काठमाडौं, ११ फागुन — पाँच वर्षअघि कैलालीमा १८ हजार हेक्टर वन अतिक्रमण भएको तथ्याङ्क सार्वजनिक भएको थियो, तर अहिले सो तथ्याङ्क बढेर २५ हजार हेक्टर पुगेको छ । यो कुरा स्वयं वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी पनि स्वीकार्छन् ।
‘प्राकृतिक ताल पुरेर खेती गरिएको छ, वन क्षेत्रको जमीनमा बस्ती बसेको छ,’ मन्त्री भण्डारी भन्छन्, ‘कैलालीको विभिन्न स्थानमा गरेर २५ हजार हेक्टरभन्दा बढी नै जमिन मिचिएको छ ।’
अतिक्रमणमा वन कर्मचारीको ठाडो संलग्नता
कुनै पनि शक्तिले रोक्न नसक्ने माफियाहरूको जालो बलियो हुँदा कैलालीमा दिनदिनै वन अतिक्रमण भइरहेको छ ।
जानकारहरूका अनुसार स्थानीय वन संरक्षणकर्मीको जानकारीविना अतिक्रमण हुन सक्दैन । कर्मचारी र माफियाहरू मिलेर बनाएको ठूलो जालो सक्रिय भएको कारणले वन अतिक्रमण भइरहेको हो । तर सरकारले माफियाहरूको त्यो जालो तोड्न सकेको छैन ।
भुक्तभोगीका अनुसार तस्करको समूहमा जिल्लाका सहायक वन अधिकृत पूर्णशंकर यादव, भरत साह, हुरीलाल लगायत नै संलग्न छन् ।
यादव १५ वर्षभन्दा लामो समयदेखि एउटै ठाउँमा बसेर रजाईं गर्न सफल भएका व्यक्ति हुन् ।
यी कर्मचारीहरूमाथि माथिल्लो निकायले कुनै पनि कारवाही गरेको छैन । तर वन विभागका प्रबन्ध निर्देशक कृष्णप्रसाद आचार्य तस्करीमा संलग्न कर्मचारीलाई अनुसन्धान गरी कारवाही गर्ने दाबी गर्न पछि पर्दैनन् ।
वनमन्त्री भण्डारीले कुनै पनि कर्मचारी एउटै स्थानमा १५ वर्षसम्म रहनु नै शंकास्पद विषय भएको बताउँछन् । ‘अब त्यस्ता कर्मचारीलाई तुरुन्त सरुवा गर्छौं,’ मन्त्री भण्डारी भन्छन्, ‘गल्ती गर्नेहरूलाई कारवाही पनि गर्छौं ।’ तर उनले माफियाहरूको लागि सरकारभन्दा पनि बलियो भएकोले अतिक्रमण रोक्न नसकिएको चाहिँ स्वीकारे ।
कहाँ कहाँ भइरहेको छ अतिक्रमण ?
जैविक करिडोरका कारण अन्तर्राष्ट्रिय स्तरमै चर्चामा रहेको वसन्ता वनक्षेत्रमा सबैभन्दा बढी अतिक्रमण गरिएको छ ।
वन विभागका महानिर्देशक आचार्यका अनुसार, वसन्ता क्षेत्रमा विभिन्न भागबाट अतिक्रमण भएको छ । यकिन तथ्यांक नभएपनि अतिक्रमित कुल वनक्षेत्रको झन्डै आधाभन्दा बढी हिस्सा वसन्ता क्षेत्रमा पर्छ ।
पन्ध्रभन्दा बढी जैविक ताल र सिमसार क्षेत्र रहेको वसन्ता वनक्षेत्र ६९ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसबाहेक जिल्लाका प्रमुख बजार क्षेत्र, कञ्चनपुर सिमाना चौकीडाँडादेखि चिसापानीसम्मको ९० किलोमिटर पूर्व–पश्चिम राजमार्गछेउ, अत्तरियादेखि डडेलधुरा जोड्ने भीमदत्त राजमार्ग, चुरे क्षेत्रमा रहेका दर्जनभन्दा बढी गाउँसँग जोडिएको वन मासिइरहेको छ ।
अत्तरिया नगरपालिका क्षेत्रमा मात्र पाँच वर्षयता १३ सय बिघाभन्दा बढी सरकारी जग्गा अतिक्रमण भइसकेको छ । साबिक गेटा गाविसको ३ नम्बर वडामा आबादी जग्गा पाँच वर्षअघि जम्मा ३ सय बिघा थियो । अत्तरिया इलाका वन कार्यालयसागै जोडिएको अधिकांश वन क्षेत्र अतिक्रमण भइरहेको छ ।
यसरी हुन्छ अतिक्रमण
नम्बरी आबादी
वन क्षेत्रको जमीन माफिया र वन कर्मचारी मिलेर नम्बरी या आबादीमा परिणत गर्छन् । अनि वनका कर्मचारीले त्यसैको नाममा पुर्जा दिएर काठ कटानी गर्छन् । यसरी धमाधम वनको तस्करी भइरहेको छ ।
ढला–पडा
ढला/पडाको यसको मतलव हो, सुकेका या ढलेका । नियमअनुसार कुनै पनि सुकेका या ढलेका रुखहरू कटान गरेर पन्छाउन पाइन्छ । यही नियमको दुरुपयोग गर्दै विभिन्न तरिका अपनाएर रुख सुकाएर काट्दै वनको तस्करी भइरहेको छ ।
चिरान
चिरानको नाममा जिल्ला वन कार्यालयले सीमित परिमाणमा काठ काट्न दिन्छ । तर यसको दुरुपयोग गर्दै तस्करी भइरहेको छ ।
कसरी रोक्ने तस्करी ?
वन तस्करी नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने मन्त्री भण्डारी र प्रबन्ध निर्देशक आचार्य दाबी गर्छन् । कैलालीको कुल क्षेत्रफल ३ लाख २८ हजार ५ सय ५२ हेक्टरमध्ये २ लाख ५ हजार ९ सय ३९ हेक्टर वन क्षेत्र छ ।
त्यसमध्ये आबादी तथा खेतीयोग्य जमिन ९८ हजार हेक्टर छ । अब पनि वन मास्ने धन्दा नरोक्ने हो भने तराईको हरियो वन उजाड मरुभूमि र कंक्रिटमा परिवर्तन हुने पक्का छ । लोकान्तरको सहयोगमा

0 comments:

Post a Comment

 
Top