काठमाडौं — भनेको जत्ति दाइजो नपाएको निहुँमा बेहुलापक्षले बिहे मण्डपमै किचकिच गरेको खबर त भारतमा नौलो कुरा होइन । तर उत्तर प्रदेशको एक शहर हापुडमा दुलहीले गरेको एक हर्कत भने अचम्मकै थियो ।
परिवारले छानेको केटोसँग बिहे गर्न तत्पर राधा सिंहले विवाह समारोहको शुरुवातमा ठीकठीकै व्यवहार देखाएकी थिइन् । मेरठका पंकजलाई उनले वरमाला पहिराएर विधि पु-याइन् ।
तर मण्डपमा पुगेपछि भने भूकम्प आएजस्तो पो भयो । अचानक दुलहीले सबैका अगाडि म यो बिहा गर्दिनँ भन्न थालिन् ।
सबैजना तीनछक्क परे दुलहीको यस्तो व्यवहार देखेर । किन यसो गरेकी भनेर सोध्दा राधाले भनिन्, ‘मेरो बुवाले यत्ति धेरै दाइजो दिनुभएको थियो तर दुलाहाको परिवारले महंगा सारी र गहना ल्याएनन् । यस्ता तन्नमहरूसँग पनि के सम्बन्ध राख्नु त ?’
राधाका आफन्तले उनलाई धेरै सम्झाए नानी यसो नगर भनेर । तर उनी मान्दै मानिनन् । अझ दुलाहा पक्षका मानिसलाई तथानाम गाली पो गर्न थालिन् ।
रिसले तिलमिलाएका दुलाहापक्षका मान्छे दुलहीपक्षसँग कुश्ती गर्न थाले । अनि दुलही पक्षले दुलाहालाई बन्धक बनाएर बिहाको सबै खर्च उठाएमा मात्र छोड्ने शर्त राखे ।
बाध्य भएर दुलाहापक्षले उनीहरूको माग पूरा गरे । केटीले मण्डपमा नै बिहा गर्न नमानेको कुराले शहरभरि हल्ला चल्यो ।
(एजेन्सी/ लोकान्तर)

0 comments:
Post a Comment