– नरेश केसी
भैरहवा, १५ फागुन । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएको अढाई महिनापछि प्रहरीले घटनामा संलग्न भएको भन्दै केही अभियुक्तहरुलाई सार्वजनिक गरेको छ ।
दुर्गाको हत्या आफूले गरेको भनेर सार्वजनिक रुपमा धम्की दिने मनोज बुढा नै हत्याको मुख्य योजनाकार भएको भन्दै प्रहरीले मनोज बुढाको समुह र हत्यामा संलग्न ७ जना व्यक्तिहरुलाई सार्वजनिक गरेको हो । हत्याको मुख्य योजनाकार मनोज बुढा नै रहेको प्रहरीको निश्कर्ष भएको रुपन्देही प्रहरी प्रमुख रवीन्द्र धानुकले जनाए ।
प्रहरीले हत्यामा संलग्न भएको अभियोगमा देवदह नगरपालिका ६ का ३१ बर्षीय बसन्त बहादुर चापागाई, तिलोत्तमा नगरपालिका १५ का २७ बर्षीय बुद्धीसागर यादव र उनका भाइ राजेश यादव, तिलोत्तमा ८ का ३३ बर्षीय प्रयास भनिने खेमानन्द भट्टराई, देवदह ८ का २३ बर्षीय सागर थापा, नवलपरासीका २८ बर्षीय अगंद थारु र देवदहका २८ बर्षीय ऋषिश्वर कुमाललाई सार्वजनिक गरेको हो ।
प्रहरीको अढाई महिनाको अनुसन्धानले मनोजको निर्देशनमा दुर्गाको हत्या भएको निश्कर्ष निकालेको हो । प्रहरीका अनुसार तिवारी हत्यामा देवदह नगरपालिका ६ का २९ बर्षीय मनोज पुन भन्ने मनोज बुढामगर मुख्य योजनाकार रहेको प्रहरीको दावी छ । उनीसहित उक्त घटनाका योजनाकारहरु भनिएका सिद्धार्थ नगरपालिका १३ का ४० बर्षीय बिकास भन्ने सोमबहादुर आले, बारा गढीमाई नगरपालिका १ का ३० बर्षीय श्याम गुरुङ्ग, सुटर बिस्तृत ठेगाना नखुलेका राजु, हातहतियार तथा गोली दिने देवदह ३ का २७ बर्षीय तुल बहादुर सिंजाली फरार भने अझै फरार रहेका छन् । प्रहरीले हत्यामा प्रयोग गरिएको लु २८ प २११९, लु २५ प ८४४१ र बा ५१ प ८०७३ नम्वरको मोटरसाइकल र पेस्तोल समेत बरामद गरेको छ ।
हत्याका योजनाकार पक्राउ पर्लान ?
प्रहरीले दुर्गा तिवारीको हत्यामा संलग्न भएको भन्दै विभिन्न ७ जना व्यक्तिहरुलाई आइतबार सार्वजनिक गर्यो । देवदहकै मनोज बुढाको निर्देशनमा हत्या भएको निश्कर्ष निकाल्दै प्रहरीले देवदह नगरपालिका ६ का ३१ बर्षीय बसन्त बहादुर चापागाई, तिलोत्तमा नगरपालिका १५ का २७ बर्षीय बुद्धीसागर यादव र उनका भाइ राजेश यादव, तिलोत्तमा ८ का ३३ बर्षीय प्रयास भनिने खेमानन्द भट्टराई, देवदह ८ का २३ बर्षीय सागर थापा, नवलपरासीका २८ बर्षीय अगंद थारु र देवदहका २८ बर्षीय ऋषिश्वर कुमाललाई सार्वजनिक गर्दै उनीहरु विरुद्ध मुद्धा दर्ता गर्दै सर्वस्व सहित जन्मकैदको माग गरेको छ ।
प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गरिरहँदा त्यस घटनाका मुख्य योजनाकार भनिने मनोज बुढा भने अझै फरार रहेका छन् । घटना घटेको केहि घण्टामै मनोजले फोन मार्फत मिडिया र दुर्गाका आफन्त तथा साथीभाईलाई फोन गरी हत्या आफूले गरेको बताएका थिए । यसरी फिल्मी शैलीमा हत्याको जिम्मा लिएको व्यक्ति अझै पनि पक्राउ नपर्दा भने रुपन्देहीबासी सशंकित भएका छन् ।
प्रहरी स्रोतका अनुसार मनोज अहिले भारतको बम्बईमा गुण्डाराज चलाउदै आएका उदय सेठ्ठीको ग्यांगमा रहेको बुझिएको छ । सेठ्ठी कर्तव्य ज्यान मुद्धामा नेपालमा जेल सजाय भोगिरहेका छन् । उनी जेलमा भएता पनि उनको समुहले बम्बईमा चन्दा असुलीलाई तिब्रता दिएको छ ।
प्रहरी रिपोर्टमा युवा संघको असन्तुष्टि
रुपन्देही प्रहरीले दुर्गा तिवारीको हत्याका अभियुक्तहरु सार्वजनिक गरिरहदा भने युवा संघ नेपालले असन्तुष्टि व्यक्त गरेको छ ।
संघका सचिवालय सदस्य देवराज पोखरेलले प्रहरीले विशुद्ध राजनीतीक घटनालाई तोडमोड गरेर सामन्यीकरण गरेको भन्दै आक्रोश व्यक्त गरे । पोखरेलले भने ‘युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष तिवारीको हत्याको मुख्य कारण राजनीति हो । उनी अखण्ड ५ नम्बर प्रदेशको आन्दोलनको मोर्चा सम्हालिरहेको अवस्थामा जुन हत्या भयो त्यो अत्यन्तै विखण्डनकारी र राष्ट्रघाति तत्वबाट भएको हो । रह्यो कुरा मनोज पुनको, उसलाई त्यस्ता गलत तत्वले प्रयोग मात्रै गरेका हुन् ।’
युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष राजु गुरुंगले मुख्य हत्यारालाई जोगाउन प्रहरीले झाडा टार्ने काम गरेको आरोप लगाए । उनले प्रहरीको रिर्पोटप्रति आक्रोस व्यक्त गदै भने युवा संघको आक्रोसलाई साम्य पार्न प्रहरीले यसो गरेको भएता पनि हामी यसलाइ कदापी स्वीकादैनौं । दुर्गा तिवारीको हत्या सिंगो पाटिसंग जोडिएको घटना हो । यसलाई व्यक्तिगत प्रतिशोधसंग जोडेर लैजानु कदापी स्वीकार्य हुदैंन । प्रहरीले यदी मुख्य हत्यारालाई पक्राउ गरेनन भने सिंगो युवा संघ र एमाले पार्टि नै हत्यारालाइ खोजी खोजी कारबाहि गर्न बाध्य हुनेछ ।
तिवारीको हत्या पुस ४ गते देवदहमा दिउसों साढे ३ बजे भएको थियो । उनको हत्या भएपछि एमाले अध्यक्ष ओली उनकै निवास अगाडी आयोजित श्रदान्जली सभालाई सम्बोधन गदै दुर्गाको हत्यारालाई कारबाहि गराएरै छाड्ने प्रतिबद्धता जनाएका थिए । दुर्गाको हत्या भएपछि नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याल समेत तिवारीको घरमा आई सान्तनवा दिएका थिए भने प्रहरीले एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा उच्चस्तरीय छानवीन आयोग नै गठन गरेको थियो । सो आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन ।




0 comments:
Post a Comment