उनको पेशा नै यही हो । कल्पनाले एकतले घरदेखि लिएर व्यापारिक प्रायोजनका लागि बनाइएका ठूला महलहरुमा समेत रंग लगाइसकेकी छिन् । उनी आफ्नो पेशाबाट सन्तुष्ट रहेको बताउँछिन् । ‘यो रिक्सी काम त हो’, उनले अनलाइनखबरसँगको भेटमा भनिन्, ‘तर, मानिसलाई बाध्यताले सिकाउँदै लग्दोरहेछ । अहिले खुसी छु । डर लाग्दैन ।’ अहिले उनी उमेरले ३७ पुगिन् । करिब ६ वर्ष अघिबाट घरमा रङ्ग लगाउन सुरु गरेकी उनले अहिलेसम्म करिब १५ सय घरलाई रङ्िगन बनाइसकेकी छिन् ।
धेरै हण्डर खाएर उनी अहिले यो स्थितिमा आइपुगेकी हुन् । सुरुवाती दिनहरु उनका लागि अत्यन्तै संघर्षपूर्ण थिए । ती दिनहरुका बेग्लै कथा छन् ।
यसरी तुहिएको थियो सपना
१९ वर्षको कलिलो उमेरमा विवाह गरिन् । मध्यम वर्गको परिवार थियो । दुई छाक टार्नकै लागि कृषि पेशामा संलग्न थियो उनको परिवार । तर, त्यतिले मात्र पुग्ने कुरा भएन । उनले दुई वर्ष स्वयम्सेविकाको रुपमा पनि काम गरिन् । अझ धेरै पैसा कमाउन चाहन्थिन् कल्पना । आफूले जस्तो दुःख सन्तानले नपाउन् भन्ने उनको चाह थियो । दुवैको सल्लाहअनुसार श्रीमान् विदेश गए । श्रीमानलाई विदेश पठाएर उनले भविश्यको रङ्गीन सपना देख्दै गइन् ।
तर, उनको ती सपनाहरु धेरै टिकेनन् । उनका आशा र अपेक्षामाथि तुषारापात भए । श्रीमान् एयरपोर्टमा उत्रिँदा उनले थाहा पाइन्, जुनीजुनी साथ दिने वाचा गरेका श्रीमान् त अर्कैको पो भइसकेछन् ! विदेशमै हुँदा अर्की युवतीसँग श्रीमान् लागेछन् । र, नेपाल आएपछि उनीहरुसँगै बस्न थाले । अब कल्पनाका कष्टकर दिनहरु सुरु भए । उनले विदेश जाने निर्णय गरिन् । आफ्नै श्रीमान् अर्कै महिलासँग हिँड्दै गरेको दृश्य देख्नु उनका लागि अत्यन्त पीडादायी थियो । एक छोरा र एक छोरी हुर्किँदै थिए । उनीहरुको लालन पालनको जिम्मेवारी पनि काँधमा थियो । विदेश जानका लागि गाउँका भद्रभलाद्मीहरुको सहयोग माग्न थालिन् । तर, उनीहरुले विदेश नजान भनी सल्लाह दिए । ‘
त्यतिबेला मलाई सबैले विदेश नजानु भन्नुभयो’, उनले सुनाइन्, ‘त्यसपछि यहीँ केही कामको खोजीमा लागें ।’ उनले पानीट्याङ्कीबाट सामान गाउँमा ओसारेर बेच्ने काम थालिन् । सहारा बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर यो काम थालेकी थिइन् । तर, उनको यो खुशी पनि धेरै टिकेन । एक दिन प्रहरीले ठूलो परिणाममा उनको सामान पक्रियो । बल्लबल्ल दुईचार पैसा जोड्न थालेकी थिइन् ।
पुलिसले पक्रिएपछि उनको यो काम धर्मरायो । त्यसपछि पेशा नै परिवर्तन गर्नुपर्यो । केही दिन घरमै बसेकी थिइन् । एकजना साथीले ‘लेबर’ कामको प्रस्ताव लिएर आइन् । उनका लागि जसरी भए पनि पैसा कमाउनु आवश्यक थियो । छोराछोरीको सुन्दर भविश्य कोर्नु थियो । त्यसैले तत्काल यो काम गर्ने निर्णय लिइन् । र, थालिन् घर बनाउने ठाउँमा लेबरका रुपमा काम । दिनको दुई सय रुपैयाँ मात्र पाउँथिन् उनी । घर, चलाउनै धौधौ पर्थ्यो । यसरी एक वर्षसम्म उनले जसोतसो काम चलाइन् । त्यसपछि आफैं ठेकेदार बन्ने सोच आयो । र, सुरु गरिन्, रङ्गको ठेक्का लिन ।
१२ जनाले पाए रोजगारी
‘सुरुमा त महिलाले काम गर्न सक्दैनन् । विश्वास गर्नुहुँदैन भनेर मानिसहरुले भन्थे’, उनले सुनाइन्, ‘तर, अहिले मानिसहरुका सोचाइ परिवर्तन भएको छ । मैले कहिल्यै खाली बस्नु परेको छैन ।’ उनी आफ्नो मेहनत र अन्य सहकर्मीको साथले मानिसहरुको विश्वास जित्न सफल भएको धारणा राख्छिन् । मानिसहरुले तपाईंलाई के कारणले विश्वास गर्छन् ? तपाईंलाई नै ठेक्का किन दिने ?
उनी भन्छिन्- ‘अरुले जस्तो घाटा लाग्यो भनेर बीचमै काम छोडेर भाग्दिनँ । साहुको चित्त बुझाउँछु । भनेजस्तो फिनिसिङ गरेर मात्र जिम्मा लगाउँछु ।’ अहिले उनले १२ देखि २५ जनालाई रोजगारी पनि दिइरहेकी छिन् । ‘सामान्य अवस्थामा मसँग काम गर्ने १२ जना हुन्छन्’, उनले भनिन्, ‘कामको धेरै चाप भएका बेलामा चाहिँ २५ जनासम्म लिएर काम गरेको छु ।’ पछि उनको यो काममा छोराबुहारीले पनि साथ दिए । उनीहरु पनि अहिले कल्पनासँगै काम गरिरहेका छन् । ‘
रङ लगाउने पेशामा सन्तुष्ट छु’
अहिले उनी सामान्यतः महिनाको २१ हजार रुपैयाँ आम्दानी गर्छिन् । दिनमा ७ सय रुपैयाँ उनको पारिश्रमिक हो । साथै, उनीसँग काम गर्नेहरुले पनि दिनको ४ सय रुपैयाँ पाउँछन् । उनले ठेकेदारी गर्न थालेदेखि रामकृष्ण चौंलागाईं, निर्मल रेग्मी र बलराम राजवंशीले निरन्तर काम गरिरहेका छन् । उनीहरु आफ्नो कमाइबाट सन्तुष्ट छन् । उनीसँगै काम गर्नेमा अन्य तीनजना महिला छन् भने अरु सबै पुरुष छन् ।
सेफ्टी बेल्टविनै अग्लो घरमा
बिर्तामोड बसपार्कमा एउटा ठूलो घरमा रङ्ग लगाउनलाई ठेक्का मिल्यो । सुरुवाती दिनमै थिइन् उनी । काम सिकाइको प्रक्रियामै थिइन् । एक्कासी अग्लो ठाउँमा चढेर रङ्ग लगाउनुपर्ने भयो । बाँस बाँधेरमाथि चढ्ने बाटो बनाइयो । यति धेरै उचाइमा उनी पहिलोपटक चढेकी थिइन् । ‘सुरुसुरुमा त चढेपछि भुइँमै हेरिनँ’, गम्भीर हुँदै उनले भनिन्, ‘अहिले त डर लाग्दैन ।’ उनी सेफ्टी बेल्ड पनि नलगाई अग्लो अग्लो घरमा चढ्छिन् ।
‘बेल्ड त छ, तर, प्रयोग गर्दिनँ’, उनले सुनाइन्, ‘अफ्ठ्यारो हुन्छ ।’ य

सरी रङले पूरा गर्दैछ सपना
अहिले उनले अरुको घरमा रङ्ग लगाएरै आफ्नो घर सझाएकी छिन् । पहिले देखेका सपनाहरुलाई मूर्त रुप दिएकी छिन् । पर्यटकीय क्षेत्र दोमुखा आसपास तीन कठ्ठा जग्गा जोडेकी छिन् । टेक्रामा ७ धुर जमिन छ । छोराछोरीकै बिहे गरिसकिन् । सुन जोडिन् । स्कुटरमा हिँड्छिन् । पहिलो सहकारी र बैङ्कबाट ऋण मात्र लिने उनको खातामा अहिले पैसासमेत जम्मा छ । उनले एसियन र डुलक्स पेन्टस् प्रयोग गर्छिन् । प्रयोगको आधारमा कम्पनीले पोइन्ट दिन्छ । त्यो पोइन्टका आधारमा एसियन पेन्टले मोटरसाइकल दिन्छ । र, दुलक्स पेन्टले स्कुटी दिन्छ । यसरी उनले मोटरसाइकल र स्कुटी नै पारिसकेकी छिन् । हाल उनले बर्जर पेन्ट पनि प्रयोग गर्न थालेकी छिन् ।
बाध्यताले दिलायो सफलता
पहिले उनलाई उमेरमा पढिएन भनेर निक्कै पछुतो पनि लाग्थ्यो । तर, अहिले उनलाई जसरी भए नि बाँच्नु त रहेछ नि Û भन्ने लाग्छ । यद्यपि, पढ्दा समाजले राम्रो भनेको पेशा भने अगाल्न सक्ने उनी स्वीकार्छिन् । विभिन्न कारणले उनले एसएलसी दिन सकिनन् । त्यतिमै उनको पढाइ टुङ्गियो । ‘गर्न सक्दा आफ्नै देशमा अवसरै अवसर रहेछ’, उनले सुनाइन्, ‘अवसरको पहिचान गर्न नसक्दा म पनि झण्डै विदेशिनुपर्यो । अहिले त मलाई यही विदेश भएको छ ।’
छोरा मान्छेभन्दा पनि छोरी मान्छेचाहिँ विदेश नजानु भन्ने सन्देश अहिले उनी अरुलाई दिन्छिन् । पुष्टि गर्न उनलाई आफ्नै उदाहरण पर्याप्त छ । ‘पहिले त कहाँ टिक्छु होला र ! भन्ने पनि लाग्थ्यो’, हाँस्दै उनले सुनाइन्, ‘सँगै काम गर्नलाई लेबर पनि पाइन्छ कि पाइँदैन ! भन्ने थियो ।’ तर, बाध्यताका कारण उनले सुरु गरेको यो कामले सफलता दिलाइ छाड्यो । भन्छिन्, ‘अब मेरो यही पेशामा जिन्दगी बित्छ ।’
0 comments:
Post a Comment