महोत्तरी, १६ फागुन - दाइजोमा लैनो भैंसी नपाएको निहुँमा दुलही छोड्ने धनुषाका एक बेहुलालाई इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले पक्राउ गरेको छ।
सिउँदोमा सिन्दुर हाली सकेकी बेहुलीलाई छोड्ने बेहुला कान्छी बजार(९ का रौदी कापरलाई प्रहरीले पक्राउ गरेर खोरमा राखेको हो।
बर्दिबास नगरपालिका ८ फूलबारी टोलका १९ बर्षीया अमृता कुमारी कापरलाई हिन्दू परम्परा अनुसार केही दिन पहिला विवाह सम्पन्न भएको थियो। विवाह भएको एक दिन नवित्दै दाइजोमा लैनो भैंसी नपाउँदा बेहुलाले बेहुली नअन्माइकन हिडेँका थिए।
पीडित अमृता उनका बुबा रामप्रकाश कापरले पीडक रौदी कापरलाई पक्राउ गरी काडा कारबाहीको माग गर्दै एकीकृत सेवा केन्द्र बर्दिबासमा उजुरी गरेका थिए। सेवा केन्द्रका प्रमुख विमलप्रसाद भट्टराइको निर्देशनमा दाइजो नपाएको बाहानमा बेहुली छोड्नेलाई पक्राउ गरेर आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालयमा पत्रचार गरेपछि प्रहरीले पीडक बेहुला रौदीलाई उनको घरबाट प्रकाउ गरेको हो।
इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाको सहयोगमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले बेहुला रौदीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइएको डिएसपी शालिग्राम शर्माले बताए। विवाहमा खर्च भएको साँढे सात लाख खर्च असुल उपर गरी दाइजो जस्तो कुप्रथालाई सहयोग गर्ने पीडक बेहुलालाई कडा कारबाहीको माग गर्दै पीडित अमृता, प्रहरी, महिला अधिकारकर्मी, संचारकर्मीको सहयोगमा न्यायको ढोका ढक्ढक्याउन प्रहरी प्रशासनमा पुगेका छन्।
अमृताका बुबा रामप्रकाशले छोरी विवाह गर्दा केटा पक्षले करै गरेर साँढे तीन लाख दाइजो लिएका थिए। गरिब परिवारका रामप्रकाशले दाइजो नदिए छोरीको विवाह नहुने भएपछि बाध्य भएर प्रति कठ्ठा दुई लाख ५० हजारमा विक्ने तीन कठ्ठा खेतबारी छिमेकीलाई प्रति कठ्ठा एक लाख ५० हजारका दरले ४ लाख ५० हजारमा बिक्री गरेर केटा पक्षलाई मोटरसाइकल, नगद, कपडालत्ता दिएका थिए।
छोरीको विवाहमा झन्डै तीन लाख ऋण गरेर बरातीको खानपान,स्वयम्बर अथिति सत्कारमा उनले खर्चेका थिए। विवाहको भोलि पल्ट मण्डपमा दिउँसोको खान मरजादी भात खाने समयमा दाइजोमा लैनो भैंसी नदिए भात नखाने शर्त बेहुलाले राखेका थिए। गाउँलेले भात खानु भन्दा बेहुला उठेर भागेका थिए। गाउँलेले सम्झाउन जाँदा बेहुला र अन्य जन्तीले गाउँलेलाई कुटपिट गरेका थिए। ‘भैंसी नदिए भात पनि खान्न, तेरो छोरी पनि लान्न’ भन्दै माघ ९ गते विवाह भएको रामप्रकाशका छोरी अमृतालाई ११ गते छोडेर बेहुला बेहुली बिनै घर फर्केका थिए। आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।
Home
»
bisesh
»
Nepal News
» लैनो भैँसी दाइजो नपाउँदा सिन्दुर हालेर बेहुलीलाई छोड्ने बेहुला प्रहरी खोरमा
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment