कञ्चनपुर, १६ फागुन । प्रायः कुनै पनि व्यक्ति आफ्ना घरपरिवारको खुसीको लागि स्वदेशमा रोजगार नपाएर रुपैंयापैसा कमाउन अर्काको देशमा गएर कुनै पनि दुःख कष्ट झेल्न पछि पर्दैनन् । तर घरपरिवारले विदेशमा रहेका आफन्तको पीडा नबुझिदिदा केहि व्यक्तिहरुको जीवन ज्यादैँ नै तनावमय र बिजोग हुने गर्दछ ।
कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौरा अचेल यस्तै तनावमा छन् ।
चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि उनकोे बिजोग भएको छ ।
मलेसियामा चार वर्ष दुःख गरेर कमाएको रु. १० लाख र घरभित्र रहेका सबै गरगहना लिएर ३९ वर्षीया श्रीमती मञ्जुदेवी भागेपछि डगौरा बिजोगमा परेका हुन् ।
दुई छोरा र एक छोरीकी आमा रहेकी मञ्जु भोजराज मलेसियाबाट फर्कनुभन्दा तीन दिनअघि मात्रै नगद र गरगहना लिएर भागेकी हुन् ।
माइतीमा रहेकी बज्यैलाई भेट्न भनेर गएकी उनी बेलौरी नगरपालिका–७ भकुण्डाका खुसिराम डगौरासँग भागेर गएको भोजराजले बताउनुभयो ।
विदेशमा छँदा मेरै घरमा खुसिरामको आउजाउ बढेको रहेछ उहाँले भन्नुभयो – “उनले श्रीमतीसँगै कमाएको पैसासमेत लगेका छन् ।” उहाँले भन्नुभयो – “भगाएर लगेकी श्रीमतीलाई उनले नै लुकाएर राखेका छन् ।” खुसिरामविरुद्ध भोजराजले जिल्ला अदालत, कञ्चनपुरमा मुद्दासमेत दायर गर्नुभएको छ ।
भोजराजले बूढीआमाको ज्येष्ठ नागरिक भत्ताबापतको रु १० हजार, छोरीको कानमा लगाएको आधा तोला सुन, घरमा रहेको अरु अढाइ तोला सुन र वृद्ध आमाको सुनको फुलीसमेत निकालेर लगेको बताउनु भयो ।
विदेशबाट प्रतिमहिना आइएमई गरेर पैसा पठाउँथेँ उनले बैंकमा पैसा राख्दै आएको जवाफ दिन्थिन् उहाँले भन्नुभयो – “विदेशबाट फर्केर बैंक खातामा हेर्दा रु एक लाख ८८ हजार नगद रकम मात्रै फेला परेको छ ।”
विगतमा पुरुषहरुले घरेलु महिला हिंसा गर्ने गरेको घटनाहरु सार्वजनिक हुने गरेको बेलामा आजकल बैदेशिक रोजगारीमा गएका पुरुषहरु आफ्ना श्रीमतिबाट पीडित हुने गरेको घटनामा वृद्धि भएको पाइन्छ ।कर्णाली न्यूजको सहयोगमा

0 comments:

Post a Comment

 
Top