फँलाटे, कोशीपारि (काभ्रेपलाञ्चोक), १७ फागुन – जिल्ला प्रशासन कार्यालयहरूबाट छिटोछरितो काम हुन्नन् भन्ने जनगुनासो वर्षौंदेखि सुनिन्छ । स–साना काममा पनि सेवाग्राहीलाई झुलाइराख्ने अधिकांश जिल्लाका सरकारी निकायको प्रवृत्ति छ ।
तर काभ्रेका प्रमुख जिल्ला अधिकारीले उदाहरणीय काम गरेर जनताको मन जितेका छन् । बयालीस वर्षदेखिको समस्या १५ दिनमै हल गरेर उनले जनताको मन जितेका हुन् ।
के थियो चार दशकदेखिको समस्या ?
धान फल्ने खेत कसको हुने ? पीपलटार गाविस टुक्रिएर बनेको फँलाटेको वा भुम्लुटारको । यो विषयमा विवाद थियो । उक्त विवाद चर्किएपछि २०३१ सालमा जिल्लाबाट खटिएको नापी टोली भुम्लुटारसँगै फँलाटे गाविसमा पनि पुग्यो ।
भुम्लुटार र फँलाटे गाविसको सिमानामा राम्रो धान फल्ने ऊर्वर खेत थियो । २०३१ सालसम्म पीपलटार गाविसबाट टुक्रिएर भुम्लुटार र फँलाटे गाविस बन्दै गर्दा धान फल्ने खेतको समेत नापी भयो । तर त्यतिबेला भुम्लुटार र फँलाटे गाविसका स्थानीय बासिन्दाले धान फल्ने खेत आफ्नो हुनुपर्ने भन्दै दाबी गरेपछि विवाद चुलियो ।
धानखाने खेतको असली मालिक को बन्ने विषयमा भुम्लुटारका उप्रेती र फँलाटेका खरेलबी समुदायबीच विवाद चर्कियो । हानाथाप भयो । कुटाकुट भयो । दुवैले आफ्नो गाविसमा धान फल्ने खेत हुनुपर्छ भनेर दाबी गरे ।
तत्कालीन पीपलटार गाविस टुक्रिएर भुम्लुटार र फँलाटे गाविस बनेपछि शुरु भएको दुई गाविसबीचको सीमा विवादले कुनै पनि गाविसको लालपुर्जा बन्न सकेन ।
विवादपछि त्यसबेलाका लक्काजवानबीच कुस्ती चल्यो । यही झगडाका कारण दुवै गाविसको नक्सा नापजाँच र नापीको काम रोकियो । विवाद मिलाउने प्रयासमा कर्मचारीले असुरक्षित महसूस गरेपछि काम अघि बढ्न सकेन । यसबीचमा काभ्रेमा ३६ जना प्रमुख जिल्ला अधिकारी परिवर्तन भइसकेका छन् ।
लामोे समयदेखिको सीमा विवादका कारण गत सालको भूकम्पमा समेत दुवै गाविसका पीडितलाई असहजता महसूस भयो । आफैंले भोगचलन गरिरहेको जग्गा पनि नापी हुन सकेन । यसले गर्दा भूकम्पका कारण भत्किएको घर पुनर्निर्माणका लागि अनुदान आउन सकेन ।
हजुरबुबाहरूले अञ्जानमा खेलेको झगडाको शिकार नातिहरू भए । नातिहरू भूकम्पले घर भत्किएर लाभग्राहीको सूचीमा परेपनि रकम पाउनबाट वञ्चित भए ।
त्यतिबेला कुस्ती खेल्नेमध्ये दुवै गाविसका पाँचजना वृद्ध जीवित छन् । तर भूकम्पले घर भत्काएपछि नातिहरू भने समस्यामा परेका छन् । यसको परिणाम दुवै गाविसका करीब ९ सय घरधुरीले पहिलो किस्ताको रकमसमेत पाउन सकेनन् ।
यसरी भयो समस्या समाधान
समस्या जटिल बनेपछि काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव सिम्खडाले अनुदान कसरी दिन सकिन्छ भनेर योजना बनाए । काभ्रेमा धेरै प्रजिअ आए/गए । तर फँलाटे र भुम्लुटारका स्थानीयका लागि आफ्नो समस्या समाधान गर्ने सिडिओ बने शिव सिम्खडा ।
भूमि अधिकार मञ्च, काभ्रेका अध्यक्ष रामबहादुर लामा, पुनर्निर्माण प्राधिकरण धुलिखेलका प्रमुख धु्रुव गैडा, जिल्ला नापी कार्यालयका प्रमुख रामप्रसाद तिमल्सिना लगायतले पीडितसम्म सेवा पु–याउन हौसला प्रदान गरे ।
जग्गाको लालपुर्जा छैन, तर निस्सा छ, तिरो तिरेको प्रमाण पनि छ । उनीहरूको जग्गा पटक–पटक बिक्री समेत भएको छ तर उनीहरुसँग लालपुर्जा नभएपछि भूकम्पपीडितले पाउने रकम पाउन सकेका छैनन् । यस्तो समस्या
देखेपछि स्थलगत निरीक्षणसँगै छलफल चलाएको प्रजिअ सिम्खडा सुनाउँछन् ।
‘फुकाउन नमिल्ने गाँठो भए त्यसलाई काट्नुपर्छ तर फुकाउने गाँठो भएकाले त्यसलाई फुकाउन सकिन्छ भनेर गरेको प्रयास पूरा भयो,’ सिम्खडाले भने, ‘गाँठो फुक्यो । अब घर बनाउनुस् ।’
भूकम्पमा ध्वस्त भएका घर बनाउने आशा मारेका काभ्रेको विकट कोशीपारि फँलाटे र भुम्लुटारका स्थानीयहरू धमाधम जग खन्न थालेका छन् । बिहीवारबाट शुरु भएको अनुदान सम्झौतापछि उनीहरू घर बनाउन उत्साहित भएका हुन् ।
दुई साताअघि काभ्रेका प्रजिअ सिम्खडा भूकम्पले घर भत्काएपनि लालपुर्जा नभएका कारण आवास अनुदान सम्झौता गर्न नपाएका भूकम्पपीडितको गुनासो सुन्न उनीहरूकै आँगनमा पुगेका थिए । त्यसबेला पीडितहरूले जो आएपनि अनुदान पाउने आशा मारिसकेका थिए ।
प्रजिअ सिम्खडाले त्यतिबेलै वचन दिए – जसरी भएपनि तपार्इंहरूले फागुनभित्रमा अनुदान पाउनु हुन्छ ।
नभन्दै प्रजिअले जाहेर गरेको प्रतिबद्धता १५ दिनमै पूरा गरिछाडे ।
भूकम्पपछिको निजी आवास पुनर्निर्माणका लागि संशोधित कार्यविधिले निस्सा भएका र तिरो तिरेका भूकम्पपीडितलाई बडा सर्जिमिनको आधारमा अनुदान सम्झौता गराउन प्रजिअ सिम्खडा सफल भइछाडे ।
फलाँटेमा ३ सय ६७ र भुम्लुटार गाविसमा ५ सय ९३ भूकम्पप्रभावित घर लाभग्राहीको सूचीमा छन् । सबै लाभग्राहीको सूचीमा परेकाहरूले अरू भूकम्पपीडितले पाउनेसरह पहिलो किस्ताको ५० हजार रुपैयाँ पाउनेछन् ।
धेरैले समस्या समाधानका फुस्रा कुरा गर्ने गरेपछि कोशीपारिवासीले यो समस्या समाधान होला भन्ने आशा गरेका थिएनन् । गाँउबाटै धेरैपटक सांसद र मन्त्री बनेपनि हुन नसकेको समस्या प्रजिअले समाधान गरिदिएपछि खुशियाली छाएको स्थानीय जलबहादुर श्रेष्ठले बताए ।
‘सबै कर्मचारीको नियत दुःख दिने हुँदो रहेनछ,’ उनले भने, ‘कोही कर्मचारी त देवतासमानै हुने रहेनछन्, तिनैमध्येका हुन् अहिलेको प्रमुख जिल्ला अधिकारी सिम्खडा ।’
जिल्ला विकास समिति काभ्रेका पूर्व सदस्य सुरेश कक्षपतिले प्रजिअले वास्तविक पीडितको समस्यामा केन्द्रित रहेर सहयोग गरेको र यसले भूकम्पपीडितलाई राहतको काम गरेको बताए । लोकान्तरको सहयोगमा


0 comments:
Post a Comment