फागुन १७ , नुवाकोट – त्रिशूलीस्थित राममन्दिर पुनःनिमाणका लागि स्थानीयवासीले रु ६५ लाख जुटाएका छन् । भूकम्पले भत्काएको मन्दिर दुई वर्ष पुग्न लाग्दा पनि सरकारी निकायबाट पुनःनिर्माणमा चासो नदिइएका कारण स्थानीयवासीले ‘रामचरित्र मानस’ वाचन गरेर रकम जुटाएका हुन् । रामचरित्र मानस कथा वाचन कार्यक्रमको आयव्यय सार्वजनिक गर्दै राममन्दिर संरक्षण समितिले सबै खर्च कटाएर रु ६५ लाख ७३ हजार बचत भएको जनाएको छ । समितिका संयोजक धनबहादुर श्रेष्ठका अनुसार रामचरित्र मानसमा रु ७४ लाख ३३ हजार सङ्कलन भएको थियो । पहिलेको पश्चिम १ नं भनिने नुवाकोट, धादिङ र रसुवाकै सबैभन्दा पुरानो बजार र केन्द्रका रुपमा लिइने त्रिशूली बजारबासीको आस्थाको केन्द्र रहेको राममन्दिर पुनःनिर्माणमा सरकारले बेवास्ता गरेको कारण स्थानीयवासी जुट्नुपरेको राममन्दिर संरक्षण समितिका सचिव नारायण श्रेष्ठले बताए । मन्दिर पुनःनिर्माणका लागि रु एक करोड ३० लाख लाग्ने प्राविधिकले अनुमान गरेका छन् । समितिले मन्दिर पुनःनिर्माणका लागि थप रकम जुटाउन र पुनःनिर्माणमा प्राथमिकतामा राख्न सरकारी निकायलाई आग्रह गरेको छ ।


0 comments:

Post a Comment

 
Top