फाल्गुन १६, २०७३- हेलिकोप्टरमा यात्रा त हुन्थ्यो नै तर हेलिकोप्टरको यात्रा ! सुन्दै अच्चम लाग्न सक्छ तर यहाँ त्यस्तै भएको छ । सदरमुकाम खलंगाको बह्राटाकुरामा ५ दिनदेखि जारी मध्यपश्चिमाञ्चल रुकुम महोत्सव उद्घाटनको दिन फागुन १२ गते मानिसहरुले काँधमा बोकेरै हेलिकोप्टरको यात्रा गराए ।

यसरी मानिसले बोकेर यात्रा गराएको हेलिकोप्टर भने स्थानीयस्तरमै निर्मित हेलिकोप्टर हो । छिवाङ-४,का ३३ वर्षीय मञ्जित बिकले निर्माण गरेको उक्त हेलिकोप्टरलाई त्रिवेणीचोकदेखि महोत्सवस्थलसम्म बोकेर ल्याइको थियो । २ सय १५ किलो तौल भएको हेलिकोप्टरलाई ६ जना युवाले सकिनसकि बोकेका थिए ।
पेसाले होटेल व्यवसायी बिकले मुसीकोट नगरपालिका-५, सोलाबाङ बजारमा ३५ दिन लाएर निर्माण गरेको उक्त हेलिकोप्टर निर्माण गरेका थिए । होन्डा साइन मोटरसाइलको इन्जिन प्रयोग गरेर बनाइएको हेलिकोप्टर पेट्रोलमार्फत चल्ने गरेको छ । एक लाख ८५ हजार लागतमा निर्माण भएको उक्त हेलिकोप्टर उड्ने दाबी मञ्जितको छ । प्रहरी प्रशासनले उडाउन नमिल्ने भनेकाले आफूले त्यसो नगरेको उनले बताए । निर्माण सम्पन्न भएको दिन परीक्षणको क्रममा करिब ५ फिट हेलिकोप्टर उडेको दाबी उनले गरेका छन् ।
सोलावाङबासीले मञ्जितले तयार पारेको हेलिकोप्टर र मञ्जितलाई बाकेर महोत्सवस्थल सम्म पुर्याएका थिए । सोलावाङबाट खलंगाको त्रिवेणिचोकसम्म गाडीमा पुगेका उनीहरु त्यसपछि पैदलै महोत्सवस्थलमा पुगेका थिए ।
सोलावाङबाट महोत्सवस्थलसम्म हेलिकोप्टर पुर्याउन २५ हजार रुपैयाँ खर्च भएको स्थानीय विष्णु शर्माले बताए । ‘सोलावाङमा निर्मित हेलिकोप्टरलाई सबैलाई देखाउँ भनेर महोत्सवस्थलसम्म पुर्याइएका हौं,’ शर्माले भने, एउटा युवाको सीपको चर्चा ५ दिनदेखि महोत्सवस्थलमा भइरहेको छ, यसबाट सोलावाङबासी खुशी छौं ।’

सर्वसाधरणलाई बोक्ने बस, हेलिकोप्टर बोक्ने ट्याक्टर र बाजागाजा बजाउनको पारीश्रमिक गरी २५ हजार खर्च भएको उनको भनाइ छ । महोत्सवस्थलमा रहेका स्टलमध्ये हेलिकोप्टर भएको स्टलमा सर्वसाधारणको भीड लाग्ने गरेको छ ।
२० रुपैयाँ टिकट काटेर हेलिकोप्टरसँग फोटो खिच्न तथा हेलिकोप्टर बनाउने मञ्जितसँग गफिन पाइन्छ । मञ्जितले केही वर्ष पहिले पनि सानो आकारको हेलिकोप्टर बनाएका थिए । ख्यालख्यालैमा निर्माण गरेको हेलिकोप्टर उडेपछि ठूलो आकारको हेलिकोप्टर बनाएको उनले बताए । आर्थिक अभावमा हेलिकोप्टर बनाउन ढिला भएको भन्दै सहयोग गर्ने मान्छे भएपछि हेलिकोप्टर निर्माणमा जुटेको उनको भनाइ छ । ३३ वर्षको उमेरमा हेलिकोप्टर आकाशमा उडेको बाहेक अन्य बेला र नजिकबाट नदेखेको उनले बताएका छन् ।इ कान्तिपुरको सहयोगमा

0 comments:

Post a Comment

 
Top