बनेपा, १४ फागुन - पुनःनिर्माणको प्रक्रिया अघि बढाएका भूकम्पपीडितको दोस्रो किस्ताको रकमका लागि काभ्रेपलाञ्चोकमा प्रमाणीकरण सुरु भएको छ।
पहिलो किस्ताको रकमबाट पुनःनिर्माण गरेका भूकम्पपीडितले दोस्रो किस्ताबापतको रकम माग गर्न आवेदन गरेपछि उनीहरुको आवेदनमा जाँच तथा प्रमाणीकरण सुरु भएको सहरी विकास तथा भवन डिभिजन कार्यालय, धुलिखेलले जनाएको छ।
दोस्रो किस्ता रकम वितरणको निर्देशिका जिल्लामा आएपछि प्रमाणीकरणको काम सुरु गरेका छौँ अब केही दिनपछि वितरण हुन्छ सो कार्यालयका प्रमुख अष्टलाल सुवालले बताए।
उहाँले जिल्लामा अहिलेसम्म १४५ जना भूकम्पपीडितको प्रमाणीकरण भएको जानकारी दिँदै १२ जना भूकम्पपीडितले भूकम्प प्रतिरोधी भवन संहिताभन्दा बाहिर रहेर पुनःनिर्माण गरेकाले प्रमाणीकरण गर्न समस्या भएको बताए। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा समावेश गरेका लाभग्राहीमध्ये एक हजार ११ जनाले आफैँले घर निर्माण गरेका छन्।
भूकम्पबाट क्षति भएका घरमध्ये अहिलेसम्म दुई हजार ४७९ घर पुनःनिर्माणको काम सुरु भइसकेको छ। जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका अनुसार भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम वितरण गर्नका लागि रु ९९ करोड ५८ लाख ५० हजार विनियोजन भएको छ।
सो रकमबाट दोस्रो किस्ताबापत रु एक लाख ५० हजारका दरले छ हजार ६३९ जनाले मात्र रकम पाउँछन्। जिल्लामा लाभग्राहीको सूचीमा रहेका ६७ हजार ७११ जनाले प्रथम किस्ताबापतको रु ५० हजार पाउने क्रम जारी रहेको छ। रासस


0 comments:

Post a Comment

 
Top