नागरिक समाजले गरेको नागरिक अभिनन्दन कार्यक्रममा साहित्यकार झमक घिमिरेले आफूलाई गलामा लगाइदिएको माला फ्याँकिदिएकी छन् । बिर्तामोडमा बुधबार साहित्यकार घिमिरेलाई अभिनन्दन गरिएको कार्यक्रममा उनको जीवनीबारे बोल्न माइक्रोफोन समातेका कञ्चनजंघा एफएम बिर्तामोडका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले ‘भारतबाट आयातित मालामा विष हालेको हुन्छ’ भनेपछि घिमिरेले गलाबाट माला निकालेर फालिदिएकी हुन् । भण्डारीले आयोजकलाई प्रश्न गर्दै भनेका थिए, ‘तपाईंहरूलाई कसले अधिकार दियो ? उहाँको गलामा विष हालेको माला लगाइदिने ?’ उनले भारतबाट आयात गरिएका माला हेर्दा आकर्षक देखिने भए पनि त्यस्ता फूलका मालामा धेरै दिनसम्म सञ्चित गर्न सकिने विष हाल्ने गरिएको हुने उनले बताएका थिए । भण्डारीले भने, ‘हाम्रै घरआँगनमा फूलेको सयपत्री यति धेरै समय टिक्दैन । तर यो धेरै दिनसम्म टिक्ने भएकाले यसमा ‘फर्मालन’को प्रयोग गरिएको हुन्छ । यस्तो विष भएको माला संसारकी छोरीलाई लगाइदिने अधिकार तपाईंहरूलाई कसले दियो ?’ उनले फेरि प्रश्न गरे । साहित्यकार घिमिरेले मालामात्र फालिनन्, आफ्नो शरीरमा विष टाँसियो कि भनेर छेउमा रहेकी आमालाई रुमालले सफा गरिदिनसमेत आग्रह गरिन् । उनको हाउभाउ अत्यन्तै गम्भीर देखिन्थ्यो । उनका आँखा आँसुले भरिएका थिए । त्यो देखेर भण्डारीले भने, ‘उहाँसँग अपार देशभक्ति छ ।’ कार्यक्रममा उपस्थित सबै अतिथिलाई भण्डारीले माला गलाबाट निकाल्न आग्रह गरे । प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि हत्तपत्त माला गलाबाट निकाले । केही अतिथिबाहेक प्रायःको गला एकैछिनमा रित्तो भयो ।  आजको अन्नपूर्णपोस्ट दैनिकमा खबर छ । 

0 comments:

Post a Comment

 
Top