डिभिजन सडक कार्यालयले स्थानीयको विरोधका बाबजुद हेटौँडा बजार क्षेत्रको बजार विस्तारलाई निरन्तरता दिएको छ । स्थानीय व्यवसायीले सडक विस्तारको विरोधमा आइतबार मकवानपुर बन्द आह्वान गरे पनि प्रहरी परिचालन गरी बुद्धचोकबाट सडक विस्तार थालिएको थियो । मुआब्जा र क्षतिपूर्ति दिनुपर्ने माग राख्दै हेटौँडाका व्यवसायीले सडक विस्तारमा अवरोध गर्दै आएका छन् ।
व्यवसायीको आह्वानमा गरिएको बन्दका क्रममा बजार क्षेत्रका पसल ठप्प पारिएको थियो भने यातायात, कलकारखाना र सरकारी शैक्षिक संस्था सञ्चालनमा रहे ।
विरोधकर्ता पक्राउ
बन्द आह्वान गर्दै विरोधमा उत्रिएका मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष तथा हेटौँडा बसोवास संरक्षण समिति संयोजक राजकुमार न्यौपानेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको थियो । न्यौपानेसँगै व्यवसायी धर्मकृष्ण श्रेष्ठलाई पनि पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता वामदेव गौतमले बताए । सडक विस्तारको विरोधमा चौकीटोल सिरानमा युवाले टायर बालेर अवरोध गरेका थिए । त्रिभुवन राजपथअन्तर्गत चौकीटोलमा पनि सडकमा बालुवा खन्याएर बन्द गरिएकोमा प्रहरीले हटाएको हेटौँडा–२ चौकीटोलका किशोर ढकालले बताए ।
आदेशबाहेकका घरमा डोजर
यसअघि हेटौँडाका सरकारी कार्यालय र चाइना क्वार्टरका निजी घरसमेत भत्काइसकिएको छ । डिभिजन सडकले ४ माघदेखि २५ मिटर फराकिलो पार्ने अभियान सुरु गरेको थियो । व्यवसायीको अवरोधका कारण केही समय सडक विस्तार रोकिए पनि आइतबारबाट तीव्रता पाएको छ । केही समयअघि मुआब्जा र क्षतिपूर्ति माग राख्दै व्यवसायीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले तत्काल नभत्काउन अन्तरिम आदेश दिएकाबाहेक घर भत्काउन थालिएको डिभिजन सडक कार्यालय हेटौँडाका प्रमुख आशुतोष कर्णले जानकारी दिए ।
केही समयदेखि रोकिएको सडक विस्तारको काम आइतबार सुरु भएको थियो । सोही क्रममा आइतबार बिहान प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा बर्साएका थिए भने प्रहरीले पनि प्रदर्शनकारीमाथि बल प्रयोग गरेको थियो । कार्यालयले कामले तीव्रता पाउने बताइरहँदा आन्दोलनरत पक्षले भने सोमबार बन्द आह्वान गरेको हो।
दोहोरो मुआब्जा नपाउने सडक डिभिजन कार्यालयका प्रवक्ता जयराम अधिकारीले सडक विस्तारले तीव्रता पाउने बताए । उनले हेटौँडाको सडक विस्तारले मुलुकभर एउटा पाठ सिकाएको भन्दै कानुनभन्दा बाहिर गएर कुनै पनि काम नभएको दाबी गरे । उनले पहिले नै मुआब्जाका विषय टुंगिसकेकाहरूलाई दोहोरो मुआब्जा दिन नसकिने स्पष्ट पारे ।
बुद्धचोकमा रहेको ट्राफिक प्रहरीको भवन भत्काउने काम जारी रहँदा हेटौँडाका व्यापारी र घरधनी भने आन्दोलनमा उत्रिएका थिए । निजी घर नभत्काउने भनिएपछि आन्दोलनकारी घर गएको मौकामा सडक कार्यालयले राप्तीरोडका निजी दुईवटा घरका टप भत्काएको थियो । फागुन १२ गते सर्वोच्च अदालतले गर्ने फैसलापछि सबै घर पूर्ण रूपमा भत्काइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।
अधिकांश घरटहरा खाली
डिभिजन सडकले घर खाली गर्न सूचना दिएकाले धेरै निजी घरटहरा खाली भइसकेको जनाइएको छ । आइतबार बिहान हेटौँडाको बुद्धचोकमा रहेको ट्राफिक भवन भत्काइएको थियो । संरचना भत्काउने खबर पाएसँगै मेनरोड र राप्तीरोडका पसल बन्द भएका छन् । बजारमा प्रहरी र सर्वसाधारणको बाक्लो उपस्थिति थियो । झडप हुने त्रास सर्वसाधारणमा छ ।कर्णाली न्यूज को सहयोगमा

0 comments:

Post a Comment

 
Top