जुम्ला, फागुन १४ – संसारमा कसै कसैको मृत्यु मात्र यति फरक हुन्छ कि जसले बाँच्नेहरुको मनमा छाप बनाउँछ । मरेर जानेलाई सधैँ सम्झिरहन्छ । नहुँदा पनि आफैसँग भएको आभास दिलाउँछ ।

७२ साल फागुन १४ गतेको घटनाले यस्तै भयो । नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एअरको टूविनेटर विमान कालिकोटको चिलखायाँ गाउँको खेतमा आकस्मिक अवतरण गराएर पाइलटहरुले यात्रुको ज्यान जोगाए । विमान दुर्घटनामा सवार ९ यात्रुलाई बचाएर आफ्नो ज्यान गुमाउने पाइलट दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानाले उदाहरणीय मृत्युवरण गरे ।
एक वर्ष अगाडि ज्यान गुमाएका पाइलटको सम्झनामा शनिबार जुम्लामा वार्षिक श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । जिल्लाको कृष्ण मन्दिरमा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा आफू मरेर यात्रुको ज्यान बचाउने पाइलटहरु न्यौपाने र रानाप्रति जुम्ली नागरिकले श्रद्धाञ्जली अर्पण गरे । दुर्घटनामा बाँचेर नयाँ जीवन पाएका यात्रु कर्णाली रोेजगार सूचना केन्द्रका प्रमुख मेघराज गिरीले घटनाको स्मरण गराउँदा भेला भएकाहरुको आँसु थामिएन ।
वार्षिक श्रद्धाञ्जली कार्यक्रमका सहभागीले महान काम गर्ने ति पाइलटहरुको जुम्लामा स्मारक बनाउने घोषणा गरे ।
मेघराज गिरीले वर्षदिन अघिको घटना सम्झँदै भने -
‘नेपालगञ्जबाट प्लेन उड्यो । सबै यात्रुहरु हाँसो र खेलवाड गर्दै आएका थियौँ । एक्कासी घटक्क असन्तुलन भएको आवाज आयो । भट्टचन मामाले भान्जा यो के भयो भनेर सुनाउनु भयो । मैल हैन मामा कहिले काँही यस्तै हुन्छ भनेको थिएँ । मेरो अगाडि लक्ष्मण सर हुनुहुन्थ्यो । त्यति गर्दै प्लेन एकदम असन्तुलित अवस्थामा भएपछि सबैको सातो गयो । सबैले पाइलटलाई सोध्न थाले । पाइलट सन्तोष न्यौपानेले केही हँुदैन भनेर सान्तोना दिँदै जहाज उडाइरहनु भएको थियो । पाइलटहरु दुबैले ईन्जिनका भागहरु हर प्रयास चलाई रहनु भएको थियो । हामी यात्रु सबैको आँखा पाईलटको हातमा थियो । मसँग मेरो परिवार र सानी छोरी समेत थिए । एक्कासी चिलखायाको गाउँ र त्यहाँको स्थान देखियो । अब प्लेन एकदम होचो भएको थियो । मलाई निश्चित यही खेतमा बस्ने भयो भन्ने लाग्यो । पाईलटको स्थानमा हेर्दा पाईलट न्यौपानेले आफ्नो हेलमेट लगाउँदै हुनुहुन्थ्यो प्लेन भुर्इंमा बस्यो । एक छिन त म पनि बहोस भएँ । प्लेन बसिसकेपछि म पछिल्लो ढोकाबाट छोरी काखमा च्यापेर बाहिरिएँ । छोरीको अनुहारबाट रगत बगिरहेको थियो । श्रीमतीलाई पनि पछि बाहिरिइन् । हामी प्लेनबाट एक सय मिटर टाढा भाग्यौँ र कराउँदै गाउँलेलाई गुहार माग्यौँ । त्यतिबेल सम्म चालन न्यौपाने आफ्नै सिटमा मरिसक्नु भएको थियोे । गाउँलेको सहयोगमा बाँकी वेहोस भएका यात्रुहरुलाई बाहिर निकाल्यौँ । पड्किन्छ कि भन्ने डरले टाढा गयौँ । एक जना स्थानीय बासिन्दाको फोन मागेर पहिलो कल मैले बुवालाई गरेँ ।’
पुनर्जीवन पाएपछि जुम्लामा गरिएको श्रद्धाञ्जली कार्यक्रममा गिरीले रुँदै प्लेन दुर्घटनाको क्षण र आफ्नो नयाँ जीवनको स्मरण गर्नुभयो । घटनामा बचेका यात्रुहरु उहाँकी श्रीमती जगदम्वा गिरी, लक्ष्मण खड्का र धनञ्जय आचार्य पनि उपस्थित थिए ।
कार्यक्रममा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले पाइलटहरुले गरेको यो महान कामको उचित सम्झनामा स्मारक बनाइनु अनिवार्य रहेको बताउनुभयो । उहाँले १० हजार एक रुपैयाँ व्यक्तिगत रुपमा दिने समेत बताउनुभयो ।
यसैगरी कीर्तिमानी म्याराथुन धावक हरिबहादुर रोकायाले ५ हजार रुपैयाँ स्मारकका लागि दिने घोषणा गर्नुभयो । जुम्ला विमानस्थलमा स्वर्गीय पाइलटहरुको सम्झनामा स्मारक बनाइनु पर्ने दुर्घटनाबाट बाँचेका यात्रुहरुले आवाज उठाउँदै आएका छन् । यसैगरी पाइलटको सम्झनास्वरुप शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विरामीलाई फलफूलसमेत बितरण गरियो ।उज्यालो अनलाइनको सहयोगमा

0 comments:

Post a Comment

 
Top