फाल्गुन १०, २०७३- ट्वीटरमा आइतबार राति भारतीय अभिनेत्री फरिदा जलालको मृत्युको अफवाह ट्रेन्डिङमा आयो । यो झूटो खबर कतिसम्म छायो भने, फरिदाले आफू जीवितै छु भनेर अन्तरवार्ता नै दिनुपर्यो । उनले भनिन्, ‘पहिले त मलाई यो सबै ठट्टाजस्तो लाग्यो । त्यसैले पनि सुरुमा खासै मतलब दिइनँ । तर जब मेरो मोबाइलमा लगातार फोन आउन थाल्यो, त्यसपछि भने मैले आफू जिउँदै छु भन्नुपर्यो ।’
यति बेला भने यी ६७ वर्षीयाबारे त्यस्तो हौवा कसरी इन्टरनेटमा भाइरल भयो भनी खोजी सुरु भएको छ । फरिदाले आफू जीवितै रहेको प्रमाण स्वरूप ट्वीट पनि गरिन्, ‘म तपाईंहरूलाई आफू जीवितै भएको कुरामा विश्वस्त पार्न चाहन्छु । मेरो मृत्युको खबर अफवाहबाहेक केही हैन । यस्ता झूट समाचार फैलाउन रोकियोस् ।’
त्यसो त बलिउड सेलिब्रिटीका मृत्युका होक्स न्युज यसअघि पनि नआएका होइनन् । अमिताभ बच्चन, यो यो हनी सिंह, दिलीप कुमारलगायतको नक्कली मृत्युको खबर यसैगरी सोसल मिडियामा भाइरल भएका थिए । अमिताभ अस्वस्थ भई अस्पताल भर्ना भएका बेला पनि उनको मृत्यु भएको अफवाह फैलाइएको थियो । त्यसमा अमिताभले एउटा फिल्ममा गरेको मृत्युको अभिनयको फोटोलाई नै वास्तविक अवस्थाको झैं गरी दुरुपयोग गरिएको थियो । उक्त फोटोसहितको क्याप्सन सुरुवातमा हाटस्एपमा आएको थियो भने लगत्तै ट्वीटरमा पनि आउन थालेपछि अमिताभ स्वयंले ट्वीटमार्फत खण्डन गर्नुपरेको थियो ।
त्यसैगरी, र्यापर हनी सिंह पनि कुनै समय संगीतबाट ओझेल पर्दा सोसल मिडियामा मृत्युको अफवाह फैलाइएको थियो । उक्त होक्स न्युजमा हनीको मृत्युको कारण दुर्घटना बताइएको थियो । ‘यो सबै अफवाह हो । जो मलाई रुचाउँदैनन्, तिनैले यस्तो गरिरहेका छन्,’ हनीले उक्त अफवाहलाई चिर्दै ट्वीट नै गरेका थिए ।
कुनै बेला गायिका लता मंगेशकर, अभिनेत्री आशा पारेख, माधुरी दीक्षित पनि मृत्यु अफवाहको खबरका सिकार भइसकेका छन् । त्यसो त यस्ता होक्स न्युजको बिगबिगीमा हलिउड सेलिब्रिटीदेखि हाम्रै कलाकार पनि सिकार भएका छन् । हाम्री नायिका रेखा थापासमेत दुई–दुईपटक यस्तो दुष्प्रवृत्तिको सिकार भइसकेकी छन् ।
Source: eKantipur

0 comments:

Post a Comment

 
Top