जुम्ला, फागुन १७ – चन्दननाथ नगरपालिका-५ भारतीवाडा जुम्लामा पाँच सय वर्ष पुराना मानव कङ्काल भेटिएका छन् । शिवलाल डाँगीको घरको सेफ्टी ट्याङ्की खन्दा मानव कङ्काल भेटिएका हुन् ।
ट्याङ्की खन्दा ६ फिट तल कङ्काल भेटिएका घरमुली शिवलाल डाँगीले जानकारी दिनुभयो । भेटिएका कङ्कालहरुमा मानव खप्पर, हात खुट्टाको हड्डी लगायतका ३० वटा पिस रहेको डाँगीले बताउनुभयो । ‘कृषि सुपरजोनको सेफ्टी ट्याङ्की, जिल्ला प्रशासनको भवन निर्माणदेखि बजारका अधिकांश ठाउँमा मानव कङ्काल भेटिँदै आएका छन्’ उहाँले भन्नुभयो, ‘भेटिएका कङ्काल मैले सुरक्षित साथ बोरामा राखेको छु ।’
जुम्ला खलंगा सदरमुकाम तत्कालिन समयमा चिहानघाट थियो भन्ने कुरा स्थानीय बुढापाकाहरु बताउँछन् । उनीहरुका अनुसार अहिलेको अस्पताल एरिया पनि त्यतिबेलाको चिहानघाट हो र पहिले यो भूमि पानीले चुर्लुम्म थियो । जुम्ला प्रवेशद्वार खलाचौर खोलेपछि यहाँ बस्ती बस्न लायक भएको बतार्इंदै आइएको छ । डाँगीले प्रहरीले मुचुल्कासमेत गरिसकेको बताउनु भयो ।उज्यालो अनलाइनको सहयोगमा
0 comments:
Post a Comment