भारतीयले बालुवा तस्करी गर्दै आएको खोला देखाउँदै स्थानीय।

वीरगन्ज: नेपाली भूमिमा छिरेर खोलाबाट बालुवा तस्करी गर्ने भारतीयलाई रोक्न प्रहरीले चासो नदेखाएपछि पर्साको पिडारी गुठी गाविसका स्थानीयवासी आफै भारतीयलाई धपाउन सक्रिय भएका छन् ।पिडारीगुठी गाविसमा पर्ने ओरिया खोलामा बिहीबार बालुवा तस्करी गर्न आएका भारतीयलाई स्थानीयले लखेटेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
नेपाल–भारत सीमामा रहेको पिडारीगुठी गाविस १ स्थित ओरिया खोलामा बिहीबार बिहान करिब ३०÷३५ वटा ट्र्याक्टर लिएर बालुवा उत्खनन् गर्न करिब दुई सयको संख्यामा भारतीय आएका थिए ।नेपालतर्फको भूमिमा पर्ने खोला र खेतमा बालुवा उत्खनन गर्न आएका भारतीयलाई पिडारीगुठीवासीले धपाउने क्रममा दुवै पक्षबीच झडप पनि भएको छ ।
झडपमा भारतीयले हानेको ढुंगा लागेर पिडारीगुठी गाविस १ का चारजना घाइते भएका छन् । झडपमा जलेश्वर साह, तपेश्वर दास थारू, शिवप्रसाद महतो नुनिया र हीरालाल हजरा घाइते भएका हुन् । साहको टाउकोमा आठवटा टाँका लगाइएको छ । झडपका क्रममा पिडारीगुठीवासीले भरुवा बन्दुकबाट दुई राउन्ड हवाई फायर पनि गरेका थिए । उनीहरूले भारतीयको दुईवटा ट्र्याक्टर तोडफोड पनि गरेका छन् ।
भारतीयले अचानक ढुंगामुढा गर्न थालेपछि प्रतिकारमा नेपालीहरूले पनि उनीहरूमाथि लठी र ढुंगामुढा प्रहार गरेको स्थानीय कारी चौधरीले बताए ।स्थानीयले दुई राउन्ड हवाई फायर गरेपछि भारतीयहरू ट्रयाक्टर लिएर खोलाबाट भागेको प्रत्यक्षदर्शी करिमन चौधरीले बताए । घटनास्थलबाट प्रहरीचौकी पिडारीगुठी पाँच सय मिटरको दूरीमा भए पनि प्रहरी झडप भएको एक घन्टापछि मात्र घटनास्थलमा पुगेको चौधरीले बताए ।
पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले भने ओरिया खोलामा भारतीयहरूले नेपाली भूमिभित्रै पसेर बालुवा उत्खनन गर्न थालेपछि पिडारीगुठी गाविसका स्थानीयले रोक्न खोज्दा केहीबेर तनाव भएको बताए । भारत र नेपाल दुवैतर्फका सुरक्षाकर्मी घटनास्थलमा पुगेपछि स्थिति सामान्य बनेको उनले जनकारी दिए ।
यसअघि गत भदौ २९ गते पनि नेपाली भूमिमा छिरेर बालुवा तस्करी गरेका भारतीयको आक्रमणबाट सशस्त्र प्रहरी हबल्दार राजकुमार माझी र स्थानीय प्रभु चौधरी घाइते भएका थिए ।

0 comments:

Post a Comment

 
Top