ।’
उनले सरकारले संविधान संशोधनमार्फत सबै दललाई विश्वासमा लिन हाल गरिरहेको पहलकदमी प्रशंसनीय रहेको स्पष्ट पारे । चुनाव लोकतान्त्रिक अभ्यास भएकोले सबैलाई विश्वासमा र साथमै लिएर अघि बढ्दा सबैको भलो हुने उनको भनाई थियो । उनले भने, ‘संविधान संशोधन प्रक्रिया प्रशंसनीय छ, यसबाट निकास निस्किने कुरामा भारत पूर्ण रुपमा आशावादी छ ।’
राजदूत रायले नेपाल–भारत सम्बन्ध शब्दमा वर्णन गर्न नसकिने उल्लेख गर्दै भने, ‘हाम्रा सरकारहरु नबन्दै र देश बन्नु भन्दा पनि पहिल्यैदेखि प्राचिन सम्बन्ध रहेको छ, जनस्तरको सम्बन्ध छ ।’ उनले दुई देशवीचको सम्बन्ध थप मजबुद बनाउनको लागि पनि निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए ।
उनले सम्बन्ध चाहे व्यक्तिकाबीच होस्, चाहे पारिवारिक होस् त चाहे देशहरुकाबीचको सम्बन्ध किन नहोस्, सम्बन्ध मजबुद बनाउनको लागि नयाँ–नयाँ आयाम जरुरी रहेको बताए। उनले भने, ‘नेपाल–भारत सम्बन्ध मजबुद बनाउनको लागि पनि हमेसा हाम्रोबीचमा यस्तो प्रयासहरु जरुरी छ ।’ २१ औँ शताब्दी एशियाको शताब्दी भएकोले अहिले एशियामा विकासको लहर आउने समेत उनको विश्वास थियो ।
राजदूत रायले नेपालमा अस्थिरता भए भारतलाई के फाईदा हुन्छ भन्दै उल्टै प्रश्न समेत तेर्साए । उनले भने, ‘नेपाललाई फाईदा नहुने कुरा, भारतलाई पनि फाईदा हुँदैन् ।’ यद्धपि उनले भारतले नेपालको हरेक परिवर्तनको पक्षमा साथ दिएको इतिहास सुनाए । उनले नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप मजबुद र आगामी दिनमा आर्थिक साझेदारीमा केन्द्रित रहेर अघि बढाउनु पर्ने बताएका छन् ।
रेले नेपाल–भारत सम्बन्ध देश–देशबीचको सम्बन्ध मात्रै नभएर व्यक्ति–व्यक्तिबीचको सम्बन्ध भएको बताउँदै भने, ‘नेपाल–भारत द्विपक्षीय सम्बन्ध प्रगाढ छ, अब २१ औं शताब्दी अनुसार द्विपक्षीय सम्बन्धलाई कसरी थप मजबुद बनाउने भन्ने हामीबीच चूनौतिहरु छन्, त्यतातर्फ हामीले सोच्नुपर्छ ।’
राजदूत रेले नेपाल–भारत द्विपक्षीय सम्बन्ध अब सामाजिक, सांस्कृतिक, धार्मिकका साथसाथै आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने धारणा राखे । रायले थपे, ‘अबको हाम्रो सम्बन्धनको आधार नै आर्थिक एजेण्डा बनाउनुपर्छ, काँधमा काँध मिलाएर कसरी विकास र आर्थिक समृद्धिको बाटोमा कसरी हिड्न सकिन्छ भनेर सोच्नुपर्छ ।’आजको खबरको सहयोगमा

0 comments:
Post a Comment