फागुन १५ , काभ्रे – उग्रचण्डी नाला गाविस– २ कोइपाटोलका महेश श्रेष्ठले मोबाइल, टेलिभिजन, रेडियो, घडीलगायत सामग्री मर्मत गरेर मासिक रु ५० हजार आम्दानी गर्दै आएको छ ।
इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषय पढेका श्रेष्ठले आफूले पढेको विषयलाई व्यवहारमा उतार्नु भएको हो । उनले आफ्नो घरमै इलेक्ट्रोनिक पसल सञ्चालन गरेका छन् । पढेको कुरालाई व्यवहारमा उतार्न सके स्वदेशमै मनग्य आम्दानी गर्न सकिने २४ वर्षीय श्रेष्ठले बताए । ‘नेपालमै मनग्य आम्दानी गर्न सकिने सम्भावना छ, आफ्नो पढाइप्रतिको असन्तुष्टिका कारण दिनहुँ युवा विदेशीने गरेका छन्,’ उनले भने, ‘पाँच वर्षअघि मैले आठ हजार लगानी गरी यो पसल सञ्चालन गरेको हूँ ।’
आठ हजारमा पसल सञ्चालन गरेका श्रेष्ठसँग अहिले पाँच लाख बराबरको सम्पति छ । सुरुमा उनको पसलमा थोरै ग्राहक आउने गरे पनि चित्त बुझ्दो काम गरेपछि अहिले श्रेष्ठलाई काममा भ्याइनभ्याइ छ । ‘काम गरे पुँजी सङ्कलन हुँदै जान्छ, लगानीको खासै समस्या हुन्न ।’ उनले बताए ।
‘पहिला सामान्य खर्चका लागि समेत घरपरिवारमाथी निर्भर हुनुपथ्र्यो, अहिले परिवारको पूरै खर्च मैलै नै धान्दै आएको छु ।’ श्रेष्ठले भने । पसलमा आउने ग्राहकलाई उनी प्राविधिक पढ्न सल्लाह दिने गर्छन् । आफ्नो बहिनीलाई समेत ब्यूटिपार्लर सम्बन्धी अध्ययन गराइरहेका छन् । इलेक्ट्रोनिक पसललाई नै विस्तृत रूपमा अगाडि बढाउने श्रेष्ठको योजना छ । गाउँका अन्यलाई समेत सो सम्बन्धी तालिम दिएर स्वरोजगार बनाउने उनको योजना छ ।
हाल श्रेष्ठले मोबाइलको चार्जर, सोलार चार्जर र मोबाइलमा राख्ने प्रोटेक्टेक्सन ग्लास समेत आफैंले बनाउन थालेका छन् । नेपालमा नै प्राविधिक विषय पढेर इलेक्ट्रोनिक्स पसल सञ्चालन गरिरहेका उनले नेपालमा नै आफूले अवसर खोज्न सके प्रशस्तै सम्भावना रहेको बताउँछन् ।रासस
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment