काठमाडौं: मुलुकको मुख्य भन्सार नाका वीरगन्जबाट हुने व्यापार अन्य नाकातिर सर्दै गएको छ । गत वर्षको नाकाबन्दीका बेला वीरगन्ज भन्सार ठप्प भएपछि आयातकर्ताले विकल्पका रुपमा अन्य भन्सार रोज्ने क्रम सुरु भएको थियो ।

नाकाबन्दीपछिको एक वर्षमा पनि आयातकर्ता अझै वीरगन्जप्रति पूर्ण विश्वस्त हुन नसकेको देखिएको छ । चालू आर्थिक वर्षको ७ महिनाको व्यापारमा कुल आयातको ३३.६१ प्रतिशत वीरगन्ज भन्सारबाट भएको छ ।
माघसम्म ५ खर्ब ५६ अर्ब ६० करोड ६४ लाख रुपैयाँ बराबरको आयात भएकोमा वीरगन्जबाट १ खर्ब ८७ अर्ब ५ करोड ८६ लाख रुपैयाँबबराबरको बस्तु भित्रिएको छ । गत आर्थिक वर्षमा वीरगन्जबाट कुल आयातको २३.६२ प्रतिशत हिस्सा थियो ।
यसअघि आर्थिक वर्ष २०७१/७२ मा ४१.१५ प्रतिशत आयात व्यापार वीरगन्जबाट भएको थियो । गत आर्थिक वर्षमा ७ खर्ब ७३ अर्ब ५९ करोड ९१ लाख र अघिल्लो वर्षमा ७ खर्ब ७४ अर्ब ६८ करोड ४२ लाख रुपैयाँबराबरको बस्तु आयात भएको थियो ।
भन्सार विभागका प्रवक्ता कुलराज ज्ञवाली २०७२ वैशाखको भूकम्प र गत वर्षको नाकाबन्दीपछि भैरहवा नाकातर्फ व्यापार ‘डाइभर्ट’ भएको बताउँछन् । “अहिले पनि राजस्व असुली र आयात मूल्यका हिसावले वीरगन्ज नै अघि छ र उसलाई भन्सार उठाउने लक्ष्य पनि बढी छ,” उनी भन्छन्, “वीरगन्ज भन्सारमा समस्या देखिइरहने आशंकामा व्यापारीहरूले सहजताका लागी भैरहवालाई अलि जोड दिन थालेको देखिन्छ ।” तर, राजस्व नै घट्ने गरी व्यापार नसरेको उनको भनाइ छ ।
वीरगन्जपछि बढी आयात व्यापार भैरहवाबाट भएको छ । भैरहवा भन्सार कार्यालय हुँदै पछिल्लो ७ महिनामा १ खर्ब १४ अर्ब २८ करोड ७८ लाख रुपैयाँबराबरको अर्थात् कुल आयातको २०.५३ प्रतिशत बस्तु मुलुक भित्रिएको छ ।
गत आर्थिक वर्षमा भने भैरहवा नाकाबाट २३.३६ प्रतिशत हिस्सा आयात भएको थियो । तर, अघिल्लो वर्ष भने १३.०७ प्रतिशत बस्तु आयात भएको तथ्यांक छ ।
पछिल्लो ७ महिनाको तथ्यांकअनुसार कुल आयात व्यापारको ९० प्रतिशत हिस्सा ५ वटा भन्सार नाकाले ओगटेका छन् । सात महिनाको भन्सार विभागको विवरणअनुसार मुख्य १५ भन्सार नाकामध्ये वीरगन्ज, भैरहवा, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुक्खा वन्दरगाह (ड्राइपोर्ट) र नेपालगन्जबाट ९० प्रतिशतभन्दा बढी बस्तु आयात भएका छन् । २०७२ को भूकम्पपछि तातोपानी भन्सार कार्यालय बन्द छ ।
तातोपानी भन्सार नाका बन्द भएपछि रसुवा नाकाले विस्तारै स्थान लिन थालेको छ । यसअवधिमा सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय हुँदै ६० अर्ब ६१ करोड ५३ लाख अर्थात् १०.८९ प्रतिशल आयात भएको छ ।
गत वर्ष ड्राइपोर्टबाट कुल व्यापारको १३.७ प्रतिशत र अघिल्लो वर्ष १०.४५ प्रतिशत हिस्सा आयात भएको थियो । पछिल्लो ७ महिनामा १ खर्ब ४८ अर्ब २२ करोड ७९ लाख ९२ हजार रुपैयाँ राजस्व असुली भएकोमा सबैभन्दा बढी वीरगन्जबाट उठेको छ ।
वीरगन्ज भन्सार कार्यालयले उठाएको राजस्व ६० अर्ब ५२ करोड १२ लाख २७ हजार रुपैयाँ कुल राजस्वको ४०.८३ प्रतिशत हो । यसअघि सो नाकाबाट कुल भन्सार राजस्वको ५० प्रतिशतभन्दा बढी असुली हुने गरेको प्रवक्ता ज्ञवालीले बताए ।
विभागको विवरणअनुसार भैरहवा भन्सारबाट ४१ अर्ब ८४ करोड २८ लाख ७६ हजार, विराटनगर भन्सार कार्यालयबाट १४ अर्ब २८ करोड ३९ लाख १६ हजार, सुख्खा बन्दरगाहबाट १२ अर्ब ४२ करोड ६० लाख र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ७ अर्ब ८० करोड २२ लाख ४० हजार रुपैयाँ राजस्व असुली भएको छ ।
कारोबार बाट साभार गरिएको

0 comments:

Post a Comment

 
Top