काठमाण्डु, १४ फागुन– नेपाल पत्रकार महासंघकी सचिव संगीता खड्काले आफू सम्पर्कविहीन भएको भन्ने समाचार गलत भन्दै खण्डन गरेकी छन् ।

खड्काले आफू परिवार र साथीभाइकै सम्पर्कमा रहेको र कतै नहराएको प्रष्टीकरण दिइन् । सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिमा खड्का शुक्रबार बिहानदेखि रोल्पाबाट बेपत्ता भएको समाचार आएको थियो । खड्का प्रेस काउन्सिल नेपालकी सदस्यसमेत हुन् ।
पत्रकार महासंघ रोल्पा शाखाको अधिवेशन गराउन केन्द्रीय प्रतिनिधिका रुपमा लिवाङ गएकी खड्का सम्पर्कविहीन भएको दाबी समाचारमा गरिएको थियो । तर, खड्काले विवादका कारण महासंघको जिल्ला शाखा अधिवेश नहुन नसकेकाले आफू राजधानी फर्किएकामा गलत अफवाह फैलाइएको उल्लेख गरिन् ।
‘रोल्पाको अधिवेशन गराउन म केन्द्रीय प्रतिनिधिको हैसियतले केन्द्रको म्यान्डेट लिएर गएको थिएँ । तर जिल्लाको अन्य अन्तरविरोधलाई महासंघमा ल्याएर केन्द्रको निर्णयलाई नै अवैध भनेर बखेडा झिकेर दुई पक्षमा विभाजित भएपछि निर्वाचन हुन सक्ने अवस्था थिएन । यसकारण निर्वाचन स्थगित गर्न निर्वाचन समितिलाई भनेर म आफ्नो यात्रामा लागें’, सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले भनेकी छन्, ‘प्रत्येक व्यक्तिलाई जानकारी दिन आवस्यक थिएन । तर विषयलाई अन्यत्र मोड्दै केन्द्रीय प्रतिनिधि बेखबर भनेर अनावश्यक हल्ला फैलाउने कार्यको घोर भत्सना गर्दै शुभेच्छुक हजारौं साथीहरू जस्ले विभिन्न माध्यमबाट चिन्ता र चासो प्रकट गर्नुभयो, सबैलाई धन्यवाद दिँदै काठमाण्डु फर्किंदै रेको जानकारी गराउँछु ।’

0 comments:

Post a Comment

 
Top