फागुन १५, काठमाण्डौं – स्वास्थ्य मन्त्री गगन कुमार थापाले मृत्यु पश्चात मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज, मिर्गौला गरी सात अंग दान गर्ने भएका छन् ।
आज स्वास्थ्य सेवा दिवश को अवसरमा स्वास्थ्य मन्त्रालयको प्रांगणमा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर द्वारा आयोजित कार्यक्रममा मन्त्री थापाले यस्तो मन्जुरीनामा पत्रमा हस्ताक्षर गरेका हुन् ।
वहाँ नेपालमा मुटु, कलेजो, फोक्सो, प्यांक्रियाज दान गर्न मञ्जुरी दिने प्रथम व्यक्ति समेत भएका छन् । मिर्गौला दान गर्न मञ्जुरी दिने प्रथम व्यक्ति वरिष्ठ प्रत्यारोपणविद् डा. पुकार चन्द्र श्रेष्ठ हुन् ।
उक्त समारोहमा जम्मा ६० जनाले मृत्यु पश्चात मुटु, कलेजो, फोक्सो, मिर्गौला, प्यांक्रियाज दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका छन् ।
आयोजित उक्त कार्यक्रममा निःशुल्क मिर्गौला जाँच शिविरमा २ सय २२ जनाको स्वास्थ्य परीक्षण गरियो जसमा २२२ जनाकै पिसाब जाँच, १७५ जनाको रगत जाँच र ४० जनाको अल्ट्रासाउण्ड गरिएको थियो ।
उक्त शिविरमा २१ जनामा मिर्गौलाको रोग लागेको पाईयो जसमध्ये १८ जनामा मिर्गौलाबाट प्रोटिन चुहिने दिर्घकालीन मिर्गौला रोग, ३ जनामा पत्थरी, १ जनामा इक्टोपिक मिर्गौला, १० जनामा मधुमेह र १० जनामा उच्च रक्तचाप पत्ता लागेको थियो ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठको नेतृत्वमा भएको उक्त शिविरमा नेफ्रोलोजिस्टहरु डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष गुरुङ्ग, युरोलोजिस्ट डा. नारायण भुषाल तथा मेडिकल अफिसर डा. रनिल श्रेष्ठ थिए ।रातोपाटीको सहयोगमा

0 comments:
Post a Comment