केदारनाथको शिर भनेर उपत्यकाभित्रै डोलेश्वरनाथ मन्दिरलाई केहीले औंल्याउँदै आइरहेकोमा स्वयं केदारनाथका महन्थले त्यसको खण्डन गरेका छन्।
‘शिव पुराणमा स्पष्टसँग पशुपतिनाथलाई केदारनाथको शिर भनेर उल्लेख गरिएको अवस्थामा काठमाडौं छेउकै अर्को मन्दिरलाई देखाउन खोज्नेहरूले धर्मकै अहित हुने काम गरिरहेका छन्,’ केदारनाथका महन्थ आचार्य महेन्द्रप्रसाद राजगुरुले सेतोपाटीसँग भने, ‘यस्तो महत्वपूर्ण कुरामा व्यक्तिले के भन्छन् भन्दा पनि ग्रन्थमा के लेखिएको छ भनेर हेर्नुपर्छ।’
परम्पराअनुसार हरेक शिवरात्रिमा महन्थ स्वयंले केदारनाथबाट जल बोकेर पशुपतिमा चढाउने गर्दै आएका छन्।
‘यसरी शिवरात्रिका दिन जल ल्याएर यहाँ चढाउनु हाम्रो पुख्र्यौली परम्परा हो,’ शनिबार फिर्ता जानुअघि राजगुरुले भने, ‘केदारनाथको पशुपतिनाथसँग विशेष सम्बन्ध रहेकाले यस्तो परम्परा निकै पहिलेदेखि चल्दै आएको हो।’
पशुपतिनाथका बारेमा अनर्गल हल्ला फैलिएको भनेर पशुपति विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले सुनाएपछि आफूले यस विषयमा स्पष्ट पार्नु जरुरी सम्झेको महन्थ राजगुरुले बताए।
‘हामी अन्य मठ मन्दिरको पनि महत्व बढोस् भन्ने चाहन्छौं,’ उनले थपे, ‘त्यसको निम्ति पशुपतिनाथको अपहेलना गर्ने काम कसैबाट हुनुहुँदैन।’
डोलेश्वरनाथको पक्षमा चर्चा चलाउनेहरुले केदारनाथकै पुजारी धिमाशंकरजीको हवाला दिँदै आएको बारेमा जानकारी गराउँदा महन्थ राजगुरुले यो मान्छे मान्छे बीचमा हुने ज्ञान र समझदारीको विषय भएको बताए।
‘पुराणमा स्पष्टसँग पशुपतिनाथको नाम लेखिएको कुरालाई कसैले अर्कै ठाउँ देखाउँछ भने उसले सोझै पुराणलाई चूनौति दिएको हो,’ उनले भने, ‘यसभन्दा बढी म केहि बोल्दिन।’
महन्थ राजगुरुका अनुसार अक्षय तृतीयाको दिन गौमुखबाट जल संग्रह गरिएपछि केदारनाथमा नौ महिनासम्म त्यसको पुजा हुने गरेको छ। यसरी नौ महिना पूजा गरेको जल प्रत्येक शिवरात्रिका दिन बेलुकीपख पशुपतिनाथलाई चढाउँदै आइएको छ।
‘हामी महन्थहरूको यो पुख्र्यौली परम्परामा म बाल्यकालदेखि सरिक हुँदै आइरहेको छु,’ उनले थपे, ‘तीन वर्षयता भने बुबापछि मैले पदभार ग्रहण गरेकाले महन्थकै हैसियतमा आइरहेको छु।’
शिवजीका अलगअलग भावअनुसार अलगअलग स्थानमा अलगअलग महत्व रहेको उनले स्पष्ट पारे। ‘केदारनाथमा हामीले गर्ने धड (शिरभन्दा तल्लो शरीर) को पूजा हो,’ उनले स्पष्ट पारे, ‘जबकि एउटै देउताको शिरको पुजा भने यहीँ पशुपतिनाथमै हुन्छ।’
पशुपतिमा तेजश्वी, यशस्वी, कीर्तिमान र वैभवका निम्ति पूजा हुन्छ भने केदारनाथमा ज्योर्तिलिंग धनधान्य, ऐश्वर्य र सन्तानका हिसाबले फलदायी पुजा मानिने गरेको जानकारी पनि उनले दिए।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डनका अनुसार यसरी शिवरात्रीका बेला केदारनाथबाट आउने जलमध्ये थोरैले तत्काल पशुपतिनाथको अभिषेक गरेपछि बाँकी चाहिँ चाँदीको भाँडोमा राखेर वर्षभरि चढाउने काम हुँदै आएको छ।सेतोपाटी बाट साभार।

0 comments:

Post a Comment

 
Top