काठमाण्डु, १२ फागुन– प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना राष्ट्रको पहरेदार र राष्ट्रिय एकताको प्रतिविम्बका रुपमा आफ्नो कर्तव्यपथमा अडिग रही सदैव नेपाल र नेपालीको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सेना दिवस २०७३ का उपलक्ष्यमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उनले भने, ‘समयानुसारको परिवर्तनलाई नेपाली सेनाले सदैव आत्मसात् गर्दै आएको छ, देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षाका लागि पूर्वजले देखाएको वीरताका गाथा नेपालको इतिहासका पानाहरुमा स्वर्णिम अक्षरले लेखिएको छ ।’
पुर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधि निस्तेज गर्न नेपाली सेना हरहमेसा तयारी हालतमा रहेको जनाउँदै उनले नेपालको अखण्ड सुनौलो इतिहासलाई जीवित राख्न एवं राष्ट्रिय हितविरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सामना गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे ।
प्रधानसेनापतिले बिहीबारै छाउनीस्थित ‘सैनिक वीर स्मारक’ मा श्रद्धाञ्जलि अर्पण गरेका थिए । सोही क्रममा नेपाली सेनाको एक टुकडीले वीरवीराङ्गनाप्रति सम्मान गारतसमेत अर्पण गरेको थियो । रासस

0 comments:

Post a Comment

 
Top