काठमाडौं, १४ फागुन । विवेकशील नेपाली दलले धुर्मुस सुन्तली फाउन्डेसनको पुनर्निर्माण अभियानलाई सहयोग गर्न पाँच लाख रुपैयाँ प्रदान गरेको छ ।

दलको कार्यालय काठमाडौंमा आज आयोजित रकम हस्तान्तरण कार्यक्रममा संस्थाको प्रथम राष्ट्रिय परिषद्को लागि मोरङ जिल्लाका प्रतिनिधि सरस्वती आचार्यले सो रकम फाउन्डेसनका संस्थापक सीताराम कट्टेल ‘धुर्मुस’ लाई हस्तान्तरण गर्नुभएयो । फाउन्डेसनको कामको प्रशंसा गर्दै दलको तर्फबाट एक कृतज्ञता पत्र पनि प्रदान गरिएको थियो ।
पुनर्निर्माणमा धुर्मुस सुन्तली फाउन्डेसनले गरेको कामलाई थप सहयोग पुगोस् भन्नका लागि यो सहयोग गरेको दलका प्रवक्ता रमेश पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भूकम्प गएलगत्तै भएको राहत तथा उद्धार कार्यक्रममा हामीलाई देश विदेशबाट प्राप्त भएको सहयोगको ठूलो हिस्सा त्यही काममा उपयोग भयो । उठेको कुल रकममध्ये बाँकी रहेको रकमको केही हिस्सा उहाँहरुले सुरु गर्नुभएको पुनर्निर्माण अभियानलाई पार्टीको तर्फबाट सहयोग प्रदान गरेका हौं । उहाँहरुको जस्तो पारदर्शी र प्रभावकारी अभियानमा सहभागी हुन पाउँदा हाम्रो पार्टी खुसी व्यक्त गर्दछ ।’
रकम हस्तान्तरण समारोहमा बोल्दै फाउन्डेसनका संस्थापक सीताराम कट्टेल आफ्नो फाउन्डेसन विवेकशील नेपालीको यस सहयोगप्रति कृतज्ञ भएको बताउनुभयो । उहाँले भन्नुभयो, ’विवेकशील नेपाली दलको यो सहयोगप्रति हामी कृतज्ञ छौं । यस सहयोगले मानवता र सद्भावका लागि सहकार्य, राष्ट्र निर्माण, तपाईं हाम्रो अभियान अन्तरर्गतको महोत्तरीको बर्दिबासमा निर्माण भैरहेको एकीकृत नमुना मुसहर बस्तीको काम अगाडि बढाउन मद्दत पुर्याउँछ । उक्त कार्यक्रमलाई अगाडि बढाउन रकम अभाव भएको कुरा हामीले केही समय अगाडि सार्वजनिक गरेका थियौं । त्यस आह्वानलाई सुनेर सहयोगको प्रदान गर्नको लागि पहल गरिदिनुहुने सबैप्रति म पुनः धन्यवाद दिन चाहन्छु ।’ उहाँले थप्नुभयो, ‘विवेकशील दलको बारेमा मैले नजिकबाट बुझिरहेको छु र यहाँहरुको सकारात्मक कार्यहरुको म प्रशंसा गर्दछु । ’
उक्त कार्यक्रममा विवेकशील नेपाली दलको पहिलो राष्ट्रिय परिषद्को लागि भेला भएका विभिन्न जिल्लाका प्रतिनिधिहरु, केन्द्रीय कार्यसमितिका सदस्यहरु लगायतको उपस्थिति थियो । दैनिक नेपालबाट साभार गरिएको |

0 comments:

Post a Comment

 
Top