काठमाडौं, १३ फागुन । माओवादी पार्टीसँगको सम्बन्ध बिच्छेद गरेर नयाँशक्ति पार्टी नेपाल खोलेका पूर्व प्रधानमन्त्री एवम् सो पार्टीका संयोजक बाबुराम भट्टराईले एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीलाई ‘बिखण्डनकारी’को गम्भीर आरोप लगाएका छन् ।


नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै संयोजक भट्टराईले एमाले अध्यक्ष ओली र एमालेका नेताहरूको क्रियाकलापले मुलुकलाई बिखण्डनतिर लगेको दाबी गरे । ‘केपी ओली मार्काहरू संविधान च्यात्न लागेका छन्’, उनले भने, ‘मधेसी जनताको पक्षमा संविधान संशोधन गर्नुपर्छ । कतिपपय विषयमा एमालेका अध्यक्ष केपी ओलीले पुरानो संस्कार देखाएका छन् । यस्तो कार्यले देश बिखण्डनमा जान्छु । ओलीजीले मुलुकमा बिखण्डनको बीउ रोप्दै हुनुहुन्छ ।’

संयोजक भट्टराईले भने, ‘केपी ओली मार्काका कारण सीके राउत जस्ता व्यक्तिहरूले टाउको उठाउँदै छन् । हामी संविधान बनाएकाहरूलाई पीडा भएको छ । एउटा व्यक्ति (केपी ओली) को हठले मुलुकलाई बिखण्डन गर्छ भने नेपाली जनताले चिन्नुपर्छ ।’

एमाले अध्यक्ष ओली र आन्दोलनकारी ५ नम्बरका जनताहरूलाई संघीयता नबुझ्नेहरूको संज्ञा दिएका उनले भने, ‘५ नम्बर प्रदेशमा संघीयता नबुझ्ने मान्छेहरू छन् । ५ नम्बर प्रदेशलाई छुट्टाउन पाइन्छ । यदि नछुट्टाउने हो भने सीके राउत जस्ता आउँछन् ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई भ्रष्टाचारको आरोप लगाएका नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले भने, ‘कुनै बेलाका मेरा मित्र ‘प्रचण्ड’ले स्थानीय चुनाव गराउन सक्नु हुन्न । उहाँले अडान र बोली फेरीरहनु भएको छ । चुनाव गर्न सक्नु हुन्छ भन्ने मलाई लाग्दैन । प्रचण्डले चुनाव गराउनु हुन्न ।’

0 comments:

Post a Comment

 
Top