काउले (चितवन): स्वदेशमा पढाइ पूरा गरेका धेरै युवाको सपना विदेश जाने हुन्छ तर कैलालीका २५ वर्षीय राजकुमार निरौलाले विदेशबाट इन्जिनियरिङ पूरा गरेपछि स्वदेशलाई नै कर्मक्षेत्र बनाएका छन् । भारतको बैंग्लोरबाट स्नातक र बेलायतबाट स्नातकोत्तरको पढाइ पूरा गरेका इन्जिनियर निरौला पढाइपछिको पहिलो काम स्वरूप चितवनको विकट काउले गाविसमा सर्भे गरिरहेका छन् ।
केन्द्रीय तथ्यांक विभागबाट भूकम्प प्रभावित घरको तथ्यांक संकलन गर्न डेढ महिनादेखि काउले गाविसको वडा नम्बर एक र तीनमा खटिएका निरौलाको भागमा दुई सय ६१ घर परेका छन् । उनले अहिलेसम्म एक सय ७० घरको तथ्यांक लिइसकेका छन् । ‘पहिले सरकारले वितरण गरेको रातो र पहेँलो कार्डलाई आधार नमानी सर्भेको तथ्यांकलाई आधार मान्ने निर्णय भएपछि विभागले हामीलाई फिल्डमा पठाएको हो’, तार्सेलिङ गाउँमा भेटिएका इन्जिनियर निरौला भन्छन्, ‘काउले गाविसमा हामी पाँचजना इन्जिनियर विभागबाट खटिएका छौँ । सहयोगीका रूपमा सबैले एकएकजना सामाजिक परिचालक पाएका छौँ’, चेपाङ बस्तीमा घर हो कि गोठ भन्ने नै छुट्याउन नसकिने अवस्थामा घरहरू भेटिएको जानकारी दिँदै उनले भने, ‘यहाँ त भूकम्पभन्दा पनि गरिबीको महाभूकम्प खेपेर बसेका रहेछन् चेपाङहरू । धेरैजसोको नागरिकता नै छैन ।’
गत वर्ष वैशाख १२ गते विनाशकारी भूकम्प जाँदा निरौला भारतमै थिए । उनले भूकम्पको दृश्य टेलिभिजनमा हेरेको बताए । भूकम्पको प्रत्यक्ष प्रभाव नपरेका निरौला अहिले भूकम्पले पारेको प्रभावका विषयमा काम गरिरहेका छन् । उनले भूकम्पले भत्केको घरको तस्बिर खिच्ने, घरमा बस्नेले पाएको सेवासुविधाको विवरण लिने र तथ्यांक विभागमा उही दिन इन्टरनेटमार्फत विभागमा पठाउने गर्छन् । यसैका आधारमा सरकारले घरको क्षतिको अवस्था मूयांकन गरेर पुनर्निर्माणका लागि रकम उपलब्ध गराउने छ । फिल्डमा सर्भे गर्ने क्रममा पहिलो घर चेपाङकै हेरेका निरौला त्यसपछि चेपाङहरूको दयनीय अवस्थाको प्रत्यक्षदर्शी नै बने । ‘काखको बच्चा बितेको भोलिपल्टै बाबुआमा काममा जाने गरेको देखेँ’, उनले थपे, ‘सुत्केरीहरू हप्ता दिन नहुँदै काममा गएको भेटेँ । यहाँको संसार हाम्रो कल्पनाभन्दा बाहिर रहेछ ।’
साढे आठ हजार घरको लगत संकलन
चितवन भूकम्पबाट प्रभावित जिल्लामध्ये १७ औँ स्थानमा पर्छ । भूकम्पबाट बढी प्रभावित क्षेत्र दारेचोक, काउले, चन्डीभञ्याङ र लोथर हुन् । चितवनमा १८ हजार सात सय ५२ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका छन् । पहिलो चरणमा सरकारबाट १५ हजार रुपैयाँ सहयोग पाएका र दोस्रो चरणमा न्यानो कपडाका लागि १० हजार रुपैयाँ पाएकाको प्रमाण एवं रातो र पहेँलो कार्डको आधारमा सर्भे गरेर तथ्यांक संकलनको काम भइरहेको छ । लगत संकलन गर्न अझै एक महिना लाग्ने र चैतमा अन्तिम तथ्यांक प्रकाशित गरिने बताइएको छ ।कर्णाली न्यूज।।

0 comments:

Post a Comment

 
Top