लमजुङ, फागुन ११ – मंगोल अनुहार । कालो टोपी । लुङ्गी । हातमा बाँसको लौरो । त्यही, लौराको सहारामा बुहारीको साथमा लमजुङ, दुवर-१ की ७४ वर्षकी श्रीमाया थापा मगर चार घण्टा बढी समय लगाएर हिँडेर दलालको चिप्लेटी आउनुभयो । घरबाटै ओहोर-दोहोर गाडी गुँड्छन् ।

उहाँलाई गाडी चढ्न मन पटक्कै लाग्दैन । गाडी चढ्दा उहाँको मन डराउँछ । त्यसैले ढल्किँदो उमेरमा पनि हिँडेरै गाउँदेखि चिप्लेटीसम्म आउनुभएको हो । कतै टाढा जानुपर्दा पनि प्रायः उहाँ गाडी नै चढ्नु हुन्न । हिँडेरै जान खोज्नुहुन्छ ।
गाडी चढ्न मन नलागे पनि कहिलेकाँही गाडी नचढी सुखै हुँदैन, उहाँलाई । उहाँ हातमा राखेको स्टील निकाल्नका लागि सदरमुकाम बेँसीशहरमा रहेको जिल्ला सामुदायिक अस्पताल जादैँ हुनुहुन्थ्यो । गाडी चढ्ने मन नहुँदानहुँदै पनि छिट्टै अस्पताल पुगी, उपचार गरी घर फर्कने आशामा उहाँ बुहारीको साथमा चिप्लेटीमा गाडी कुर्दै हुनुहुन्थ्यो ।
मध्यान्ह १२ बजे श्रीमायालाई बुहारी चन्द्रमायाले बस चढाउनुभयो । बसमा उहाँले असहज मान्नुभयो । बसको पछाडि सिटमात्रै खाली थियो । हात समाउँदै चन्द्रमायाले सासु श्रीमायालाई बसको पछाडि लग्नुभयो । उहाँलाई सजिलोसँग बसाउनुभयो । तर श्रीमायाले डरले दुवै आँखा बन्द गर्नुभयो ।

बस रोकिँदा उहाँ आँखा खोल्नुहुन्थ्यो । बस गुड्दा आँखा चिम्लने । बसका थुप्रै यात्रुले उहाँतिर नजर लगाए । आधा घण्टामा गाडीले बेँसीशहर शेरा पुर्यायो, गाडीबाट ओर्लेपछि मात्रै उहाँले सजिलो महसुस गर्नुभयो । ढुक्कको सास फेनुभयो, ‘बल्ल पुगियो ।’
बुहारी चन्द्रमायाले भन्नुभयो ‘सासुआमा गाडी चढ्न मान्नु हुँदैन, काँही जानु परे हिँडेरै जान खोज्नुहुन्छ, घरको आँगनबाटै ओहोर–दोहोर मोटर गुँड्छ, तर उहाँलाई गाडी चढ्न मन पर्दैन, गाडी चढी यात्रा गर्न डराउनुहुन्छ ।’
बसबाट ओर्लदैँ गर्दा एक वृद्ध यात्रुले भने, ‘हाम्रा समाजमा अझैँ पुराना शैली मन पराउने मान्छे छन् ।’ तीनले अघि थपे, ‘ऊ बेला नूनतेलका लागि ठोरीसम्म हिँडेरै पुगिन्थ्यो, अहिले त सुखसुविधा भए, पाँच मिनेटको बाटोमा पनि गाडी चढ्छन्, हिँड्न खोज्दैनन् मान्छेहरु ।’ उज्यालो अनलाइनको सहयोगमा

0 comments:

Post a Comment

 
Top