बाजुरा, १२ फागुन - जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रशासन कार्यालय जानेबाटो अलि उकालोतर्फ लाग्छ।
उकालो काटेपछि जिल्ला प्रशासन कार्यालय देखिन्छ। उकालोसँगै रहेको जिल्ला प्रशासन जाने बाटोमा बायाँतर्फ एक सानो भाडामा बस्ने छाप्रो रहेको छ। त्यही छाप्रोमा जुत्ता सिलाउँदै जिल्लाको बाँधु-३ घर भएका ४० वर्षीय कल्चु सार्कीका २० वर्ष बितेका छन्। उनका दिन च्यातिएका जुत्ताचप्पल सिलाउँदै बितेका छन्।
अठार वर्षको कलिलो उमेरमा कोही साथी स्कुल पढ्न थाले त कोही बिहे गरी अन्य व्यवसायतिर लागे। उनी भने कोल्टीमा जुत्ता सिलाइको तालिम लिन थाले। सानैदेखि उनी अपाङ्ग थिए। उनका हात चल्छन् तर खुटृा नचल्ने भएकाले हिडडुल गर्न सक्दैनन्। त्यसैले पनि उनी भारतमा जान सकेनन्। उनले जुत्ता सिलाउने तालिम पाएपछि सार्कीको जीवनको सहारा बनेको हो। उनी जन्मेपछि सानै उमेरमा आमाबुबाको स्वर्गारोहण भएको थियो भने उनी टुहुरा बनेका थिए। तर उनलाई दाजु र भाउजूले समेत साथ दिनुको साटो घरबाट निकालिदिएको उनले गुनासो गरे।
साथीहरु स्कुल पढ्न थाले तर उनले भने जुत्ता सिलाउने तालिम लिएर कोल्टीमा ३ वर्ष जुत्ता सिलाएका थिए। उनी २०५४ सालमा सेनाको सहयोगमा नेपाली सेनाको हेलिकप्टरमा कोल्टीबाट सदरमुकाम मार्तडीमा आएका थिए। व्यवसाय सुरु गर्नका लागि जुकोट गाविसका नरबहादुर शाहीसँग रु पाँच हजार हुँदै रु १६ हजार सम्म ऋण लिए। व्यवसाय सुरु गरेपछि शाहीको साँवा र ब्याज गरी रु ३२ हजार ऋण तिरेका थिए।
सुरुमा बजार कम विस्तार भएको थियो। तर पछि आएर जनआन्दोलन सुरु हुने बेलाभन्दा अगाडि नेपाली सेना, नेपाल प्रहरीलगायत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी चुँडिएका च्यातिएका जुत्ताचप्पल सिलाउन आउनेको लाइन हुन्थ्यो। कुनै समय च्यातिएका जुत्ता सिलाएर उनले दैनिक रुपमा १८ हजार पनि कमाए। पहिले दैनिक रु १८ हजार कमाउने कल्चु सार्की अहिले भने व्यापार घटे पनि चुँडिएका जुत्ता सिलाएर मासिक रु १६ हजार कमाउने गरेका छन्।
उनले बिस्तारै विभिन्न तालिम लिँदै गए तालिम लिएपछि जुत्ता सिलाएर जीवन चल्ला भनेर। उनी आफ्नो पेसाप्रति पूर्ण सन्तुष्ट छन्। कल्चुले २० वर्ष जुत्ता सिलाएर गुजारा मात्र चलाएनन्, आफ्ना एक छोरा र एक छोरीलाई जिल्लाकै हैसियत राख्ने विद्यार्थी बनाउने सोचमा रहेका छन्।
जेठी छोरी मालिका उच्च माविमा कक्षा ८ मा अध्ययन गर्दैछिन् । उनको छोरा बोर्डिङमा नर्सरीमा अध्ययन गर्दै आइरहेका छन् । सदरमुकाममै पनि पहिले गाउँमा सिकेको र तालिम लिएको सीप देखाउँदा तल्लो जातिको भनेर धेरैले नकारात्मक दृष्टिले हेर्ने गर्थे । घरका पुराना दिनहरु सम्झन थाले तर अहिले जिल्लाका कार्यालय प्रमुखदेखि नेता, पत्रकार र सुरक्षा निकायका उच्च तहकाले पनि सम्मान गर्न थालेका छन् ।
उनले आफूले मात्र सीप सिकेनन् । आफूसँग भएकी धर्मपत्नीलाई समेत जुत्ता सिलाउन सिकाएका छन् । आफू कामको सिलसिलामा जिल्लाबाहिर गएका बेला आफ्नी श्रीमतीले सघाउने गरेको उनी बताउछन्। उनी भन्छन्, “व्यवसाय गरेर मात्र केही हुँदैन। ग्राहकलाई शिष्ट व्यवहार गर्नुपर्छ। सार्कीको पेसाबाट पत्नी र छोराछोरी खुसी छन्।”
सदरमुकाम मार्तडीमै च्यातिएका जुत्ताचप्पल सिलाएर सार्कीले नेपालगन्जको वनकटुवा गाविसमा डेढ कट्ठा घरेडी लिएका छन् । डेढ कट्ठा जमिन घर बनाउनका लागि रु साढे १३ लाखमा किनेका छन् । उनले अब बाजुरामा भन्दा नेपालगन्जमा जुत्ता सिलाइको उद्योग खोल्ने सोच बनाएका छन् ।
फाटेका जुत्ता सिलाउँदै उनको जीवन बितिसकेको छ । तर उनका छोरा र छोरी अझै आफ्नो खुट्टामा उभिन सक्ने भएका छैनन् । उनीहरुलाई आफूले चाहेको जस्तो बनाउन मैले जुत्ता सिलाएर पढाउनुपर्ने भएको छ, उनी भन्छन् ।
उत्तरी भेगको दुर्गम बाँधु-३ घर भएका कल्चु सार्कीले जीवनभरि सानै उमेरदेखि गाउँमा फाटेका जुत्ता सिलाउन सिकेका र विमानस्थल भएको कोल्टीबजार हुँदै हाल सदरमुकाम मार्तडीमा चार जनाको परिवार पाल्दै आएका छन्। सदरमुकाम मार्तडीमा महँगी खेपिनसक्नु भएको उनी बताउँछन्।
त्यसमा पनि सम्पूर्ण घर खर्च जुत्ता सिलाएर जीवन धानेको उनी बताउँछन् । अहिले सदरमुकाम मार्तडीमा जुत्ता सिलाउने दुईवटा पसल मात्र रहेका छन् । उनी अरूको घरमा बसेर मासिक रु ६ सय भाडा तिर्ने गरेका छन् । विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही व्यवसाय गर्दा सजिलो हुने गरेको अनुभव उनी सुनाउँछन् । रासस
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment