मीनबहादुर पण्डित

केही वर्ष अगाडि बिभिन्न बहाना गरेर अर्थ मन्त्रालय हटाएर चाइना टाउन नामक व्यापारिक महल बनाइयो । अर्थ मन्त्रालय भबन पुरानो भएदेखि त्यहीँ नयाँ भब्य भबन बनाउने कि सिंहदरबारभित्र लगेर खुम्च्याउने ? सिंहदरबारभित्र संसद भवन, प्रधानमन्त्री कार्यलाय, अन्य मन्त्रालयहरू, नेपाल टेलेभिजन लगायत थुप्रै निकाएहरु छन् । थपिएका मन्त्रालय पनि सिंहदरबारभित्रै राख्दै जाने हो भने कसरी होला जनताको काम साँगुरो ठाउँमा बसेर ? अर्को कुरा पास लिनुपर्ने व्यवस्थाले गर्दा सर्बसाधारणलार्इ सिंहदरबार छिर्न त्यति सजिलो छैन ।

विद्यार्थीको आन्दोलनले सधै समस्या भयो भनेर ऐतिहासिक त्रिचन्द्र क्याम्पस हटाएर व्यापारिक महल बनाउन खोजियो । उक्त कुराको विद्यार्थीले तीब्र बिरोध गरेपछि अब अगाडि के गरिदैछ त्यसको जानकारीसमन्धित निकाएले दिनु पर्दछ । राजा त्रिभुबन र चन्द्र शम्शेरको नामबाट त्रिचन्द्र कलेज नाम राखिएको थियो । त्रिचन्द्र कलेज नेपालको पहिलो कलेज हुनाले यो ऐतिहासिक ठाउँलार्इ कदापि मास्न मिल्दैन ।

बागबजारस्थित पुरानो बसपार्क मासेर व्यापारिक महल र भ्यू टावर बन्दैछ । पुरानो बसपार्कलाई रत्नपार्कमा सारेर अन्डरग्राउन बसपार्क बनाउन लागिएको छ । अब ऐतिहासिक ठाउँ खुलामंच मासिने हो कि स्वरूप नै बिग्रने हो ? यसै भन्न सक्ने स्थिति छैन ।

नेपाल बायु सेवा निगमको जग्गामा मल्टिप्लेक्स बनाएर कार्यालय सिनामंगलमा सारिने समाचार पनि बिभिन्न छापामा आएको थियो । यसमा पनि चलखेल हुन् सक्छ । नेपाल बायु सेवा निगमले जग्गा भाडामा दिएर कत्ति कमाउला ? त्योभन्दा त शेयर खोलेरै भए पनि प्लेन किन्दा धेरै राम्रो हुने थियो । किनकि ६० लाख नेपालीहरू बिदेशमा छन् । तिनीहरू छुट्टीमा आउँदा–जाँदा बिदेशी एरलाइनस् प्रयोग गर्नुपर्ने बाध्यता छ । नेपाल आउने बिदेशी पर्यटक समेत बिदेशी एरलाइन्समा आउँछन् । हामीसंग प्रयाप्त प्लेन नहुनाले हाम्रो बजार अरुले प्रयोग गरेर अर्बौ कमाइ रहेका छन् । करिब ७ दशक लामो इतिहास बोकेको नेपाल बायु सेवा निगाम ३ ओटा ठूला प्लेनमै सीमित छ । नेपाल बायु सेवा निगमसंग चाहेजति प्लेन हुने हो भने अर्बौ कमाउन सक्ने थियो । जग्गा भाडामा लगाएर त कर्मचारीलाई दिने तलब चाहीँ निस्किएला । तर, देशलाई के फाइदा भयो र ?

ठूलै क्षेत्रफल भएको सेन्टर जेल नुवाकोट सारेर उक्त ठाउँमा व्यापारिक मल बनाउन खोजिँदै छ । सेन्टरल जेल नुवाकोट सार्दा कैदीलार्इ अदालत ल्याउन लैजान प्रहरीलार्इ कति समस्या होला ? कैदीको परिवारलाई आफन्त भेट्न जान कति समस्या होला ? अदालतमा मुद्दाको छिनोफानो नहुन्जेल कैदीसंग अधिवक्ता र आफन्तलार्इ सम्पर्क गर्न कति समस्या होला ? बरु सेन्टर जेलमा बनाउन खोजिएको व्यापारिक मल नै नुवाकोटमा बनाउँदा कसो होला ?

करिब २०० रोपनी जति क्षेत्रफलमा फैलिएको जाउलाखेल चिडिया खाना भक्तपुरतिर सारेर व्यापारिक मल बनाउन खोजिदै छ । सहरको मध्य भागमा चिडिया खाना हुँदा स्थानीय बासिन्दालार्इ असूरक्षित महसुस भयो रे । असूरक्षित महसुस भए पर्खाल बलियो बनाउने कि चिडिया खाना नै सार्ने ? चिडियाखाना सहरबाट टाढा सार्ने हो भने सदर चिडियाखानाका जनावर बरु चितवन नेशनलपार्कमा लगेर छाडिदिए कसो होला ? बिकसित देशका शहरमा घुम्नका लागि सहरभित्र अनगिन्ती पार्कहरू हुन्छन् । काठमाडौंमा छुट्टीको दिन जाने ठाउँ कहीँ छैन । कहिले काहीँ बच्चा लिएर चिडियाखानातिर गइन्थ्यो । त्यहि पनि सारेपछि उपत्यकाभित्र घर र व्यापारिक मल मात्र हुने भयो ।


लेखक

‘धरहराको बीमा सकिएको खुलासा बनाउनलार्इ समस्या’, भनेर राष्टि«य छापामा समाचारहरू आएको थियो । काठमाडौं महानगरपालिकाले धरहराको टिकट बिक्रीवाफत पैसा उठाउने र हेरचाह गर्ने जिम्मा प्राइभेट कम्पनीलाई सम्झौता गरेर दिएको थियो । उक्त कम्पनीले धरहरा चढ्न आउनेसंग पैसा मात्र उठायो । धरहराको बीमाको रकम तिरेको रहेनछ ।

सम्झौता बमोजिम बीमा गर्ने जिम्मा उक्त कम्पनीको नै थियो । कमाउनु कमाएर पन्छियो । धरहराको बीमा गरिदिएको भए अहिले बनाउनलार्इ कुनै समस्या पर्ने थिएन । काठमाडौं महानगरपालिकाले सम्झौता बमोजिम नगर्ने उक्त कम्पनीलाई कुनै कारबाही गर्न सकेन वा गर्न चाहेन । यसमा पनि मिलेमतो वा रहस्य हुन् सक्छ ।

यस्ता सरकारी ठाउँहरू नसारी नहुने स्थिति आएमा त्यस्ता ठाउँमा व्यापारिक मलको सट्टामा पार्कहरू बनाइयोस । सरकारलाई फाइदा उत्तिनै हुनेछ, त्यो कसरी भने पार्कमा जान मात्र १० रुपैयाँको टिकटको व्यवस्था गर्ने हो भने महिनामा लाखौ रुपिायाँ जम्मा हुनेछ । खोज्दै जाने हो भने नेपालभरि यस्ता अनगिन्ती घटनाहरू भेटिने छन् ।

यी सबै मन्त्री, सचिब र उच्च तहका सरकारी कर्मचारी अनि व्यापारीको मिलेमतोमा अर्बौ कमाउने चलखेल बाहेक अरु केही पनि होइन । यी ठाउँहरू महँगो र व्यापारिक हिसाबले पनि एकदमै उपयुक्त ठाउँ हुन् ।
चन्द्रागिरि केवल कारले मासिक १५ हजार भाडा तिर्छ । त्यतिमा त न्यूरोड़को गल्लीमा एउटा सटर भाडामा पनि पाइँदैन ।

खबरदार राष्ट्र सेवकको खोल ओडेका भ्रष्टहरू, देशको सम्पत्ति व्यापारीहरूलाई बुझाउने होइन । यो देश तिम्रो बाबुको बिर्ता होइन जसलाई बुझाए पनि हुने, जसरि बुझाए पनि हुने । सरकारी सम्पत्तिमा गिद्दे नज़र लगाउने अधिकार कसैलाई छैन ।

इमान्दार भएर देशको सम्पदा र सम्पति राष्ट्रिय हितमा प्रयोग गर्ने हो भने गरिब जनतालाई सजिलैमाथि उठाउन सकिन्छ । दिनमा ३०० का दरले विदेशिने युवाहरूलाई स्वदेशमै रोजगारी दिन सकिन्छ । यस्ता कुरामा राजनीतिक दल चुइक्क बोल्दैनन् । यो देशमा कोही त होस् यस्ता षड्न्त्रहरूको खुलेर बिरोध गरोस । अब बुद्दिजीवी र देशभक्त नागरिकहरूले यस्ता कुराको खुलेर बिरोध गर्न सक्नु पर्छ ।

होइन भने लोभी व्यापारी र भ्रष्ट कर्मचारीहरूले यो देशलाई खोक्रो बनाउने छन् । सर्बसाधारणको जीवनमा कुनै परिबर्तन आउने छैन । सक्नेले जे गरे पनि हुने यो कस्तो लोकत्रन्त्र होला ? सरकारी सम्पत्तिको दुरुपयोग रोक्न सरकारले अविलम्ब कदम चालोस् । अनियमितता र भ्रष्टाचार गरेर सम्झौता गरिएको पाइए सम्झौता नै रद्द गरोस् । दोषी पाइएमा सरकारले कडा कारबाही गरोस् । अनि मात्र राष्ट्रिय सम्पत्तिको दुरुपयोग रोकिने छ ।

DAINIKNEPAL

0 comments:

Post a Comment

 
Top