काठमाडौं, फाल्गुन १६ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको बहस समाप्त गर्ने तयारीमा रहेको बताएका छन् ।
‘अब लोडसेडिङको बहस गर्नुपर्दैन,’ काठमाडौंमा गोगो फाउण्डेसनको सम्मान लिएपछि घिसिङ भन्दैथिए, ‘अब लोडसेडिङ मुक्त गर्छौं ।’ उनले भारतबाट गत वर्षभन्दा ५० मेगावाट थप भएको भन्दै आफूले ‘क्राइसिस मेनेजमेन्ट’मात्रै गर्दा अहिलेको सफलता हात परेको बताए ।
घिसिङले विस्तारै नेपाल विद्युतमा आत्मनिर्भर हुँदै गएको उल्लेख गरे । ‘दुई वर्षभित्र ८–९ सय मेगावाट थप हुन्छ,’ उनको प्रक्षेपण छ, ‘तीन वर्षमा १२–१५ सय मेगावाट थप हुन्छ ।’
घिसिङले दुई वर्षपछि बिजुली खपतको मात्रा बढाउनुपर्ने बताउँदै त्यसका लागि आफूले नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्सलगायतलाई चिठी लेखेर प्रतिबद्धता मागेको उल्लेख गरे ।
काठमाडौंलाई लोडसेडिङमुक्त गरेपछि सकारात्मक प्रतिक्रिया पाएको उल्लेख गर्दै उनले त्यही बलमा आफूले पोखरा, चितवनलाई पनि लोडसेडिङमुक्त गरेको बताए । उनले तराईमा पनि करिव करिव लोडसेडिङ अन्त्य हुनेक्रममा रहेको बताए ।
घिसिङले लोडसेडिङ नहुँदा उद्योग, स्वास्थ्य, सञ्चारलाई प्रत्यक्ष लाभ भएको बताए । उनले उदयपुर सिमेन्ट उद्योग १७ वर्षपछि नाफामा गएको उल्लेख गरे ।
Source: eKantipur

0 comments:

Post a Comment

 
Top