काठमाडौं, १२ फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली इतिहासलाई खण्डित तुल्याउने अवाञ्छनीय गतिविधिलाई निश्तेज पार्न नेपाली सेना तयार रहेको बताएका छन् ।

‘सेना दिवस २०७३’ को अवसरमा जङ्गी अड्डामा सकलदर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले राष्ट्रिय हितविरुद्ध उत्पन्न हुनसक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीहरुको सामना गर्न सेना तयार रहेको बताएका हुन् ।

पछिल्लो समय केही विखण्डनवादी शक्तिहरुले साम्प्रदायिकता भड्कीने अभिव्यक्तिहरु दिनुको साथै केही समूहहरुले हतियार उठाउने धम्की दिइरहेको कारण नेपाली समाजमा युगौंदेखि चल्दै आएको सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुतालाई चुनौती दिएको बताउँदै उनले पूर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधिहरुलाई निश्तेज गर्न नेपाली सेना हरमहेसा तयारी हालतमा रहेको बताए ।

त्यस्तै, उनले नेपालको अखण्ड सुनौलो इतिहासलाई जिवित राख्न, राष्ट्रिय हितविरुद्ध उत्पन्न हुनसक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीहरुको सामना गर्न, नेपाली सेनाले मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानूनले निर्दिष्ट गरेका नियम र कानूनको परिधिभित्र रही नेपालको संविधान र नेपाल सरकारद्वारा दिइने सबै जिम्मेवारीहरु पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

‘प्राप्त हुने सबै किसिमका जिम्मेवारी पूरा गर्न नेपाली सेनालाई सक्षम, व्यवसायिक सैनिक सङ्गठनको रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अनुरुप उपलब्ध स्रोत साधनहरुको अधिकतम् प्रयोग गरी सबल र सक्षम सङ्गठन तयार गर्ने, नागरिक—सैनिक सम्बन्धलाई सुदृढ गर्ने, उच्च मनोबल युक्त फौज तयार गर्ने, वृत्तिविकास प्रणालीलाई व्यवहारिक बनाउने कार्यलाई निरन्तरता दिइरहेका छौं,’ उनले भने ।

‘नेपाली सेना सारा नेपालीको राष्ट्रिय सेना’

सकलदर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले नेपाली सेना सारा नेपालीहरुको साझा राष्ट्रिय सेना भएको बताउँदै राज्य सङ्कटमा पर्दा होस् वा विपद्मा, नेपाली सेनाले गरेको निःस्वार्थ सेवाले नेपाली जनताको सेनाप्रतिको अगाध विश्वास, आस्था र भरोसा जितेको र यो नै नेपाली सेनाको हौसला र ऊर्जाको स्रोतहरु भएको बताए ।

नेपाली सेनाको इतिहास, राज्यको प्रारम्भिक अस्तित्वसँगै जोडिएको एवं देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षाको लागि पूर्वजहरुले देखाएको वीरताका गाथाहरु नेपालको इतिहासका पानाहरुमा स्वर्णिम अक्षरले लेखिएको बताउँदै उनले समयानुसारको परिवर्तनलाई नेपाली सेनाले सदैव आत्मसाथ गर्दै आएको समेत उल्लेख गरे ।

चीनसँग संयुक्त सैन्य अभ्यास गर्ने योजना

प्रधानसेनापति क्षत्रीले सैनिक कुटनीतिको माध्यमबाट मित्रराष्ट्रका सैनिक सङ्गठनहरुसँग आपसी हितमा दुई पक्षीय पेशागत सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजान विभिन्न मित्रराष्ट्रसँग संयुक्त तालिम तथा अभ्यासहरु सञ्चालन भईरहेको बताए । ‘यसैक्रममा पहिलोपटक मित्रराष्ट्र श्रीलंकासँग सयुक्त अभ्यास सम्पन्न भएको छ,’ उनले भने– ‘साथै मित्रराष्ट्र बंगलादेश तथा मित्रराष्ट्र चीनसँग पनि संयुक्त अभ्यास गर्ने तयारीमा छौं ।’

नेपाल नेपालीको सेवामा सधै समर्पित हुने प्रतिबद्धता

सम्बोधनको अन्त्यमा प्रधानसेनापति क्षत्रीले नेपाली सेना, राष्ट्रको पहरेदार, राष्ट्रिय एकताको प्रतिविम्ब, आफ्नो कर्तव्यपथमा अडिग रही सदैव नेपाल र नेपालीको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।

‘स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण आदरणीय नेपालीहरु, नेपाल सरकारका विभिन्न निजामती एवं अन्य सुरक्षा निकायमा कार्यरत महानुभावहरु, सञ्चार जगत, विभिन्न सङ्घ संस्थाहरु तथा नेपाली सेनाका सबै शुभेच्छुकप्रति नेपाली सेनाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ उनले भने ।

नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्ने क्रममा प्रधान सेनापति क्षत्रीले स्वदेश तथा विदेशमा तैनाथ सकलदर्जा, नेपाली सेना अन्तर्गत सेवारत निजामती कर्मचारीहरु, अवकाश प्राप्त सैनिकलगायत परिवारजनहरुमा सुख, शान्ति, समृद्धि र सु—स्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै राष्ट्रिय हितको रक्षार्थ आफ्नो प्राणको आहुति दिने वीर वीराङ्गनाहरुको आत्माको चीर शान्तिको कामना गर्दै कर्तव्यपालनाको सिलसिलामा घाइते, बिरामी भई उपचारको क्रममा रहेका सकलदर्जाको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

सैनिक वीर स्मारकमा पुर्खाप्रति श्रद्धाञ्जलि अर्पण

यसअघि प्रधान सेनापति क्षत्रीले आजै विहान नेपाल र नेपालीको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र रक्षाको लागि आफ्नो जीवनको आहुती दिने वीर वीरङ्गनाहरु प्रति पुष्पमाला सहित छाउनीस्थित ‘सैनिक वीर स्मारक’ मा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सोही क्रममा नेपाली सेनाको एक टुकडीले वीर वीरङ्गाना प्रति सम्मानगारतसमेत अर्पण गरेको थियो । सोही क्रममा नेपाली सेनाका वीरगति प्राप्त सैनिक व्यक्तिहरुको नामावली अंकित ‘वीर स्तम्भ’ अनावरणसमेत गरेका थिए । सोहि अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीले वीरगति प्राप्त गर्ने सैनिकहरुका आफन्तहरुलाई सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो ।

सेना दिवस २०७३ लाई भव्यताकासाथ मनाउने क्रममा नेपाली सेनाका सबै पृतना, बाहिनी, गण तथा गुल्महरुले सार्वजनिकस्थलमको सरसफाई, रक्तदानलगायतका जनहितका कार्यहरु सञ्चालन गरिरहेका छन् ।

0 comments:

Post a Comment

 
Top