काठमाडौँ । बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप अन्तर्गत नेपालको लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले आज साबिकको बिजेता तथा आयोजक चितगोङ अवहनी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
चितगोङस्थित मोहम्मद अजिज रंगशालामा मनाङले समूह चरणको अन्तिम खेलमा आयोजक चितगोङ अवहनी लिमिटेडसँग खेल्न लागेको हो । मनाङ र आयोजक चितगोङ अवहनी लिमिटेडबिचको खेल नेपाली समय अनुसार अपरान्ह ३ : ४५ मा सुरु हुनेछ ।
समुह बि मा रहेको मनाङ साबिकको बिजेता चितगोङ अवहनी लिमिटेडसँग मैदान ओर्लदा जित्नै पर्ने दबाबमा हुनेछ । किनकि अघिल्लो एक खेलमा जित र एक खेलमा पराजय बेहोरेको मनाङको सेमिफाइनल प्रवेशको यात्रा यो खेलबाट तय हुनेछ । त्यसैले मनाङलाई चितगोङ अवहनी लिमिटेडविरुद्धको खेल ‘गर या मर’ को अवस्थामा रहने छ ।
“सेमिफाइनल प्रवेशका लागि हामी चितगोङविरुद्ध जित्नकै लागि खेल्नेछौं, अर्काे चरण प्रवेशका लागि जितको विकल्प छैन,“चितगोङविरुद्ध जित्नकै लागि खेल्ने बताउदै मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले भने, “अरुको गेममा निर्भर नरही आँफै जितेर सेमिफाइनलमा स्थान बनाउनेछौं ।”
यो खेल जिते मनाङले सेमिफाइनल यात्रा तय गर्ने छ । बराबरीको नतिजाले मनाङ अर्काे चरणका प्रवेशका लागि पर्याप्त हुने छैन । तर, आयोजक चितगोङ अवहनी लिमिटेडलाई भने मनाङविरुद्ध बराबरीको नतिजा निकाले सेमिफाइनल प्रवेश गर्नेछ ।
प्रतियोगिताको पहिलो खेलमा मनाङले मोहमोदेनलाई २–० ले पराजित गरेको थियो । तर, दोस्रो खेलमा मनाङ अफगानिस्तानको शाहिन अस्मायीसँग ३–१ ले पराजित भएको थियो । जसको कारण मनाङ एक खेल अगावै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको थियो । दुई खेलमा ३ अंक जोडेको मनाङ अंकतालिकाको तेस्रो स्थानमा छ । चार अंकसहित आयोजक चितगोङ अवहनी लिमिटेड शीर्ष स्थानमा छ । मनाङलाई गोलअन्तरमा पछि पार्दै शाहिम अस्मायी दोस्रो स्थानमा छ । शुक्रबार नै मनाङलाई पराजित गर्ने टोलि शाहिम अस्मायीले प्रतियोगिताको कमजोर देखिएको मोहमोदेनसँग खेल्दै छ । त्यसैले मनाङलाई यो खेल फाइनलसरह रहेको छ ।
यस्तै कप्तान अनिल गुरुङले जस्तै खेल भएको बताए । “हामीलाई सेमिफाइनल प्रवेशका लागि जितको खाँचो छ । बराबरीले हामी अर्काे चरणमा प्रवेश गर्न सक्दैनौ,” चितगोङविरुद्धको खेल फाइनल जस्तै रहेको कप्तान अनिल गुरुङले बताए । चितगोङसँगको खेल मनाङको लागि फाइनलसरह भएको बताउदै कप्तान गुरुङले भने, “घरेलु टोलीलाई घरेलु मैदानको फाइदा छ । उनीहरुलाई बराबरी नै पर्याप्त छ । तर, हामीलाई तीन अंक महत्वपूर्ण छ, आशा छ हामीले तीन अंक लिन सक्नेछौं ।” त्यस्तै कप्तान गुरुङले विपक्षी टिमको अग्रपङ्ती राम्रो रहेकाले उनीहरुलाई रोक्न सके जित कठिन नहुने बताए । बाह्रखरीको सहयोगमा
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment