सोलुखुम्बु, १३ फागुन । करिब दुई वर्ष अघिको भूकम्पबाट क्षति भएका सोलुखुम्बुका ४८ वटा गुम्बा पुनर्निर्माणका लागि बजेट प्राप्त भएको छ । जिल्लामा भूकम्पबाट क्षति भएका गुम्बा पुनर्निर्माणका लागि जिविसमा पहिलो चरणमा रु दुई करोड २४ लाख प्राप्त भएको स्थानीय विकास अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिएका छन्।
स्थानीय विकास अधिकारी शर्माका अनुसार भत्किएकामध्ये ४८ वटा गुम्बाको मर्मत तथा पुनर्निर्माणका लागि प्राप्त भएको बजेट सम्झौताको क्रम सुरु भएको छ। पहिलो चरणको प्राप्त भएको सो बजेट क्षतिका आधारमा सम्झौता भइरहेको र थप रकम मागसमेत गरिएको शर्माले बताए।
भूकम्पका कारण सोलुखुम्बुमा ७४ वटा गुम्बामा क्षति पुगेका थियो। भत्किएकामध्ये अधिकांश भवन अहिले पनि अलपत्र अवस्थामा रहेका छन्। केही गुम्बाको स्थानीयवासी आफैँले मर्मत गरेको भए पनि गुम्बा निर्माणका लागि धेरै बजेट आवश्यक पर्ने तथा स्थानीयवासीको घर नै पुनर्निर्माण गर्न नसकिरहेको अवस्थामा गुम्बा प्राथामिकतामा पर्न नसकेको बौद्ध धर्मावलम्बीको भनाइ छ। रासस


0 comments:

Post a Comment

 
Top