स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको मिति नजिकिएपनि अहिलेसम्म निर्वाचन हुन्छ भनेर ठोकुवाका साथ भन्न सकिने स्थिति छैन । अब चुनाव आउन पूरा तीन दिन पनि छैन । तर, अझै स्थिति अन्यौलमै छ । यद्यपि, विभिन्न क्याम्पसमा भएका तालाबन्दी खोलेर फागुन १८ मै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न विद्यार्थी संगठन र त्रिभुवन विश्वविद्यालयबीच सहमति भएको छ ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठन र त्रिवि पदाधिकारीबीच भएको छलफलमा असन्तुष्ट पक्षले लगाएका ताला खोलेर तोकिएकै मितिमा चुनाव गर्ने सहमति त भयो । तर, नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्ष र केही अन्य विद्यार्थी संगठन भने निर्वाचनको विपक्षमा छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष नयनसिंह महर आफ्नो संगठनले संस्थागत रुपमा कुनैपनि ठाउँमा तालाबन्दी नगरेको बताउँछन् । ताला खोलेर चुनाव गराउने प्रक्रिया अगाडि बढाएपनि शान्तिपूर्ण तवरले चुनाव गर्न सकिन्छ वा सकिँदैन त्यो भन्न सकिने स्थिति अझै छैन ।संस्थागत निर्णय होइन भन्दै आफ्नो संगठन पराजित हुने पूर्वानुमान गरेर धाँदली नहोला भन्न सकिन्न । चाहे त्यो जुनसुकै संगठन किन नहोस् ।

त्रिभुबन विश्व विद्यालयले फागुन १८ मै स्ववियु निर्वाचन गर्ने गरी क्याम्पस निर्वाचन समितिले तालिका मिलाई निर्वाचन सम्पन्न गराउन निर्देशन दिइसकको छ । तालिका अनुसार फागुन १४ र १५ गतेका सबै कार्यक्रमहरु १५ र १६ गते बिहान साढे १० बजेसम्म सम्पन्न गर्न त्रिविले सबै क्याम्पसलाई परिपत्र गरेको छ । त्रिविले क्याम्पसहरुलाई निर्वाचन गर्न निर्देशन दिइसकेपनि सरकारले त्यसप्रति खासै चाँसो देखाउन सकेको छैन । निर्वाचनलाई कसरी शान्तिपूर्ण बनाउने भन्ने पक्षमा सरकार गैरजिम्मेवार बनेको जस्तो देखियो । कतै, सरकार स्ववियु निर्वाचन नहोस् भन्ने मनसायमा त छैन भनेर सोच्न बाध्य बनाएको छ । निर्वाचनका लागि शान्ति सुरक्षा प्रदान गर्ने कुरामा गृहमन्त्रालयले नै गैरजिम्मेवार जवाफ दिएको छ । चुनाव सम्पन्न गर्न शान्ति सुरक्षाका लागि प्रहरी जतिपनि उपलब्ध गराउन सक्ने भन्ने गृहमन्त्रालय नेविसंघलाई तह लगाउन नसक्ने प्रतिक्रिया दिन्छ ।

सरकारले चाहेमा देशमा हुने जुनसुकै अराजक गतिविधिलाई तह लगाउन सक्नुपर्ने स्थितिमा एउटा विद्यार्थी संगठनलाई तह लगाउन सक्दैन भन्नु कहाँसम्मको गैरजिम्मेवारपूर्ण जवाफ हो ? शान्ति सरक्षाको बागडोर सम्हालेको गृहमन्त्रालयले नै यस्तो जवाफ दिनुले आम विद्यार्थी सशंकित भएका छन् । यसले मनमा भय उत्पन्न गराएको छ ।

यसै कुराबाट पनि थाहा हुन्छ कि सरकारले सकेसम्म स्ववियु चुनावनै नहोस् भन्ने चाहिरहेको छ । उता नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले निर्वाचनमा धाँदली गर्ने विरुद्ध प्रतिकारमा उत्रिने बताइरहेको छ । यसले चुनावको मुखैमा तनाव सृजना हुने र अन्तिममा निर्वाचननै स्थगित हुने संकेत देखाउँछ ।

नेपाल विद्यार्थी संघको आन्तरिक किचलो र अन्य तराई केन्द्रीत दलका विद्यार्थी संगठनको विरोधले स्ववियुनै धरापमा छ । सिंगो स्ववियु निर्वाचन नै विथाल्ने प्रचञ्च भइरहेको छ । त्यसमा पार्टी पंक्तिनै सक्रिय छन् ।

यदि सरकारको चुनाव गराउने मनसाय नै छ भने चुनाव हुन नदिन धाँधली गर्ने जोसुकैलाई पनि तह लगाउनुपर्छ । गैरजिम्मेवारपूर्ण जवाफ दिएर पन्छिने काम कदापी गरिनुहुँदैन ।

0 comments:

Post a Comment

 
Top