विराटनगर: ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकमा ऊर्जा क्रान्ति सुरु भएको बताएका छन् ।
उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा आजदेखि एक साताका लागि सुरु भएको विराट एक्स्पो ०७३ को उद्घाटन गर्दै उनले ऊर्जा क्षेत्रमा क्रान्ति नगरी औद्योगिक क्षेत्रमा क्रान्ति सम्भव नरहेको स्पष्ट पारे ।
उनले चालु आर्थिक वर्षमै चार-पाँचवटा जलासययुक्त परियोजना सुरु गर्ने सोचाइका साथ कार्य भइरहेको जानकारी गराए ।
पूर्वी तराईमा आतङ्कका रुपमा देखिएको कोसी नदीबाट ठूलो परिमाणमा विद्युत् उत्पादन गर्ने प्रक्रिया सुरु भइसकेको शर्माले उल्लेख गरे ।
मन्त्री शर्माले सप्तकोसीअन्तर्गतका भोटे, तमोर र अरुण नदीलाई पहाडी क्षेत्रमा नियन्त्रण गरेर विद्युत् उत्पादन गरेपछि तराईमा कोसीको बाढीको जोखिमबाट समेत राहत पुग्ने विश्वास व्यक्त गरे ।
उनले कोसी नदीबाट उत्पादित विद्युत् पूर्णरुपमा पूर्वी क्षेत्रमै खपत गर्ने भएकाले औद्यौगिक नगरी विराटनगरमा ठूल्ठूला उद्योग सञ्चालन गर्न उद्योगपतिलाई आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले बैंकले चारपटकसम्म ब्याजमा वृद्धि गरेकाले उद्योग धरासायी हुने सम्भावना बढेको बताउनु भयो ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मोरङ व्यापार सङ्घका अध्यक्ष एवम् सांसद पवन सारडा, सङ्गठनका केन्द्रीय उपाध्यक्षद्वय शेखर गोल्छा, किशोर प्रधान, उद्योगपति चण्डी ढकालले उद्योगमा देखिएका समस्या लगायतका विषयमा आआफ्ना धारणा राखे ।
विराट एक्स्पो ०७३ अन्तर्गत कृषि तथा औद्योगिक प्रदर्शनीमा औद्योगिक उत्पादन, कृषि, जडीबुटी उत्पादन, कृषि औजार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा, अटोमोबाइल्स तथा पार्टस, हस्तकलाका सामग्री, विद्युतीय सामग्री, घरायसी सामग्री र खाद्य पदार्थ बिक्रीका लागि २५४ वटा व्यापारिक कक्ष राखिएको छ ।
स्रोत :कारोबार

0 comments:
Post a Comment