काठमाडौं, १४ फागुन । काठमाडौं उपत्यकामा ‘अर्बन केबुलकार’ सञ्चालन गर्ने योजना कागजमै सीमित हुने भएको छ ।

सार्वजनिक यातायात साधनका रूपमा केबुलकार सञ्चालन गर्न कानुन नहुँदा ‘अर्बन केबुलकार’ सञ्चालनको प्रस्ताव अलपत्र परेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सात महिनाअघि उपत्यकामा अर्बन केबुलकार सञ्चालनका लागि पञ्चकन्या ग्रुप, कालिका कन्स्ट्रक्सन र एयर ट्राम एन्ड अर्बन केबुलले प्रस्ताव गरेका थिए ।

भौतिक योजना मन्त्रालयका निर्माण तथा यातायात महाशाखाका सिडिई नीरज शर्माका अनुसार अहिलेसम्म केबुलकार सञ्चालनसम्बन्धी प्रस्ताव अघि बढेको छैन ।

‘मास ट्रान्सपोर्ट’का लागि केबुलकारको सम्भाव्यता अध्ययन

सिडिई शर्माले उपत्यकामा ‘मास ट्रान्सपोर्ट’ गर्न सकिने भन्दै अर्बन केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइसकेको जानकारी दिए । तीनवटै कम्पनीले सम्भाव्यता अध्ययन सकेर अर्बन केबुलकार सञ्चालन गर्न प्रस्ताव पेस गरे पनि कानुन अभावमा प्रस्ताव अघि नबढेको उनले बताए ।

फ्रान्सेली सरकारको सहयोगमा ती देशका प्राविधिकहरूले केबुलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरेका थिए । ‘अर्बन केबुलकार सञ्चालनसम्बन्धी मन्त्रालयमा प्रस्ताव पेस भए पनि प्रस्ताव अघि बढेको छैन । किनकि केबुलकार सञ्चालनसम्बन्धी नेपालमा कानुन नै छैन,’ उनले भने, ‘विनाकानुन ठेकेदार कम्पनीलाई केबुलकार बनाउन दिनुभएन ।’

कसरी सञ्चालनमा छन् मनकामना र चन्द्रागिरि केबुलकार ?

हाल नेपालमा मनकामना र चन्द्रागिरि केबुलकार सञ्चालनमा छन् । चितवन कोईले मनकामना र चन्द्रागिरि हिल्सले काठमाडौंमा चन्द्रागिरि केबुलकार सञ्चालन गरिरहेका छन् ।

दुवै स्थानमा सञ्चालनमा आएका केबुलकार धार्मिक र पर्यटन विकासका लागि भनी जग्गा लिजमा लिइएको छ । निजी जग्गामा केबुलकार सञ्चालन भए पनि त्यसका लागि कार्यविधि मात्र बनेको सिडिई शर्माले जानकारी दिए । तर, सो कार्यविधि अझैसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

केबुलकारको केन्द्रीय स्टेसन रत्नपार्क

काठमाडौं उपत्यकामा सञ्चालन हुने भनिएको अर्बन केबुलकारको केन्द्रीय स्टेसन रत्नपार्कमा प्रस्ताव गरिएको छ । प्रतिवेदनअनुसार पहिलो चरणमा बौद्धनाथ मन्दिरदेखि विष्णुमतीसम्मको लाइनमा केबुलकार निर्माण गरिनेछ । चाबहिल, भण्डारखाल, डिल्लीबजार, रत्नपार्क, दरबार स्क्वायर र विष्णुमतीमा सबस्टेसन बस्ने उल्लेख गरिएको छ । बौद्धनाथदेखि विष्णुमतीसम्मको दूरी सात किलोमिटरको हुनेछ ।

केबुलकारमार्फत यात्रा गर्र्दा सो दूरी पार गर्न ३४ मिनेट २९ सेकेन्ड लाग्नेछ । भाडा प्रतिव्यक्ति ४० रुपैयाँ मात्रै लाग्ने प्रस्ताव गरिएको छ । प्रतिवेदनअनुसार बौद्धनाथदेखि विष्णुमतीसम्मको लाइनमा दुई सय ५० वटा कार राखिनेछ । प्रत्येक कारले १२ जना यात्रु बोक्न सक्नेछ ।

ती कारले प्रत्येक १५ सेकेन्डमा स्टेसन ओहोरदोहोर गर्नेछन् । प्रतिदिन ७० हजारभन्दा धेरै यात्रुलाई सुविधा दिन सक्ने तीनवटै कम्पनीले पेस गरेको प्रस्तावमा उल्लेख छ । केबुलकार सञ्चालनपछि उपत्यकाको ट्राफिकजाम ३० देखि ४० प्रतिशतले घट्ने र सवारी दुर्घटना, वायु तथा ध्वनि प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।

अन्य तीन स्थानमा पनि केबुलकार सञ्चालन

प्रतिवेदनअनुसार दोस्रो चरणमा केबुलकार लगनखेल–कुपन्डोल–त्रिपुरेश्वर हुँदै जमलसम्मको लाइनमा निर्माण गर्न सकिन्छ । त्यसबाहेक गाेंगबु नयाँ बसपार्क–बलाजु–ढल्कु–टंकेश्वर–झम्सीखेल–कलंकीको लाइनमा पनि सञ्चालन गर्न सकिनेछ । यस्तै, कलंकी–टंकेश्वर–जमल रुटमा पनि सञ्चालन गर्न सकिनेछ । प्रतिवेदनअनुसार सम्पूर्ण काम गर्न करिब तीन वर्ष लाग्ने र यसका लागि १० देखि १२ अर्ब रुपैयाँ खर्च हुनेछ ।

यसरी जुट्छ लगानी

एयर ट्राम एन्ड अर्बन केबलका अध्यक्ष श्याममोहन श्रेष्ठका अनुसार सरकारले इच्छाशक्ति देखाए केबुलकार सञ्चालन गर्न आवश्यक लगानी जुटाउन सजिलै सकिनेछ । यसका लागि अनौपचारिक रूपमा फ्रान्स सरकार, एसियाली विकास बैंक, विश्व बैंकलगायतका दातृ निकायसँग छलफलसमेत भएको उनले बताए । श्रेष्ठका अनुसार पब्लिक–प्राइभेट पार्टनरसिप (पिपिपी) मोडलमा जान सकिनेछ ।

‘सबै ठाउँमा सरकार एक्लैले लगानी गर्न सक्दैन । यसका लागि पिपिपी मोडल अपनाउनुपर्छ । यसले निजी लगानी भित्राउन सजिलो हुन्छ । ‘उपत्यकामा केबुलकार सञ्चालनका लागि लगानी गर्न धेरै निकाय तयार छन्,’ उनले भने, ‘हामीले विभिन्न चरणमा कुराकानी गरेका छौँ । सरकारले लगानीको वातावरण बनाउनुप-यो । त्यसो भए अबको तीन वर्षभित्रै उपत्यकामा केबुलकार चलाउन सकिन्छ ।’

मोनोरेलभन्दा सस्तो

एयर ट्राम एन्ड अर्बन केबलका अध्यक्ष श्याममोहन श्रेष्ठका अनुसार उपत्यकाको ‘मास ट्रान्सपोर्ट’का लागि मोनोरेलभन्दा केबुलकार सस्तो पर्छ । उनले २२ देखि २५ अर्ब रुपैयाँमा प्रस्तावित सबै ठाउँमा केबुलकार निर्माण गर्न सकिने दाबी गरे । ‘मोनोरेल निर्माण गर्न प्रतिकिमि कम्तीमा पनि ६ अर्ब लाग्छ । निर्माण गर्न पनि धेरै समय लाग्छ । तर, केबुलकार तीन वर्षभित्र निर्माण गर्न सकिन्छ,’ उनले भने, ‘अहिले मोनोरेलको चर्चा छ । महानगरपालिकाले सम्भाव्यता अध्ययन गर्न स्वीकृति पनि दिइसकेको छ । तर, मोनोरेलभन्दा केबुलकार सस्तो पर्छ ।’

यी हुन् अर्बन केबुलकार सञ्चालनको रुट

तीनवटै कम्पनीले गरेको सम्भाव्यता अध्ययनअनुसार बौद्ध–चाबहिल–गौशाला–डिल्लीबजार–रत्नपार्क पहिलो रुट, लगनखेल–कुपन्डोल–त्रिपुरेश्वर हुँदै जमलसम्मको लाइनमा दोस्रो रुट सञ्चालन गरिने उल्लेख छ । त्यस्तै, तेस्रो रुटमा गोंगबु नयाँ बसपार्क–बालाजु–ढल्कु–टंकेश्वर–झम्सीखेल–कलंकी र चौथो रुटमा कलंकी–टंकेश्वर–जमल हुँदै केबुलकार सञ्चालन गरिने प्रस्ताव छ ।

मन्त्रालयका अनुसार कानुन नै नभएकाले प्रस्तावित रुटको ‘राइट अफ वे’ कति रहने, जग्गा कसरी अधिग्रहण गर्नेजस्ता प्राविधिक पक्ष जटिल छन् । ‘उहाँहरूले फिजिबिलिटी अध्ययन गर्नुभएको छ । त्यसले निर्धारण गरेका रुट कति वैज्ञानिक छन् ? त्यसको अध्ययन हुन आवश्यक छ,’ मन्त्रालयका सिडिई नीरज शर्माले भने, ‘कानुन भए यी सबै पक्षको टुंगो लाग्ने थियो ।’

0 comments:

Post a Comment

 
Top